बालेनको शैलीप्रति सुनीताको असन्तुष्टि- मेयरस्तरीय निर्णयबाट जनता आतंकित पार्ने सूचना किन जारी भयो ? (भिडिओ) – Nepal Press

बालेनको शैलीप्रति सुनीताको असन्तुष्टि- मेयरस्तरीय निर्णयबाट जनता आतंकित पार्ने सूचना किन जारी भयो ? (भिडिओ)

'हतारमा निर्णय गर्ने, हतारमा सूचना गर्ने र त्यसलाई आफूले व्याख्या गर्ने काम नगरौं'

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनीता डंगोलले मेयर बालेन शाहले जनता आतंकित पार्नेगरी सूचना जारी गरेको भन्दै आपत्ति जनाएकी छन् । बागमती नदी संरक्षणसम्बन्धी मुद्दामा सर्वोच्चको आदेशको पूर्णपाठलगत्तै महानगरपालिकाले मेयरस्तरीय निर्णयबाट बागमती र विष्णुमतीमा ४० मिटर र टुकुचाको २० मिटर वरपर निर्माण निषेध भएको सूचना जारी गरेको थियो ।

उक्त सूचनाले जनता आतंकित र त्रसित भएको भन्दै मंगलबारको ३५औं नगर कार्यपालिका बैठकमा डंगोलले ध्यानाकर्षण गराएकी हुन् । केही जनता महानगर आउने ठाउँठाउँमा विरोध गर्ने काम भइरहेको भन्दै उनले बुझाउन नसकेको पो हो कि महानगरका हरेक निर्णयमा जनप्रतिनिधिहरूमा अपनत्व हुनुपर्नेमा जोड दिएकी छन् ।

यो पनि पढ्नुहोस् : सर्वोच्चको फैसलाले पशुपतिनाथ समेत जोखिममा पर्ने दाबी, पुनरावलोकनमा जान सरकारलाई दबाब

‘अदालतको आदेशलाई सम्मान गर्नुपर्छ । तर, कार्यान्वयन क्रममा कसरी कार्यान्वयन गर्छौं त्यो महत्वपूर्ण छ । प्रमुख ज्यूले सुसूचित गरेका हौं भन्नुभयो । तर, सुसूचित पनि कसरी गर्ने त्यसलाई कसरी लेखिएको छ भन्ने महत्वपूर्ण छ । एउटा शब्दलाई खेल्ने धेरै ठाउँ पनि हुन्छ । प्रमुखस्तरीय निर्णयअनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ । महानगरपालिकाको सबैजनाको त्यो निर्णय हो कि होइन भन्ने आउँछ’, उनको भनाइ छ ।

संवेदनशील कुराले दीर्घकालीन असर पर्नसक्नेतर्फ सचेत गराउँदै उनले थप यसो भनिन्-

यस्तो सेन्सेटिभ कुरामा एउटा व्यक्तिसँग कुनै एउटा ठाउँसँगमात्र जोडिएको होइन, यतिधेरै जनता र जनभावनासँग जोडिएको कुरामा हामीले बोर्डमा हामी सानोभन्दा सानो कुरामा छलफल गरिरहेको अभ्यास छ । यस्तो सेन्सेटिभ कुरामा बोर्ड बैठक बसेर छलफल नगरी मेयरस्तरीय निर्णय भनेर सूचना जाने अनि हामी महानगरका जनप्रतिनिधि स्वयं त्यसैबाट बल्ल सुसूचित हुने त्यो राम्रो पद्धति हुँदै हैन । कतिलाई असर परेको छ अध्ययन गर्नपर्छ कि पर्दैन ? क्षतिलाई कसरी कम गर्ने, कानूनी बाटो पनि छन् त्यसलाई हेर्नुपर्छ ।

अदालतले गरेका निर्णय सदैव जनताको हितमा मात्र हुन्छ भन्ने पनि हैन । त्यसैले चित्त नबुझेको खण्डमा अर्को कानूनी बाटो छ भनेर राखिएको छ । बरु पुनरावलोकनमा हामी पो जानुपर्थ्यो कि सूचना दिनुभन्दा अगाडि । यस्ता संवेदनशील विषयमा जनता सडकमा आइसकेपछि डिफेन्स गर्नेभन्दा पनि सूचना दिनुअघि नै पहिले विचार गर्नुपर्छ । हामीले सुशासनका कुरा गर्छौं, सहकार्यका कुरा गर्छौं । कम्तीमा हामी आन्तरिक सदस्यबीच हुनुपर्छ । जनभावनाको विपरीत पो महानगर गएको हो कि भनेर भन्न थालिएको छ । त्यसैले यो डिसिजन हामी सबैको हो भनेर ओनरसिप कसरी लिन्छन् ? हामीले गर्ने हरेक सूचना होस् या निर्णय होस् बुझाउन सकिन्छ । यसरी हतारमा निर्णय गर्ने हतारमा सूचना गर्ने र त्यसलाई आफूले व्याख्या गर्ने काम नगरौं ।

काठमाडौंको नदी किनारामा अवस्थित प्राचीन बस्ती र सम्पदाहरू समेत जोगाउन भन्दै नेकपा एमाले काठमाडौंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएपछि मेयर बालेन शाहले तत्कालै सोसल मिडियाबाट प्रतिवाद गरेका थिए ।

सर्वोच्च अदालतले सबै खोलाहरूको हकमा दायाँ-बायाँ न्यूनतम अर्को थप २० मिटर छाडेरमात्र निर्माणको अनुमति प्रदान गर्न भनेको थियो ।

कानूनबमोजिम नक्सा पास गरी पहिले नै भवन आदि संरचना निर्माण गरिएको अवस्थामा नदी किनार क्षेत्रमा सडक, ढल वा प्रशोधन केन्द्र आदि संरचनाहरू निर्माण गर्न र नदी तथा खोलाहरूको सहज प्रवाहका लागि आवश्यक पर्ने जग्गा कानूनबमोजिम क्षतिपूर्ति दिएर सरकारले लिने र संरचना नबनेका खाली जग्गालाई निर्माण निषेधित क्षेत्र घोषणा गर्न एमालेले माग गरेको थियो । सो फैसला पुनरावलोकनको माग गर्दै एमालेकै टोलीमा प्रधानमन्त्रीसमक्ष सुनीता पनि डेलिगेशन गएकी थिइन् ।


प्रतिक्रिया

2 thoughts on “बालेनको शैलीप्रति सुनीताको असन्तुष्टि- मेयरस्तरीय निर्णयबाट जनता आतंकित पार्ने सूचना किन जारी भयो ? (भिडिओ)

  1. सुनिता जत्ति कै बलेन बुद्धिमान हुन्थे भने काठमान्डू र महानगर १० स्टेप माथि भएको हुने थियो : बिकासको, सभ्यताको हिसावले !!
    १. बिकास र उन्नति रत्नपार्कमा देखिने चटकेको जादु जस्तो हैन, अनि लिग लिगमा तिघ्रा चिल्ला पारेर दौडिने ले ‘रेस’ जित्छन, पगरी गुथ्छन, राजा बन्छन तर वाहि वाहि र नाचगान बाहेक केहि गर्न सक्तैनन् !!
    २. बिकास देंटिंग पेंटिंग हैन, संरचनाबाट सुरु हुन्छ, द्वन्द, तुजुक, वैमनस्यता, हैकम हैन : सुनिताको जस्तै समझदारी र सुझबुझ पूर्ण हुनु पर्छ र त्यो परिणाम दिने हुन्छ, स्थायी हुन्छ !!
    ३. काठमान्डू का जनता अलिक अधीर भए हावा संगै बगे : दुर्घटना चाहिँ नहोस : जहाजमा सवार एक जना मात्र छुल्याहा पर्यो भने सबै जोखिममा पर्छन तर यहा त पाइलट नै …….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर