सुरेन्द्रलाई जोगाएका मनाङे र फणिन्द्र जोगिए, कांग्रेस कोटाबाट मन्त्रीमा यथावत – Nepal Press

सुरेन्द्रलाई जोगाएका मनाङे र फणिन्द्र जोगिए, कांग्रेस कोटाबाट मन्त्रीमा यथावत

पोखरा । नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को मन्त्री पद कायमै रहने भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धनपछि बनेको सरकारमा पनि उनीहरूले निरन्तरता पाउने भएका छन् ।

एमालेले गण्डकीमा सरकारमा जाँदा फणीन्द्र र मनाङेलाई हटाउनुपर्ने अडान राखेको थियो । तर, कांग्रेसले हटाउन नचाहेपछि उनीहरूको पद जोगिएको हो । ती दुईले जेठ २८ गते विश्वासको मत दिँदा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार ढल्नबाट जोगिएको थियो । त्यसकारण उनीहरूलाई नहटाउने अडानमा कांग्रेस थियो । एमालेले फणीन्द्र र मनाङेलाई राख्ने भए आफ्नै कोटाबाट राख्न प्रस्ताव गरेको थियो ।

अहिले मन्त्रालय बढाएर एमाले र कांग्रेसबीच सहमति भएको छ । एमाले ४ र कांग्रेसले मुख्ममन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो । ५ मन्त्रालय पाएको कांग्रेस त्यही मध्येबाट दुईजना फणीन्द्र र मनाङेलाई मन्त्री बनाएको छ । कांग्रेस कोटाबाट मुख्यमन्त्रीसहित ३ जना कांग्रेसबाट र दुई जना फणीन्द्र र मनाङे मन्त्री छन् ।

फणीन्द्रको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय यथावत हुँदा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर