बिदाको दिनमा पनि ओपिडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सबै सरकारी अस्पताललाई परिपत्र – Nepal Press

बिदाको दिनमा पनि ओपिडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सबै सरकारी अस्पताललाई परिपत्र

सरकारको उक्त निर्णय अवैज्ञानिक र अव्यवहारिक भएको भन्दै निर्णय फिर्ता लिन चिकित्सक संघको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपिडी) सञ्चालन गर्न सरकारी अस्पताललाई परिपत्र गरेको छ ।

मन्त्रालयले स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा ओपिडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाले जारी गरेको परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपिडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भदौ १६ गते पत्रकाचार गर्दै सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्न आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘‘सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकोमा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रूपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१–०५–१६ को निर्णय अनुसार अनुरोध छ ।’

यसैविच नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिन समेत सवै प्रकारका अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा ९बहिरंग सेवासमेत० प्रवाह गर्न सरकारले दिएको निर्देशन अव्यवहारिक तथा अवैज्ञानिक रहेको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आराम गर्न हप्ताको २ दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन विपरीत नेपालमा भने बिदाको दिनमा समेत बहिरसंग सेवा सञ्चालन गर्ने कुरा अवैज्ञानिक र अव्यवहारिक भएको जनाएको हो ।

भदौ ७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिन समेत स्वास्थ्यसम्बन्धी सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्रालयलाई गरेको पत्राचारबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै स्वास्थ्यकर्मीमा कामको बोझ तथा लगातारको तनावले पारिवारिक, वैवाहिक र सम्बन्ध विच्छेदसम्मका घटना देखिएको संघका महासचिव डा।सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

संघले अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रमअवधि साताको ४० घण्टा तोके पनि ७२ घण्टासम्म लगातार काम गर्नुपरेको भन्दै त्यसको तुलनामा सुविधा र दरबन्दी अत्यन्त कम भएको बताएको हो । यस्तो अवस्थामा सार्वजनिक बिदाका दिन समेत सेवा सुचारु भएको अवस्थामा स्वाथ्यकर्मीमा शारीरिक तथा मानसिक तनाव बढेर ‘बर्नआउट’ हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकुल असर पर्ने सम्भावना रहेको विभिन्न वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको संघले जनाएको छ ।


प्रतिक्रिया

One thought on “बिदाको दिनमा पनि ओपिडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सबै सरकारी अस्पताललाई परिपत्र

  1. दरबन्दी थप्नु छैन , करारका कर्मचारीको भरमा बिदामा पनि ओपीडी चलाउ भनेर स्टन्ट गर्नु परेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *