संशोधित प्रदेश निजामती ऐनप्रति स्वास्थ्यका कर्मचारी असन्तुष्ट, वृत्ति विकास रोकेको गुनासो – Nepal Press
कोशी प्रदेश

संशोधित प्रदेश निजामती ऐनप्रति स्वास्थ्यका कर्मचारी असन्तुष्ट, वृत्ति विकास रोकेको गुनासो

विराटनगर । संशोधित प्रदेश निजामती सेवा ऐन वृत्ति विकास रोक्ने प्रावधान ल्याएको भन्दै प्रदेशका स्वाथ्यकर्मीहरूले असन्तुष्टि जनाएका छन् ।

कोशी प्रदेशसभामा तीन दिनअघि प्रदेश निजामती सेवा ऐन टेबल भएको छ । आज त्यसलाई पारित गर्ने तयारी छ ।

पत्रकार सम्मेलन गर्दै स्वास्थ्यकर्मीहरूले अहिले आएको ऐनले स्वास्थ्यकर्मीहरूको वृत्ति विकासमा असर पुर्‍याएको दाबी गरेका छन् । ऐनमा दसौँ तहबाट एघारौँमा बढुवा हुने र खुल्ला पदपूर्ति गर्ने दुवै व्यवस्था नभएको उनीहरूको भनाइ छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले ऐन आउँदा र संशोधन गरिँदा पनि सरोकारवालासँग छलफल नभएको गुनासो गरे ।

‘सरोकारवालासँग छलफल नगरेकै कारण ऐन वर्षैपिच्छे संशोधन भइरहेको छ । संशोधनमा समस्या समाधान गर्नेभन्दा समस्या थप भइरहेको देखिन्छ,’ प्रसाईँले भने, ‘ऐन भनेको सम्बोधन गर्ने हो ऐन नै बिगार्ने होइन ।

प्रसाईँले कोशीमा ऐनकै कारण कर्मचारीहरूमा विग्रह आएको जिकिर गरे ।

‘कोशीमा जस्तो विग्रह मधेश र बाग्मतीमा छैन । यो सवै हुनुको कारण पनि सरोकारवालासँग छलफल नगरेर हो’, उनको भनाइ छ ।

सातौँ तहका कर्मचारीलाई पदस्थापन वा समान तहको पदमा लड्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने स्वास्थ्यकर्मीहरूको माग छ ।

कोशी प्रदेशमा चिकित्सकहरूको झन्डै ३९ प्रतिशत पद रिक्त रहेको र विशेषज्ञ पनि एउटामात्रै पूर्ति भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहताले निर्देशक पदमा समूहकृत हुन नहुने बताए । समूहकृत नहुने अवस्था भए अहिले खाली रहेका निर्देशक पदमा डाक्टर, जनस्वास्थ्य, आयुर्वेद, नर्सिङका पनि आउन सक्ने र सँगसँगै पद पनि पूर्ति हुने उनको भनाइ छ ।

‘नवौँ तहमा विज्ञापन भएर आएका मानिसहरू दसौँ तहमा गएपछि ११ औँ तहमा जानसक्ने अवस्था छैन,’ उनले भने, ‘उदाहरणको लागि भद्रपुर अस्पतालमा एकजना सर्जन छन् । उहाँ दसौँ तह हो । अहिले ११ औँ तहमा लोकसेवा खुल्यो भने उहाँले प्रतिस्पर्धा गर्नै नपाउने व्यवस्था छ । किनकि उहाँको समूह नै छैन ।’

मेहताका अनुसार जनस्वास्थ्यमा पनि समायोजन भएर आएका सिनियर ३ जना भएको र समूहकृत हुनेबित्तिकै एउटामात्रै पद खुल्नेछ ।

‘एक पदमा एकजना जाँदा अरू दसौँ तहमै रिटायर हुने अवस्था छ । प्रदेशमा ११ औँ तहको निर्देशक पद चार वटा भए पनि पदपूर्ति गर्ने व्यवस्था छैन’, मेहताले गुनासो गरे ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश स्वास्थ्य तालिम केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा एघारौँ तहको दरबन्दी छ ।

ऐनमा भएको समस्याका कारण अहिले ४ वटै पद रिक्त रहेको बताए । मेहताले स्वास्थ्यमा सयौँ समूह र उपसमूह भए पनि नवौँ तहमा आइसके पछि ऊ दसौँ तहमै घर फर्किने अवस्था सिर्जना भएको बताए ।

पाँच वर्षदेखि बढुवा नभएका प्रदेश मातहतका चिकित्सकहरूलाई अन्याय हुने गरी ल्याएको ऐन नसच्याए सामूहिक राजीनामा दिनेसम्मको उनीहरूले चेतावनी दिएका छन् ।

पाँच वर्षदेखि वृत्ति विकास रोकिएको कारणले ३० जनाभन्दा बढी चिकित्सक आठौँ तहमै थन्किएर बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *