तिरो उठाउन गुन्सी भदौरे – Nepal Press
सन्दर्भ : कुशे औँसी

तिरो उठाउन गुन्सी भदौरे

काठमाडौँबाट घर जाँदै थिए । दोलखा । चाडबाडको समय हुनुपर्छ । तिहारको समय जस्तो लाग्छ । माइक्रो बस । सायद, त्यो मन्थलीसम्म मात्र जानेवाला थियो । त्यसपछि फेरि अर्को गाडीमा चढेर घर जाने सुरमा थिएँ । त्यो बेला मलाई मनमौजी पाराले हिड्ने सुविधा प्राप्त थियो । सोच्दै थिएँ- गाडी नपाए मन्थली नै बसिदिन्छु ।

हातमा थियो पाउलो क्वेलोको अल्केमिस्ट । यात्राको क्रममा अलिक फरक दृष्टिकोण बोकेको अनि ऊर्जा दिने प्रकृतिको किताव बोक्नु मेरो पहिले देखिको बानी हो । कहिले पढिन्थ्यो, कहिले पढिन्थेन । तर, पनि बोकिन्थ्यो ।

सधैँ झै एक अनुच्छेद पढ्ने, बाहिरको हरियाली नियाल्ने, फ्ल्यासव्याकमा जाने, आफूले देखेका घटनाक्रम अनि भोगाईसँग ती अनुच्छेदलाई जोड्दै जाने मेरो आफ्नै शैली हो । कितावको सन्देशलाई दिमागले बलियोसँग स्वीकार गर्दै थियो- हो नि, हाम्रो काम आफ्नो हृदयले जे गर भन्छ, त्यही गर्दै जाने हो । यो नै सफलताको एउटै सुत्र हो । अल्केमिष्टको त्यो गोठाले पात्रको यात्रा, यात्राको लागि उसको मनले सुझाएको मार्ग अनि उसले बाटोमा भेट्ने गरेका शकुन र अपशकुनका कथाहरूलाई पछ्याउँदै छु म । यात्रुहरू धेरै नभएकोले सीटमा ढलीमली गर्न पाएको छु । त्यसैले मलाई कहाँ आइपुगियो भन्ने कुराको कुनै वास्ता छैन । गाडी बत्तिएको छ । बेलाबेलामा ढल्किन्छ पनि । कहिले दायाँ , कहिले बायाँ । तैपनि, मेरा आँखाले अल्केमिष्टका कमिला टाउके अक्षरहरूलाई छोडेको छैन ।

०००

अचानक बसाईमा अप्ठ्यारो अनुभूति भो । किताबको पान्नाबाट आँखा निकालेँ, अनि देब्रेपट्टी हेरेँ । गाडीले नयाँ यात्रु पाएछ । “मेरै छेउमा आएर बस्नुपरेको”- मनमनै भुतभुताएँ । गाडी नेपालथोक आइपुगेको रहेछ ।

उहाँलाई कुराकानी गरिरहनुपर्ने रहेछ क्यारे । सोध्नुभयो- “तपाँई कहाँसम्म जाने ?” आफ्नु चाख फेरि पनि अल्केमिष्टमै छ । एकमनले सोचे- “मन्थलीसम्म भन्दिऊँ कि !” तर जिव्रोले जान्नी भएर फड्कालिहाल्यो- मालु । मालु भन्न बानी परेको जिव्रो रोकिएन यहाँ पनि ।

त्यसपछि त उहाँलाई विषय फुरिहालेछ । सोध्नुभयो- के थरि ? मलाई यो थरिवाला प्रश्न सोध्नेवालाहरूसँग त्यति मज्जा लाग्दैन । मान्छे थरिको हुँ हजुर- बटारिएको उत्तर दिए तर नम्र भाषामा ।

०००

“एकजना पोखरेल बाहुनसँग संगत भएको थियो धेरै पहिले । २०३८ सालतिर । उहाँ हाम्रै घरमा केही समय बस्नुभयो । तिरो उठाउन आउनुहुन्थ्यो । रामेछाप मालपोत कार्यालयबाट खटिएर । सानो गाठीको अनि गोरो । पातलो पातलो ओठ । तुक्का हालेर रसिला कुरा गर्ने । मालु घर हो भन्नुहुन्थ्यो । मान्छे बडो मज्जाको हुनुहुन्थ्यो । तपाँईले चिन्नुहुन्छ कि भनेर ।” उहाँले एकैसासमा स्पष्टीकरण दिनुभयो ।

अव चाँहि मलाई चासो बढ्यो ।

भने : हाम्रो तिरबाट धेरै मान्छे जागिरको सिलसिलामा रामेछाप आउनुभएको छ । फेरि हाम्रोमा पोखरेलहरू धेरै छन ।

उहाँले भन्नुभयोः त्यो त हो । तर पनि मालपोतबाट गुन्सी भदौरेतिर २०३८ सालमा तिरो उठाउन आउँने को हो भनेर तपाँईले केही अन्दाज गर्नुहुन्छ कि भनेर ।

मनले भन्यो : म जन्मिनुभन्दा पहिलेको कुरा म के जाँनु ?

तर पनि मुखले चाहि फरक कुरा भन्यो : मेरो ठूलोबुबा रामेछाप मालपोतमा काम गर्नुहुन्थ्यो । सायद उहाँ नै हो ।

फेरि थपेः गोविन्द पोखरेल । चिन्नुहुन्छ ?

उनले मेरो ठूलोबुबाको शारीरिक बनावट बताउन लगाए ।

मैले भनेः गोरो, मोटोघाटो, अग्लो ।

उनले भनेः मैले भनेको मान्छेसँग तपाईँले बताएको हुलियामध्ये गोरो मात्र मिल्यो , बाँकी मिलेन । मैले भनेको मान्छे चाँहि पातलो अनि सानो गाँठीको ।

उनले फेरि थपेः माल अड्डाको हाकिमको भाई हुँ पनि भन्नुहुन्थ्यो उहाँले ।

“खै, जान्न सकिन । कोही होलान गाँउका”, मैले कुरोको विट मारे ।

मेरो गन्तव्य मालु थियो । त्यसैले मन्थलीबजारमा आएर गाडी कुर्न थालेँ । उहाँ भने मन्थली बजारसम्म कामले आउनुभएको रे । भोलिपल्ट फर्कने कुरा बताउँदै हुनुहुन्थ्यो ।

बेलुका घर पुगेँ । कुरैकुरामा बुवासँग दिउँसो त्यो मान्छेसँग भएको कुराकानी सुनाएँ । हामी बाबु छोराको सम्बन्ध अलिक औपचारिक प्रकृतिको थियो । अनौपचारिक गफगाफ चाहिँ ममीसँग मात्र हुन्थ्यो । तैपनि दिउँसो भेट भएको त्यो मानिसको मनमा रहेको पोखरेल बाहुनप्रतिको सम्मान अनि उसप्रति दर्शाएको प्रेमका कारण सो पात्रको बारेमा बुझ्ने हुटहुटी चाहि बाँकी नै थियो ।

०००

बुबाले सोध्नुभयो- गाडीमा भेटिएको मान्छे चाहिँ कहाँको रे नि ?

मैले भने- गुन्सी- भदौरे तिर भनेको थियो तर मैले खासै ध्यान दिइनँ ।

बुबा मुसुक्क हास्नुभयो र भन्नुभयो- म पनि तिरो उठाउन त गएको थिए । त्यतिबेला तिरो उठाउने डोर भनिन्थ्यो । गुन्सी भदौरे नै हो । नाम थाहा भएको भए म पनि उसलाई चिन्थेँ कि !

वास्तवमा मलाई त्यतिबेलासम्म बुबाले रामेछाप मालपोत कार्यालयमा काम गर्नुभएको कुरै थाहा थिएन । किनकि उहाँले कहिल्यै भन्नु नै भएन । अनि कसरी थाहा हुनु ?

घर बनाउने पैसा त्यतिबेलाको जागिरबाटै कमाउनुभएको हो ?

ममीले भन्नुभएको- २०३७ सालमा बुवाहरू अंशबन्डा गरेर छुट्टिनु भएको रे । बुबालाई हजुरबाको जजमानी धान्नै भ्याई नभ्याई भएपनि त्यसबाट पैसा धेरै नकमिने हुनाले बुवा अलिक पैसा आउने स्रोतको खोजीमा हुनुहुन्थ्यो रे ।

फेरि हजुरबुबा तगडै त्यतिबेला । दिनकै बेताली, नामाडी र मालू गर्न सक्ने । त्यसैले जजमानी कामबाट केही समयको लागि विदामा जानुभएको, जागिर खान ।

भिन्नै बसेपछि घर पनि बनाउनुपर्‍यो । पैसाको अभाव । पच्चीस सय नभई आठ वाई पन्ध्र हातको घर नठडिने !

ठूलोबुवा मालपोतको कर्मचारी । मालपोतमा तिरो उठाउन कर्मचारी नियुक्त गर्नुपर्ने भएछ । त्यतिबेला अहिलेको जस्तो प्रतिस्पर्धा पनि थिएन । ठूलोबुवाले सिफारिस गरेपछि बुबाले तिरो उठाउने जागिर पाउनुभएछ ।

त्यतिवेला अहिले जसरी स्थानीय निकायले तिरो उठाउँदैनथ्यो । मालपोतले नै उठाउँथ्यो । तर, गाउँगाउँमा डुलेर ।

ज्यान हत्केलामा राखेर तिरो उठाउनुपर्थ्यो

गुन्सी भदौरे । त्यतिबेला जनमोर्चाको अखडा । राजनीतिक दलमाथि प्रतिवन्ध लागेको इतिहासको त्यो कालखण्डमा गुन्सी भदौरेमा चाँहि जनमोर्चाको अखडा । राजनितिक क्रियाकलाप त हुनै नै भए, त्यो भन्दा पनि अराजक क्रियाकलापका कारण जनमोर्चा बदनाम थियो ।

“जनमोर्चाले आफ्नो अधिपत्य घोषणा गरेको स्थानमा तिरो उठाउन जानु भनेको उनीहरुको अस्तित्व माथि सोझो प्रहार थियो । त्यसैले उनीहरुले यो कुरा मन पराउने कुरै भएन । तर पनि बुबाहरुलाई यो काम जसरी पनि सम्पन्न गर्नुपर्ने थियो,”, दाई उद्धव पोखरेलको भनाई छ ।

बाहुन हो, छोड्दिम …

कर उठाउने सिलसिलामा बुबा र ठूलोबुबा त्यतैतिरको खै कुन हो, गाँउमा जानुभएको रे । मतानकी माईली हजुरआमा बिरामी भएको कारणले बुबा घरमा आउनुभएछ । ठूलो बुबा सो स्थानको प्रधानपञ्चको घरमा बस्नुभएको । सुरक्षा र सजिलोका लागि प्रधानपञ्चको घरमा बसेर तिरो उठाउँदो रहेछ मालपोत टोलीले । प्रधानपञ्चको घरमा बस्ने, गाउँलेलाई तिरो तिर्न आउ भनेर उर्दी जारी गर्ने । पैसा लिएर रसिद दिने । अनि तिरोबापत उठेको रकम क्यानमा राख्ने । पानी, मोही जस्ता तरल पदार्थ हाल्न प्रयोग गरिने क्यानले त्यतिबेला मनी ब्यागको काम गर्दोरहेछ । नोटभन्दा सिक्काको कारोबार बढी हुनाले गर्दा क्यान नै उपयोगी थियो उ बेला ।

एक साँझको कुरा हो- जनमोर्चाको स्थानीय समूहाले ठूलोबुबामाथि आक्रमणको प्रयास गरेछ । उनीहरुको उद्धेश्य पैसा लुट्नेमात्र हो भन्ने ठूलोबुबालाई थाहा रहेछ । अनि त क्यान चाँहि प्रधानपञ्चकी श्रीमतीको हातमा थमाईदिएर आफू त्यहाँबाट बाटो तताउनुभएछ । धन्न बाहुन हो, छोडिदिऔँ भनेर छोडिदिएछन् ।

(‘बुवा’ पुस्तकबाट )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *