नजिर मियाँको आत्मवृत्तान्त: मृत्युको मुखबाट उम्किएका राजनीतिक योद्धा – Nepal Press
पुस्तक चर्चा

नजिर मियाँको आत्मवृत्तान्त: मृत्युको मुखबाट उम्किएका राजनीतिक योद्धा

कैलाली । मुस्लिम समुदायमा रमजान पर्वको पूर्वतयारी चलिरहेको थियो । यही चाडको पूर्वसन्ध्यामा नजिर मियाँले प्रदेश प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी पाएका थिए । यो समुदायबाटै राज्यको उच्च तहमा पुग्ने पहिलो मुस्लिम अगुवा हुन् नजिर ।

पञ्चायतकालीन समयदेखि राजनीतिमा जोडिएका उनी नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा हाल केन्द्रीय सल्लाहकार हुन् । २०४९ तथा २०५४ मा अर्घाखाँचीको पालीको तत्कालीन गाविस अध्यक्ष रहेका मियाँ नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका संस्थापक अध्यक्ष हुन् । उनी पञ्चालयकालमा पनि जनपक्षीय उम्मेदवार बनेर थोरै मतले पराजित भएका थिए । २०६४ सालमा समानुपातिकतर्फबाट पहिलो संविधानसभा सदस्यको रूपमा उनले काम गरेका थिए ।

मुस्लिम समुदायमा सादगी, सरल, पाका तथा अनुभवी राजनीतिज्ञको परिचय बनाएका मियाँ २००८ साल माघ १५ गते अर्घाखाँचीको पालीमा जन्मिएका हुन् । पञ्चायतविरुद्धको आन्दोलनबाट राजनीतिमा क्रियाशील मियाँले संविधानसभामा हुँदा मुस्लिम समुदायका सरोकारका विषयलाई समावेश गर्न महत्त्वपूर्ण योगदान रहेको मुस्लिम अगुवाहरू बताउँछन् ।

उनले आफ्नो आत्मवृत्तान्तमा पनि यी र यस्ता धेरै विषय उल्लेख गरेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई विभिन्न फरक फरक व्यक्तित्व समानान्तर रुपमा व्याख्या गरेका छन् ।

‘नजिर मियाँ ः नेपाली वामपन्थी राजनीतिमा चिनाइरहनु पर्ने नाम होइन । नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको लामो समय अध्यक्ष ऐतिहासिक संविधानसभाको सदस्य, अर्घाखाँची पाली तत्कालीन गाविसको दुई कार्यकाल अध्यक्ष, द्वन्द्वात्मक भौतिकवादी चेत भएको एक हाजी मुस्लिम स्थानीय अगुवा, समाजसेवी र एमालेको पूर्वकेन्द्रीय कमिटी सदस्य तथा हालको सल्लाहकारसमेतलाई गणना गर्दा मैले उहाँको ६ वटा व्यक्तित्व समानान्तर रुपमा फक्रिएर मुस्कुराइरहेको पाउँछु’, ओलीले उनको आत्मवृत्तान्तमा शुभकामना सन्देश दिँदै व्याख्या गरेका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली जिल्ला सचिव हुँदाको एउटा घटना सम्झिएका छन् बाँसारुखका गोली काण्ड र कमरेड बसिर मियाँको सहादत ।

अवैध रक्सी नियन्त्रण गर्न हिँडेको प्रहरी टोलीले गाउँमा बर्बरता मच्चाएको, तेजबहादुर घिमिरेले अन्धाधुन्ध गोली चलाएको त्यस क्रममा बसिर मियाँसहितका कैयौं युवा घाइते भएको ज्ञवालीले पुस्तकमा स्मरण गरेका छन् । ‘सईले नामै काढेर नजिरलाई खोजे, सायद उहाँ पनि त्यहाँ भएको भए आक्रमणको शिकार बन्नुहुन्थ्यो’, उनले पुस्तकमा लेखेका छन्, ‘उहाँ जिल्ला बाहिर भएको हुँदा बाँच्नुभयो । ’

उपचारको क्रममा पाल्पा लैजाने क्रममा रिडी नजिकै एक्लीपिपलमा बसिर मियाँको निधन भयो । उक्त घटनामा जोगिएका नजिर समाज समुदाय र राष्ट्रको लागि सधैं अग्रपङ्क्तिमा रहे । सामान्य परिवारका उनी मुस्लिम समुदायबाट पहिलो प्रदेश प्रमुख भएका छन् ।

प्रदेश प्रमुख हुनुभन्दा पहिल्यै तयार गरेको आफ्नो आत्मवृत्तान्तमा अध्यक्ष ओली, उपमहासचिव ज्ञवालीसहित मोदनाथ प्रश्रित, छविलाल विश्वकर्मा, सराज अहमद फारुकी, नजरुल हसललगायतले आफूले बुझेका र भोगेका विषयहरू उल्लेख गरेका छन् ।

मियाँको आत्मवृत्तान्त एउटा पुस्तकमात्रै होइन, इतिहास पनि भएको छ । पुस्तकभित्र भएका खोज अनुसन्धान, मुस्लिम समुदायको अवस्था, सरकारसँग भएका छलफल, वार्ता र संवाद विस्तृत रुपमा उल्लेख गरिएको छ । उनी २०४६ सालपछि नेकपा माले हुँदै एमालेमा सक्रिय भएका थिए ।

२०४१ सालमा आफू, श्रीमती र छोरीलाई एकैसाथ क्षयरोग (टीबी) लाग्दा परिवारले भोग्नुपरेको पीडाले आममान्छेको पीडाबोध गराउँछ । त्यस्तै २०५२ सालपछि माओवादीबाट पाएको धम्की र गाउँबाट विस्थापित हुनुपरेको अवस्थाले त्यो बेलाको द्वन्द्वको समय पुस्तकमा झल्किएको छ ।

‘माओवादी कार्यकर्ताहरूले मेरो घरमा आई तिम्रो लोग्नेलाई बोलाऊ, १५ दिनभित्र १ लाख रुपैयाँ हाम्रो लागि जम्मा गर’ भन्ने पत्र हातमा दिएपछि उनीहरुको मानसिक दबाबबाट बच्न घर छाडी केटाकेटीलाई लिएर सदरमुकाम सन्धिखर्क आएर बस्न मैले श्रीमतीलाई खबर पठाएँ’, उनले पुस्तकमा उल्लेख गरेका छन् ।

उनले आफूले एक जीवनमा तीन युग भोगेको कुरालाई सविस्तार वर्णन गरेका छन् । विद्यालय जीवनको रोचक घटना सम्झँदै राति लुकेर रत्यौली हेर्न गएको र भोलिपल्ट सुरुवाल फुकालेर पानीमा चोप्दै सिस्नोले कुटेको कुरा लेखेका छन् । उनलाई स्वास्थ्यले भने साथ दिँदै छोड्दै गरेको थियो । २०३४ सालमा फोक्सोमा टीबी भएर एक वर्ष उपचार गरेपछि निको भएको थियो, तर २०४४ सालमा फेरि बल्झियो ।

२०४४ सालमा अर्घाखाँचीको सुपाखोलामा साहित्यकार मोदनाथ प्रश्रित, छोरी सायरा खातुन, छोरा रजाक भुटुसमेत गाडी दुर्घटनामा पर्दा गम्भीर अवस्थामा पुगेको र आफूसँगै दुर्घटनामा परेका बुद्धिबहादुर टण्डनको मृत्यु भएको पीडाको क्षण पनि उनले पुस्तकमा समेटेका छन् ।

मियाँले आफ्नो जनप्रतिनिधिको अनुभवमा उल्लेख गरेका धेरै विषय अहिले पनि सान्दर्भिक र प्रेरणादायी छन् । ‘अर्घाखाँची जिल्लाको पालीमा म पञ्चायती व्यवस्थाको गाउँ फर्क अभियानको समयमा २०३२ सालतिर वडा सदस्य भएँ । २०३८ सालको स्थानीय निर्वाचनमा उपप्रधानपञ्चमा ३६ मतले पराजित भएँ । २०४३ सालको प्रधानपञ्चको निर्वाचनमा १७ मतले पराजित भएँ’, उनको पुस्तकमा उल्लेख छ, ‘२०४९ सालमा एमाले पार्टीबाट जितेर गाविस अध्यक्ष भएँ, २०५४ को निर्वाचनमा पनि विजय प्राप्त गरें ।’

२०४९ मा १ हजार ९४७ मतमध्ये मियाँको प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले २९२ र २०५४ सालको निर्वाचनमा १ हजार ९६४ मध्ये २९४ मत पाएको इतिहासले पनि मियाँको लोकप्रियतालाई देखाएको छ । २०५२ देखि २०७५ सालसम्म गाविस राष्ट्रिय महासङ्घको संस्थापक सदस्य भएर काम गरेका उनी । २०६५ साल जेठ १४ गते समानुपातिक सांसद भए । उनी १७ जना मुस्लिम सांसदको समन्वय समितिको अध्यक्ष पनि भए । उनले त्यस बेलाका आफ्ना असल अभ्यासहरूलाई पनि पुस्तकमा उतारेका छन् ।

मदन भण्डारीसँगको पहिलो भेटदेखि आफ्नो घर एमाले नेताहरूको लागि सेन्टर बनाएकोसम्मको विषय पुस्तकमा छुटेका छैनन् । २०६१ माघ १९ गते राजाले ‘कू’ गरेपछि एमाले पार्टी कार्यालय सुनसान भएको र आफ्नो घरलाई नेताहरूको भेटघाटको थलो बनाएको उनले बताएका छन् ।

अमृत बोहरा, वामदेव गौतम, युवराज ज्ञवालीलगायत सम्भव भएका नेताहरूको उपस्थितिमा मियाँकै घरमा केन्द्रीय समितिको बैठक बसेको थियो । बोहरा झन्डै दुई साता उनको घरमा बसे । गौतम पनि बेलाबेलामा आइरहेका हुन्थे । मियाँले समिको रुख घटना र गोली काण्डलाई सविस्तार वर्णन गरेका छन् ।

जिल्ला कमिटी सदस्य रामजी घिमिरे, इलाका सचिव जीवराज घिमिरे, इलाका सदस्य मोहन घिमिरे अपहरणमा परेपछि आफूहरू खोज्न गएको र त्यस क्रममा भिडन्त भएको प्रसङ्ग पनि पुस्तकमा छ । आफूहरूले भिडन्त जितेर अपहरण भएकाहरूलाई मुक्त गरेर गाउँमा नाराबाजी गर्दाको घटना उनले उतारेका छन् ।

२०४९ सालको स्थानीय तहको निर्वाचन हुँदा १२ दिन बाँकी हुँदा साहित्यकार मोदनाथ प्रश्रितको नेतृत्वमा नेताहरू प्रदीप ज्ञवाली, लक्ष्मण रायमाझीलगायतको टीममाथि ढुंगामुढा भएको थियो । उक्त घटना स्मरण गर्दै उनी लेख्छन्, ‘हाम्रा केही साथीलाई ढुङ्गा हानी रक्ताम्मे बनाइ घाइते भए, मेरो भाइ हाजी सहिदिन मियाँलाई घाइते अवस्थामा समातेर थप कुटपिट गरी मर्‍यो भनी फालिदिए ।’

२०४८ असार २३ गते सदरमुकामबाट रक्सी नियन्त्रण गर्ने बहानामा पुगेको टोलीले गाउँमा नजिर मियाँ र बसिर मियाँलाई दादा सम्बोधन गर्दै स्थानीयलाई कुटपिट गर्दै सोधीखोजी गरिरहेका थिए । बसिर मियाँ त्यहाँ पुग्नासाथ एक जना प्रहरीले पेटमै ताकेर गोली हाने । ‘बसिर मियाँले अइया भन्दै पेट समात्नुभयो । प्रहरीले अन्धाधुन्ध गोली चलाए । उनलाई मेरो नाम लिँदै कहाँ छ त्यो नजिर भन्दै रक्ताम्मे बनाए । घाइतेमध्ये राइफलको गोली सफर मियाँको छातीबाट वारपार भयो । सफरलाई माया मारी त्यही गाउँमै छाडियो, पाल्पा लैजाने क्रममा रिडी नजिकै एक्लीपिपलमा बसिर मियाँको निधन भयो’, उनले पुस्तकमा लेखेका छन्, ‘घटना घटाएर फर्किएका प्रहरीले बाटोमा खुसीको खबर भन्दै सुनाए, बसिरलाई सही निशाना लागेको छ, ऊ बाँच्दैन ।’

बसिर मियाँको हत्या हुँदा आफू त्यहाँ नभएकै कारण जोगिएको नजिर मियाँलाई लाग्छ । बसिर मियाँसँगको अन्तिम भेटलाई पनि पुस्तकमा स्थान दिएका छन् ।

मुस्लिम जागरण र अधिकारका लागि नजिर मियाँले निभाएको भूमिका र गरेको योगदानले पुस्तकमा राम्रो स्थान पाएको छ । संविधानसभाभित्रको उनको लडाइँ अधिकार प्राप्ति नहुँदासम्म रोकिएन ।

‘नेपालका मुस्लिम समुदाय आफ्नो पहिचान हक, अधिकार र परिवर्तनको लागि नेपालका हरेक अग्रगामी आन्दोलनमा सक्रिय सहभागी भई सहादत प्राप्तिका साथै अङ्गभङ्ग र अनगिन्ती घाइते भएका छन्, आन्दोलन सफल भएपछि संविधान लेख्ने बेला नियतवस मुस्लिम समुदायलाई बेवास्ता गरी पाखा लगाउने काम बारम्बार भएको छ । यसको प्रमाणको लागि धेरै टाढा जानुपर्दैन, अन्तरिम संविधान हेरे पुग्छ’, संविधानसभाभित्रको लडाइँ उपशीर्षकमा उनले व्याख्या गरेका छन् ।

लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षतालाई संविधानमा संस्थागत गर्ने, मुस्लिम धर्म होइन, मुस्किल समुदाय हो भन्ने प्रस्ट पार्ने, संवैधानिक मुस्लिम आयोगको व्यवस्थाको माग गर्ने, मुस्लिम समुदायको पहिचानसहित अधिकार सम्पन्न संविधान निर्माणमा पहल गर्ने यी र यस्ता मुद्दाहरुमा उनी सधैं अग्रमोर्चामा देखिए । निरन्तरको दबाब र सङ्घर्षकै कारण नेपालको संविधानमा मुस्लिम समुदायसहित पछाडि पारिएका समुदायहरूको अधिकार स्थापित भएको आभास गरेको कुरा पनि पुस्तकमा उल्लेख छ ।

आफ्नो आत्मवृत्तान्तमा उनले लेखेको यात्रा, अनुभव र सिकाइ अरूका लागि पनि एउटा सिकाइ र प्रेरणा बन्नसक्छ । उनले पुस्तकमा बङ्गलादेशमा शेख हसिनासँग भएको भेट र उनीसँग भएको संवादको विषयमा पनि उतारेका छन् । पुस्तकमा सबैले सहज र सरल ढंगले बुझ्ने गरी भ्रष्टाचारको व्याख्या गरेका छन् । उनले भ्रष्टाचारलाई तीन तरिकाले विभाजन गरेका छन् ।

जीवनमै सबैभन्दा खुसी भएको क्षण, समुदाय र धर्मबीचको अन्तर, नेपालमा मुस्लिम समुदायले प्रस्ट पार्नुपर्ने विषय पनि पुस्तकमा रहेको छ । उनले पटकपटक मुस्लिम धर्म नभई समुदाय भएको विषयलाई उल्लेख गरेका छन् । ‘मुस्लिम भनेको धर्म होइन, समुदाय हो । मुस्लिमको धर्म भनेको त इस्लाम हो’, २०६५ सालमा पहिलो पटक संसदमा उनले आवाज उठाएका थिए ।

संविधानसभा मुस्लिम सभासद समन्वय समिति गठन, सरकारसँगको पाँच बुँदे सम्झौता, सरकारी वार्ता टोली र मुस्लिम दबाब समितिबीच भएको सहमति, समग्र मुस्लिम समुदायको तर्फबाट प्रस्तुत गरिएको साझा मागपत्र, राष्ट्रिय मुस्लिम मञ्चका घोषणापत्रहरू पनि पुस्तकमा बुँदागत रुपमा रहेका छन् । उनले नेपाली मुस्लिम समुदाय आयातित नभएर आदिवासी भएको पनि पुस्तकमा बताएका छन् ।

२०६० साल चैत २२ गते काठमाडौं वीर अस्पताल अगाडि मियाँलाई प्रहरीको पाँच गोली लागेको थियो । उनको छातीमा २, पेटमा १ र दायाँ हातमा २ गोली लागेको थियो । पाँच गोली लागेर पनि जोगिएका मियाँलाई अहिले समाज परिवर्तनकै लागि ज्यान बक्सिस पाए झैं लाग्छ । आत्मवृत्तान्तमा घाइते अवस्थाको उनी र रक्ताम्मे उनको पोशाक देखिन्छ ।

कालो दिन भाद्र २०६१ मा उनले इराकमा १२ जना नेपालीको हत्यापछि नेपालमा भएको आन्दोलन र उक्त आन्दोलनले पारेको प्रभावलाई लेखेका छन् । उनको आत्मवृत्तान्त एउटा आममान्छेको लागि प्रेरणा र एउटा नेतृत्वको लागि आममान्छेको जीवन बुझाउन सफल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *