माओवादी लुम्बिनी बैठक : सदस्यको अभिलेखीकरण र फरक मतकाे सम्मान गर्दै पुरानो हैसियतमा फर्काउने योजना – Nepal Press

माओवादी लुम्बिनी बैठक : सदस्यको अभिलेखीकरण र फरक मतकाे सम्मान गर्दै पुरानो हैसियतमा फर्काउने योजना

प्रभाकरले भने- फरक मत होइन पूरक हो, प्रचण्डले भने- पूरक मतलाई समेटेर अघि बढ्छौं

रुपन्देही । लुम्बिनी प्रदेश नेकपा माओवादी केन्द्रले आधार इलाका मानिरहेको क्षेत्र हो । यहीका रुकुम, रोल्पालगायतका जिल्लाबाट आफ्नो सशस्त्र युद्ध सुरु गरेको भएकाले पनि माओवादीले यो क्षेत्रलाई बलियो क्षेत्र मान्दै आएको हो ।

यही इलाकामा पछिल्लो चरण खिइँदै गएको पार्टीलाई पुनःजीवन दिनेगरी बाँकेको नेपालगन्जमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठकले केही योजना अघि सारेको छ । पार्टी सचिव तथा प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल बलदेवका अनुसार आइतबार र सोमबार बसेको बैठकमा सबै नेताहरुले पार्टीको आगामी रणनीतिका विषयमा खुलेर छलफल गरेका थिए ।

बैठकमा यसअघि केन्द्रमा फरक मत राख्दै आएका जनार्जन शर्मा प्रभाकरले पनि आफ्नो धारणा राख्दै फरक मत नभएर पूरक मत भएको प्रष्ट पारेका छन् । ‘पार्टीका शीर्ष सबै नेताहरुलाई राखेर प्रभाकरले पार्टीमा आफूले उठाएको फरक मत नभएर पूरक मत हो भनेर प्रष्ट पार्नुभयो, अध्यक्ष प्रचण्डले पनि त्यो विषयमा सम्बोधन भइसकेको र पार्टी फूटको विषय कहीँ कसैले शंका गर्नु पर्ने अवस्था नरहेको उल्टै पुराना माओवादी घटकहरु जोड्ने विषयमा आन्तरिक तयारी भएको प्रष्ट पार्नुभयो’ नेताहरुको भनाइ उल्लेख गर्दै बलदेवले भने ।

बैठकको दोस्रो दिन प्रदेश कमिटी तथा केन्द्रीय पदाधिकारीहरुले आफ्नो धारणा राखेका थिए । सोमबारको बैठकमा २५ जना केन्द्रीय नेता तथा प्रदेश पदाधिकारीहरुले आआफ्नो धारणा राखेका थिए । उनीहरुले पार्टी विधि र पद्दतिमा संचालन नहुँदा संगठन कमजोर भएको निश्कर्षसहित पार्टीको संगठनलाई चुस्त र विधिसम्मत बनाउन नेतृत्वलाई सुझाव दिएका थिए । पार्टीका हरेक कमिटीहरु निर्वाचन पद्दतिबाट आउनुपर्ने धारणा राख्दै वक्ताहरुले जनताको आधारभूत वर्गसम्म पुग्ने गरी कार्यक्रम बनाउन नेताहरुलाई सुझाव दिएका थिए ।

बैठकको समापन गर्दै माओवादी अध्यक्ष प्रचण्डले पार्टीको पहुँचलाई गाउँ गाउँसम्म पुर्याउन कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले पार्टीको संगठनलाई ब्यवस्थित बनाउन निर्देशन दिँदै पार्टीका प्रत्येक सदस्यहरुको अभिलेख राख्न नेताहरुलाई निर्देशन गरे ।

‘पार्टीमा कति सक्रिय छन्, कति व्यवसायी छन्, कति वैदेशिक रोजगारीमा छन् र कतिले के कस्तो व्यवसाय गरेका छन् सबैको अभिलेख पार्टीमा हुनुपर्दछ’ प्रचण्डको भनाई उदृढ गर्दै बैठकमा सहभागी एक नेताले बताए ।

उनले संघ र प्रदेश सरकारको जिम्मेवारपूर्ण प्रतिपक्षकारुपमा आलोचना गर्न र माओवादीले नेतृत्व गरेको स्थानीय तहमा सेवाको गतिलाई बढाएर जनताको विश्वास जित्ने गरी काम गर्न प्रदेशमा खटिएका नेताहरुलाई आग्रह गरे । संघ र प्रदेशसमा सरकारले गर्ने कमजोरी र गल्तीहरुको शान्तिपूर्ण तरिकाबाट भण्डाफोर गर्न र माओवादीले नेतृत्व गरेको स्थानीय तहमा स्वमूल्यांकनमा उच्च अंक आउने गरी काम गर्न अध्यक्षबाट निर्देशन भएको ती नेताले बताए ।

२ दिनसम्म चलेको बैठकमा सहभागी सबै नेताहरु नेपालगन्जस्थित बिभिन्न पार्टी समर्थकको घरमा बास बसेका थिए । अध्यक्ष प्रचण्ड भने नेपाल राष्ट्र बैंकको अतिथि गृहमा बसेका थिए । नेपालगन्ज बस्ने क्रममा प्रचण्डले नेपालगन्ज रङ्गशालाको र नेपालगञ्ज एकीकृत जाँचचौकी (आईसिपी) नेपालगन्जको अवलोकन गरेका थिए । प्रचण्डसहितका अधिकांश नेताहरु सोमबार नै काठमाण्डौ फर्केका छन् भने केही नेताहरु प्रदेशमै रहेका छन् ।

माओवादीले हालसम्म लुम्बिनीसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न गरेको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ। केन्द्रीय समितिले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरूपमा जनतामा जाने माओवादी केन्द्रले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर