सञ्चारमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन- विवादित अभिव्यक्ति नदिनू, बोल्दा लामो भाषाको प्रयोग नगर्नू – Nepal Press

सञ्चारमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन- विवादित अभिव्यक्ति नदिनू, बोल्दा लामो भाषाको प्रयोग नगर्नू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सार्वजनिक रुपमा बोल्दा सचेत हुन निर्देशन दिएका छन् । मन्त्रालयको नियमित रिपोर्टिङ गर्न पुगेका सञ्चारमन्त्रीलाई प्रधानमन्त्री विवादित विषय नबोल्न निर्देशन दिएका हुन् ।

एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । सरकारका प्रवक्तासमेत रहेका गुरुङको यो अभिव्यक्ति विवादमा तानिएपछि प्रधानमन्त्रीले सोधपुछ गरेका हुन् ।

राष्ट्रिय समाचार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले भने, ‘मेरो मन्त्रालयको कामको नियमित रिपोटिङको काम थियो प्रधानमन्त्रीसँग, मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो गराएँ । त्यही क्रममा उहाँले पोखरामा बोलेको बिषयको सन्दर्भबारे सोध्नुभयो, मैले जानकारी गराएँ ।’

उनले सरकारको अहिले भइरहेको कामहरुको विवरण सुनाएपछि पत्रकारको प्रश्नको जवाफ दिनेक्रममा आफूले प्रहरी समायोजनको विषयमा बोलेको स्वीकारे ।

उनले थपे, ‘मैले सन्दर्भवश बोलेको कुराले अहिले तरंग पैदा गरेको छ । यस विषयमा प्रधानमन्त्रीले पनि मलाइ चासो राख्नुभयो । मैले उहाँलाई सबै सन्दर्भ बताएँ । हामीले प्रश्नको उत्तर दिँदा खेरी तपाईं त सरकारको प्रवक्ता पनि हुनुहुन्छ । बोल्दाखेरी भाषा प्रयोग गर्दाखेरी विवादमा आउनेखाले भाषा प्रयोग गर्नबाट सचेत हुनुस् । उहाँले भनेपछि मैले महसुस गरें ।’

प्रधानमन्त्रीले हरेक कुरामा लामो लामो नबोल्न र छोटो भाषण प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको पनि सुनाए ।

उनले थपे, ‘मैले त्यसलाई स्वीकार गरेँ । उठेका प्रश्नहरुको सचेत गराउनुभयो । मैले आफ्नो भनाइ राखे उहाँले सुझाव दिनुभयो । ठूलो विवाद हुने खालको त रहेनछ । तर शब्द चयनले चाहिँ मान्छेलाई उद्देलीत बनायो । मलाई सचेत हुनु भन्नुभएको छ । मैले पनि हुन्छु भनेको हाम्रो नेता भनेको पनि उहाँ नै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर