ठेकेदारले बेलामा काम नसक्दा धुलिखेल-खावा सडकमा यात्रुलाई सास्ती (भिडिओ) – Nepal Press

ठेकेदारले बेलामा काम नसक्दा धुलिखेल-खावा सडकमा यात्रुलाई सास्ती (भिडिओ)

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडक दैनिकजसो अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।

अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीको काम समयमै सम्पन्न नहुदाँ हिलोका कारण सडक दैनिकजसो अवरुद्ध हुने गरेको छ । हिउँदमा धुलाम्मे र वर्षामा सडक हिलाम्मे हुदाँ यात्रुहरूले कष्टकर यात्रा गर्न बाध्य छन् ।

धुलिखेल-खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीको कामको जिम्मेवारीको सम्हालेको निर्माण व्यवसायी गौरी-पार्वती निर्माण सेवा प्रा.लिले समयमै काम नसक्दा अहिले यो सडकमा विस्तार कार्य अलपत्र परेको हो ।

सडक खण्डको विस्तार र स्तरोन्नती कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी-पार्वती निर्माण सेवा प्रा.लिबीच २२ महिनामा कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्ने थियो ।

४ किलो मिटर सडकखण्डमध्ये २ किमि सडक खण्डमा मात्रै निर्माण व्यवसायीले हालसम्म करिब ४० प्रतिशत कार्य सम्पन्न गरेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार, ४० प्रतिशत सम्पन्न भएको कार्य पनि पहिरोले बिगारेको हुनाले यसलाई फेरि दोहोर्‍याएर गर्नुपर्ने देखिएको छ ।

पूर्वमन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले यो सडकमा चासो राख्दै सदन र सरोकारवालामाझ पटकपटक ध्यानाकर्षण गराइरहेका छन् ।

यस क्षेत्रको सांसदसमेत रहेका बास्कोटाले केही समयअघि मन्त्रालयमा ३ जना मन्त्री फेरिँदासम्म बाटो नबनेको भन्दै आक्रोश जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *