एकै दिन झण्डै १७ लाख बराबरको अवैध सामग्री बरामद, एक जना पक्राउ
डोटी । प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट एकै दिन १६ लाख ९९ हजार ९३५ रुपैयाँ बरावरको अवैध सामग्रीसँगै एक जनालाई नियन्त्रणमा लिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित गेटा विमानस्थलको प्रवेश द्वारबाट सोमवार बिहान ११ बजेतिर करिब आठ लाख ४० हजार बराबरका एप्पल कम्पनीका २१ वटा सेकेन्ड हेन्ड आई फोन मोबाइल बरामद गरेको छ ।
आईफोनसँगै कैलाली, घोडाघोडी नगरपालिका–१ सुख्खडका २७ वर्षीय राजु चौधरीलाई पनि नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले जानकारी दिएको छ ।
चौधरीले आईफोन कार्टुनमा प्याक गरी कुरियर गरेर काठमाडौं पठाउन लागेको अवस्थामा विमानस्थल सुरक्षा गार्ड गेटा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । मोबाइल र चौधरीलाई आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
यस्तै, धनगढी उपमहानगरपालिका, मिलनचोक, ट्राफिक चौराहा, गोदावरी नगरपालिका–५ गेटा र कैलारी गाउँपालिका–८, लोहरपुरबाट करिब तीन लाख २३ हजार ६२० बराबरको साडी, सुटपिस, कुर्ती, धोती, मोटरसाइकलको सकर, डाटा केवल, मोबाइल डिस्प्ले लगायतका सामानहरू बरापद भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका ल्याई बेवारिसे अवस्थामा फेला सामानहरू नियन्त्रणमा लिएको हो ।
सोमवारै कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क नजिक, वडा नं. १० गज्जर, वडा नं. ११ भन्सार कार्यालय नजिक र वडा नं. १७ मझगाउँबाट पाँच लाख ३६ हजार ३१५ बराबरको अवैध भन्सार छलीको सामान बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली गरी ल्याएको चिनी, गुड, मिश्री, बिडी, खानेतेल, पेय पदार्थ, नमकिन, सुर्ती, दाल, किरानाका सामान, कस्मेटिक सामान, बच्चाका खेलौना, चप्पल, थान कपडा, कुर्ता सुरवाल, गञ्जी, लगायतका सामानहरू बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।