म ‘बा’को मुख हेर्दिनँ – Nepal Press
ब्लग

म ‘बा’को मुख हेर्दिनँ

यति बेला प्रकाश तामाङ उर्फ पक्का चर्चामा छन् । उनको घर भोजपुरको षडानन्द नगरपालिका साम्पाङमा यति बेला कम्तीमा १० जना युट्युवरले डेरा जमाएका छन् ।

उनलाई भेट्न र अन्तर्वार्ता गर्न पालो कुर्नुपर्ने अवस्था छ । तामाङलाई प्रधानमन्त्रीदेखि मुख्यमन्त्री सम्मले फोन गरे । नेता, प्रशासक, पत्रकार तामाङका सारथी बने । उनलाई अघि लाएर घर भित्र्याउनेहरू गिनेचुनेका मान्छे थिए ।

मानौँ उनी युद्ध जितेर फर्किएको सिपाहीको कमान्डर हुन् । देश उनकै वरिपरि घुमिरहेको छ । समाजको नेतृत्व अब कयौँ वर्ष उनैले गर्ने छन् । अब समय प्रकाशकै वरीपरि घुम्ने छ ।

‘हेर्ने कथा’ युट्युव च्यानलमा तामाङको कथा सार्वजनिक भएपछि सामाजिक सञ्जालको भित्तामा आँसुको बाडी आयो । आँसुले देश पूरै डुबायो । प्रशासक नीति निर्मााताहरूलाई पनि आँसुले भिजायो । आँसुको छाल जहाँ-जहाँ नेपाली छन् त्यहाँ-त्यहाँसम्म पुग्यो ।

भावविव्हल भएका मान्छेहरूको जोड बलमा चुम भ्याल्लीको चौँरी गोठबाट प्रकाश यति बेला भोजपुर पुगेका छन् । उनी लेकबाट बेँसी झरे । अनागरिक तमाङगलाई घरमै लगेर सरकारले नागरिकता दियो । आँसुको शक्ति कति हुन्छ भन्ने प्रमाण बनेका छन् प्रकाश यति बेला । सामाजिक सञ्जालको समाजशास्त्र कति बलियो छ भन्ने कुरा उनकै कथाले देखाइदिएको छ ।

बुवाको श्याम स्वेत तस्बिर मनमा बोकेर बालापनमै हराएका प्रकाश आज आफ्ना बा को वरिपरि होलान् । मलाई विश्वास छ उनले आज बाको मुख पनि हेरे होलान् ।

हिमालको स्याँठ, झरनाको सङ्गीत, खोलाको कलकल र भेडा र चौरीको बगालमा बर्षौं हराएका प्रकाश यति बेला सामाजिक सञ्जालमा हराउन अभ्यस्त हुन थाले होलान् । त्यहाँ अरूका बाको रङ्गिन फोटो हेरेपछि आफ्ना बालाई पनि हेरे होलान् । यो मेरो कल्पनामात्रै हो उनले त्यसो नगरेका पनि हुन सक्छन् । उनी मैले सोचे भन्दा बेग्लै पनि रहन सक्छन् । मैले जस्तो बा को मुख नहेरेका पनि हुन सक्लान् । खैर यो प्रकाशको कुरा हो । आज मलाई प्रकाशको नभई मेरा बाको कुरा गर्नुछ । बाको कुरा गर्न ल्यापटप अगाडि राखेर किबोर्डमा औंला चलाई रहँदा अहिले पनि मलाई डर र लाज लागिरहेको छ ।

किनकि आजसम्म मैले मेरा बाको बारेमा कहिल्यै लेखेको छैन । बाका अगाडि निर्धक्क भएर बोलेको छैन । म समानको मेरो छोरो हुँदा पनि मैले बाका अगाडि धक फुकाएर हाँसेको छैन । क ख लेख्न नजान्दा, खरायो ख र गाइगोडे ग भन्न नजान्दा मनभित्र पसेको बाप्रतिको डर आजसम्म गएको छैन । मास्टरले तेरो छोरोले पढ्न जानेन भनेर पोल लाउँदा बाले रिसाएर भकुरेको मैले बिर्सेकै छैन । साथीहरूसँग माछा मार्न गएर साँझ फर्किँदा बा जङ्गिएको दिन हिजो जस्तो लाग्छ । बाको खल्ती मार्दा हानेको थप्पडको छाप अझै गालामा भएजस्तै लाग्छ ।

मेरा बाले बाँसका छेस्काले धुलौटोमा क ख लेख्न मलाई कापीमात्रै बनाई दिएनन् काखमा राखेर हात समाउँदै ‘क’ को आकार बनाउन पनि सिकाए । खरायो ख र गाईको गोडा जस्तो ग भन्न पनि सिकाए । मेरा बा अहिले पनि क लेख्न सिकाउन जान्ने बा लाग्छ । मलाई अहिले पनि मेरा बा ले ठूलो वर्णमालामा छापिएका कविताको जस्तै सबै कवितामा लय हाल्न जान्दछन् जस्तो लाग्छ । उनले गीता महाभारत, रामायणमात्रै होइन समाजवाद र साम्यवाद पनि पढेका छन् जस्तो लाग्छ । उनले घर व्यवहारमात्रै होइन देश दुनियाँ जाने झैँ लाग्छ ।

मेरा बाले कति पढेका छन् ? के-के जान्दछन् ? मैले कहिल्यै सोधिनँ । तर, हरेक समय मलाई लाग्छ उनी मभन्दा जान्ने छन् । स्कूल पढ्दा साथीहरूले भन्थे तेरो बाउ त बुडा छन् । बुडो हुनुको अर्थ मैले यति मात्रै जाने की उनी काम गर्न सक्दैनन् । तर, मैले देखुञ्जेल उनी काम नगरी बसेको याद छैन । हलो बाले नै जोत्थे, कोदालो उनैले खन्थे । बजार बा नै जान्थे । दसैँ तिहार उनैले धान्थे । मेरा लागि नयाँ लुगा र किताबको जोहो उनैले गर्थे । मैले मेरा बा बुडो भएको र काम गर्न नसकेको कहिल्यै देखिनँ ।

समय फेरियो । मेरा साथीहरू आ-आफ्नै दर्का दिशा लागे । कोही युरोपतिर छन् । कोही अमेरिका, अष्ट्रेलिया त कोही खाडीतिर । देश नछाड्ने थोरैको लाइनमा म पनि छु । म युरोप र अमेरिका जान सकिनँ । खाडी र मलेसिया जाने आँट पनि गर्न सकिनँ । मैले बोइङ्ग चढ्ने आँट गरिनँ । मेरो भाग्यमा समुन्द्र तरेर उतै बस्ने लेखिएकै रहेनछ ।

म देश नछाड्ने हुतीहारा हुँ । म बा छाड्न नसक्ने पानी मरुवा हुँ । मैले मेरो पौरख बालाई देखाउन सकिनँ । म बाभन्दा ठूलो बन्न सकिनँ । म बाभन्दा जान्ने हुन सकिनँ । मैले बालाई फादर भन्न पाइनँ । बुवाको मुख हेर्ने दिनलाई ‘फादर्स डे’ को रूपमा मनाउन पनि पाइनँ । मैले दुनियाँ नै देख्न पाइनँ । मैले बालाई छाड्न नसक्दा गँवारको गँवार नै भएँ ।

मैले बालाई नछाड्दा सुटकेसमा पोको पारेर बाका लागि उपहार ल्याउन सकिनँ । बा का लागि घडी, जुत्ता, मोबाइल र सुटको पार्सल पठाउन पाइनँ । फलफूल र मिठाईको प्याकेट बोकेर बाका अगाडि आउन पाइनँ । सबैभन्दा ठूलो कुरो बालाई दिएको उपहारको फोटो फेसबुकमा टाँस्न पाइनँ । मैले पनि अरूले जस्तै बासँग टाँसिएर उपहार दिएको मिठाई खुवाएको फोटो टाँस्न पाए मेरा बा पनि त खुसी हुन्थे होलान् ? अरूका छोराले आफ्ना बालाई मीठो मीठो खानेकुरा खुवाएको फोटो हेर्दा उनलाई पनि रहर जाग्दो होला । उनी पनि नातिसँग फेसबुक हेर्दे कल्पना गर्दा हुन् ।

मेरा बा बिरामी हुँदा अस्पताल लैजान अर्डर दिने मेरा लागि कोही छैन । लेख्दा लेख्दैको ल्यापटप सर्ट डाउन गरेर मै कुद्न पर्छ । बाको कमिज फाटेको देख्ने मैले नै हो । फाटेको कमिज फेरिदिन बुबाको मुख हेर्ने दिनसम्म कुर्न पनि त भएन । हातको घडीको सुई हिँड्न छाडेका दिन दिउँसै बाले मलाई नै भन्नु हुन्छ । बा कुशे औँसी आउँदै छ भनेर आलटाल गर्ने आँट गर्न कहिल्यै सकिनँ ।

मिठाई र फलफूल बोकेर घर जाँदा फोटो कसरी खिच्नु ? नाथे एक जोर गन्जी र हाफ पाइन्ट बालाई दिएको प्रचार कसरी गर्नु ? मलाई यति न लाज लाग्छ कि तीन चोटि फोटो अपलोड गरेर पनि पोस्ट गर्ने बेलामा ‘डिस्कार्ड’ गर्नुपर्छ । यसरी बालाई दिएको फोटो हाल्न लान मलाईमात्रै हो कि अरूलाई पनि लाग्छ ? मैले आजसम्म थाहा पाउन सकेको छैन ।

म बिहान उठ्नुभन्दा अगाडि उनै उठ्छन् । मैले नित्य कर्म गर्नुअगाडि उनैले गर्छन् । गाउँघरको खबर मलाईभन्दा अगाडि उनैलाई थाहा हुन्छ । आफन्त नातागोताको हेरचाह मैलेभन्दा अगाडि उनैले गर्छन् । मेरा बालाई म अहिले पनि सानै छु जस्तो लाग्छ । घर पुग्दा उनैले गेट खोल्छन् । रात विरात ढिलो हुँदा खोज खबर गर्ने उनै हुन् ।

घर नपुगुञ्जेल मोबाइलमा ट्याइँ ट्याइँ घण्टी बजाउने उनै हुन् । दसैँ, तिहार, माघेसंक्रान्ती, साउने संक्रान्ती, तीज मलाईभन्दा छिटो बालाई लाग्छ । कसरी धान्ने कसरी टार्ने पीर उनैलाई छ । मलाई त चाडबाड आएको महसुस उनैको फराक फुरुक देखेपछि मात्रै हुने हो ।

उठेपछि उनले खाने चिया र मैले खाने चिया एउटै हो । उनले खाने दालभात र मैले खाने दालभात एउटै भाँडामा पाक्छ । के बुवाको मुख हेर्ने दिन ? के आमाको मुख हेर्ने दिन मेरा लागि एउटै हो । मैले बाको मुख हेर्नुभन्दा पहिला उनैले मेरो मुख हेर्छन् । बाले नै मेरो मुख हेरेपछि मैले बाको मुख कसरी हेर्ने ? बाले नै मेरो मुख हेरेकाले मैले बा को मुख किन हेर्ने ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *