सिएमसी कर्पोरेट कप’को उपाधि एजुकेशन प्लानेटले जित्यो – Nepal Press

सिएमसी कर्पोरेट कप’को उपाधि एजुकेशन प्लानेटले जित्यो

चितवन । पहिलो संस्करणको ‘सिएमसी कर्पोरेट कप’ इण्डोर क्रिकेटको उपाधि एजुकेशन प्लानेटले जितेको छ ।

भरतपुर–३, स्थित क्यासी स्पोर्टस् एण्ड रिक्रियशनल सेन्टरमा गएराति सम्पन्न निकै रोमाञ्चक फाइनल प्रतिस्पर्धामा सेन्ट्रल कलेजलाई ८ रनले पराजित गर्दै एजुकेशन प्लानेटले उपाधि जितेको हो ।

जितका लागि अन्तिम ओभरमा सेन्ट्रल कलेजलाई २३ रन आवश्यक रहेकोमा १४ रन मात्रै जोड्न सक्यो ।

उपाधिसँगै इ–प्लानेटले नगद ५० हजार रुपैयाँ, आकर्षक ट्रफी र मेडल प्राप्त गर्‍यो । उपविजेतामा सीमित सेन्ट्रल कलेजले नगद २५ हजार रुपैयाँ र ट्रफी तथा मेडल प्राप्त गर्न सफल भयो ।

दुवै टिमलाई समापन समारोहका प्रमुख अतिथि चितवन मेडिकल कलेज (सिएमसी)का निर्देशक प्रोफेशर डा.दयाराम लम्साल, चितवन जिल्ला क्रिकेट संघका सल्लाहकार तथा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेल, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले पुरस्कार प्रदान गरे ।

पुरस्कार वितरण समारोहमा बोल्दै सिएमसीका निर्देशक डा।लम्सालले सफलता पूर्वक प्रतियोगिता सम्पन्न गरेकोमा चितवन जिल्ला क्रिकेट संघलाई धन्यवाद ज्ञापन गरे ।

उनले आगामी दिनमा पनि यसरी नै क्रिकेट खेलहरूमा सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए । संघका सल्लाहकार वाइबी पौडेलले प्रतियोगिताका विजेता र उपविजेता टिमलाई बधाई दिए ।

उनले आगामी दिनमा पनि प्रतियोगिता आयोजना गर्न यसै गरी सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सहयोग पाउनेमा विश्वास व्यक्त गरे ।

प्रतियोगिताको समापन गर्दै संघका अध्यक्ष सुदिप पियाले वर्षायामलाई हेरेर संघले पहिलो पटक यस किसिमको प्रतियोगिता गरिएकोमा सबैको साथ र सहयोगले सफल भएको भन्दै खुशी व्यक्त गरे ।

उनले आगामी दिनमा यसै गरी सबैको साथको अपेक्षा गरे । संघले यस वर्ष वार्षिक क्यालेन्डर नै प्रकाशन गरेको भन्दै चितवनमा क्रिकेट गतिविधि बढाउन संघ हरदम तयार रहेको बताए । संघका सचिव सुरज ज्ञवालीले सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

चितवन जिल्ला क्रिकेट संघ (क्याक) को आयोजना र चितवन मेडिकल कलेज (सिएमसी)को मुख्य प्रायोजनमा भदौ १४ गतेदेखि १७ गतेसम्म चलेको प्रथम ‘सिएमसी कर्पोरेट कप’ इण्डोर लिग क्रिकेटमा चितवन र नवलपुरसहितका कुल १६ वटा कर्पोरेट टिमले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर