रिक्त एक सचिवमा बढुवाका लागि तीनजना सिफारिस – Nepal Press

रिक्त एक सचिवमा बढुवाका लागि तीनजना सिफारिस

काठमाडौं । प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको हो ।

समितिले पहिलो नम्बरमा सहसचिव डा.कमलप्रसाद पोखरेल, दोस्रो नम्बरमा गोविन्दबहादुर कार्की र तेस्रो नम्बरमा महादेव पन्थको नाम सिफारिस गरेको बढुवा सिफारिस समितिले जनाएको छ ।

पहिलो नम्बरमा सिफारिस भएका पोखरेल शिक्षा मन्त्रालयका सहसचिव हुन् भने दोस्रो नम्बरका कार्की बागमती प्रदेश सरकारको कायम मुकायम (कामू) प्रमुख सचिव र तेस्रो नम्बरका पन्थ लुम्बिनी प्रदेशको (कामू) प्रमुख सचिव रहेका छन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस भएकामध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । एक सचिव बढुवाका लागि सिफारिस भए पनि अझै दुई सचिव पद रिक्त छन् ।

एकनारायण अर्याल मुख्यसचिव नियुक्त भएसँगै रिक्त हुन पुगेको र तोयनारायण ज्ञवालीले राजीनामा दिई रिक्त रहेको पदमा सचिव बढुवा हुन बाँकी नै छ । सम्भव त अब बस्ने बढुवा सिफारिस समितिले बढुवा प्रक्रिया अघि बढाउने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *