शेरबहादुर देउवाले नै यो सरकार बिचौलियाले बनाएको स्वीकार गरिसकेः वर्षमान पुन – Nepal Press

शेरबहादुर देउवाले नै यो सरकार बिचौलियाले बनाएको स्वीकार गरिसकेः वर्षमान पुन

बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरुको आरोप पुष्टि भएको बताएका छन् ।

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औं जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै पुनले आफूहरुले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताए ।

‘हाम्रा अध्यक्ष प्रचण्डले संसदको रोस्ट्रमबाटै बिचौलिया र भ्रष्टाचारी समात्न थालेपछि उनीहरुले हामीलाई सरकारबाट निकाले, कांग्रेस-एमालेलाई मिलाइदिए भन्नुभएको थियो’ पुनले भने, ‘पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले एक व्यापारीको नाम लिएर भनेको सुनियो, उहाँलाई केपी ओलीजीको मात्र मान्छे भन्छन् । उहाँ हामी दुवैको साझा मान्छे हो । उहाँको वर्तमान सरकार बनाउन निकै ठूलो भूमिका छ भनेर स्वीकार गर्नुभयो ।’

आफूहरुले सुरुदेखि नै भन्दै आएको उक्त विषयबारे सत्ताबाट हट्नुपर्दाको पीडास्वरुप माओवादीले पूर्वाग्रहपूर्ण टिप्पणी गर्नेहरुले समेत सरकार बिचौलियाले नै बनाएका रहेछन् भन्न थालेको उनको भनाइ थियो ।

ओली सरकारलाई जनताले कालाकाले मिलेर खाऔंवालाहरुको सरकार भनिरहेका बेला देउवाले बिचौलिया र भ्रष्टाचारीहरु मिलेर माओवादीलाई बाहिर निकालेर आफूअनुकुल कांग्रेस-एमाले सरकार बनाएको स्वीकार गरेको टिप्पणी गरे ।

उनले अहिलेको सरकारले जनताको विकास र सुशासनको अपेक्षा सम्बोधन नगर्ने भन्दै सरकार निर्माणमा संलग्न बिचौलिया वर्गको सेवा गर्ने आरोप लगाए ।

पुनले गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताको एजेण्डामा कांग्रेस-एमालेलाई माओवादीले सहमत गराएर सहकार्य गरेको भए पनि सुशासनको एजेण्डामा कुरा नमिलेको पुनले बताए । पुनले प्रचण्डको नेतृत्वमा भएको १० वर्षे सशस्त्र जनयुद्दकै कारण अहिलेका राजनीतिक उपलब्धी हासिल भएकाले त्यसलाई अनमुल्यन र अपमान गर्ने कार्य कदापी स्वीकार्य नरहेको टिप्पणी गरे ।


प्रतिक्रिया

One thought on “शेरबहादुर देउवाले नै यो सरकार बिचौलियाले बनाएको स्वीकार गरिसकेः वर्षमान पुन

  1. सरकारमा हुँदा गैरकानूनी रूपमा लिएको बैना फिर्ता गर्नु परेकाले यिनीहरू तिलमिलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर