के तीज भड्किलो हुँदै गइरहेको हो ?
चिया पसलमा मान्छेहरू गफगाफ गर्दा होस्, सार्वजनिक स्थलहरूमा मान्छेहरूको जमघट हुँदा होस्, गाडीमा यात्रा गर्दा, घरपरिवारमा सामान्य वार्तालाप हुँदा सबै मानिसहरूको मुखबाट सुन्दै आएको तर्क हो ‘तीज एकदम भड्किलो हुँदै गइरहेको छ, संस्कृतिको नाममा विकृति आयो, आइमाईहरूले अति गरे ! यस्ता अनगिन्ती अभिव्यक्ति, बहस तथा छलफल आजभोलि दिनानुदिन सुनिन्छन् । झन् सामाजिक सञ्जालमा त यति धेरै मानिसहरूको तर्कबितर्क भएको देखिन्छ- तीजका गीत तथा महिलाले गरेको रमाइलोलाई लिएर । कतिपयले सकारात्मक ढङ्गले आलोचना गर्छन् भने कतिपयले महिलाहरूको अस्मितासँग जोडेर नानाभाँती भन्न हुने नहुने गालीगलौज पनि पोख्ने गरेको पाइन्छ । के साँच्चै तीज भड्किलो भइरहेको हो त ?
नेपाल एउटा विविधताले भरिएको बहुसांस्कृतिक मुलुक हो । नेपालमा परापूर्वकालदेखि नै विभिन्न किसिमका चाडपर्व, रीतिरिवाज, चालचलन तथा संस्कार-संस्कृति मनाउँदै आएको पाइन्छ । हरेक रीतिरिवाज तथा चाडपर्वको आफ्नै खालका महत्त्व छन् । हरेक चाडपर्वका सकारात्मक र नकारात्मक पक्ष त पक्कै पनि छन् । नेपालीहरूले मनाउँदै आएका विभिन्न किसिमका चाडपर्वमध्ये महिलाहरूको लागि एउटा महत्त्वपूर्ण लिइएको चाड हो- हरितालिका तीज । हरितालिका तीजलाई धार्मिक तथा सांस्कृतिक हिसाबले विभिन्न तरिकाले व्याख्या तथा विश्लेषण गरेको पाइन्छ । तीजलाई कतिपयले राम्रो जीवनसाथी पाउन मनाउने भन्ने गरिन्छ भने कतिपयले आफ्नो श्रीमान तथा जीवनसाथीको लागि व्रत बसेर श्रीमानको प्रार्थना गर्ने रूपमा लिइन्छ । कतिपय ठाउँमा महिला सशक्तीकरणको एउटा पर्व हो भनेर पनि लिने गरेको पाइन्छ । कतिपय अवस्थामा तीजलाई महिलाहरूलाई दमन गर्ने भनेर पनि व्याख्या गरेको नपाइएको होइन । व्याख्या विश्लेषण आआफ्नै ठाउँमा छन् । यसलाई यही हो भनेर ठोकुवा गर्न तथा यो विश्लेषण सही अथवा गलत भन्न मिल्दैन । यति कुरा भन्न सकिन्छ, तीज महिलाहरूको लागि रमाउने तथा जमघट हुने पर्व भने पक्कै पनि हो । समयको परिवर्तनसँगै विज्ञान र प्रविधिको विकासले फड्को मारेसँगै तीज मनाउने परिपाटीमा पनि परिवर्तन आइरहेको छ ।
तीजका गीतहरूलाई लिएर धेरै किसिमका बहस भइरहेका छन् । विभिन्न खालका दोहोरो अर्थ लाग्ने तथा घरपरिवारसँग बसेर सुन्न तथा हेर्न नसकिने गीतहरू आए भनेर धेरै मानिसले विरोध गरिरहेका छन् । एक जना भाइले अहिले आइरहेका तीज गीतलाई लिएर व्यंग्यात्मक ढङ्गले एउटा भिडियो पोस्ट गरेका थिए । उनले भिडिओमा आफ्नो घरको झ्यालढोका तथा पर्दा बन्द गरेर टीभीमा तीज गीत बजाइरहने र घरमा कोही आएको थाहा पाएपछि हत्त न पत्त टीभी बन्द गरेर बाहिर निस्केको अभिनय गरेर भिडियो बनाएका थिए । उनको भिडिओको सन्देश थियो- तीज गीतहरु भड्किला भए । यसरी उनले भिडिओ बनाएपछि अरु पनि सञ्जालमा धेरै कन्टेन्टहरु बनाएर अहिलेका तीज गीतहरुलाई विरोध गरिएको पाइयो । कतिपयले सकारात्मक तवरले विरोध गरेको पाइन्छ । कतिपयले नकारात्मक तवरले विरोध गरेको देखिन्छ । जसले जसरी विरोध गरे पनि सबैको आशय हो- अहिले बजारमा आइरहेका तीज गीतहरू मानिसहरूले अपेक्षा गरिएभन्दा बिल्कुल फरक छन् ।
परिवर्तन अपरिहार्य छ । फेरि मैले यो भन्न खोजेको होइन, विकृति र विसङ्गतिलाई आत्मसात गर्नुपर्छ । परिवर्तनको नाममा जे पायो, त्यही गर्ने छुट छैन । राज्य तथा सम्बद्ध निकायले नकारात्मक चालचलन तथा गतिविधिहरुको निराकरण अवश्य पनि गर्नुपर्छ ।
तीजका गीतहरु केही हदसम्म भड्किला नभएका भने होइनन् । कसैले कसैसँग पोइला जान पाम तथा नामै तोकेर फलानो जस्तो व्यक्ति पाएँ भने अहिले पोइला गइदिन्छु भनेर तीज गीतहरू आए । कसैले दोहोरो अर्थ लाग्ने गरेर पनि तीज गीतहरू निकाले । त्यसको विवाद भएसँगै ती गीतहरूका निर्माताहरुलाई भने फाइदा भयो । जब गीतहरू विवादित हुन्छन्, तब धेरै व्यक्तिहरूले खोजीखोजी हेरिदिन्छन् र भ्यूज ह्वात्तै बढाइदिन्छन् । यस्तो प्रवृत्तिबाट केही व्यक्तिहरुलाई त लाभ हुने नै भयो । योबाट के देखिन्छ भने हामीले नकारात्मक सन्देश दिने विषयवस्तुहरूलाई बढी बढावा दिइरहेका छौं । यदि उनीहरूलाई बेवास्ता गरिदिने हो भने उनीहरुले त्यस्तो गीतहरू ल्याउन छोड्थे । यो सब चेतनाको स्तर, हामीले निर्माण गरिरहेको समाज तथा हामी के कुरालाई बढी बढावा दिन्छौं भन्नेसँग अर्थ राख्छ । गीत बनाउने सर्जक तथा गायकगायिकाहरू सचेत भएर आफूले के सन्देश दिन लागिरहेको सोच्नुपर्छ । खोज अनुसन्धान गरेर बजारमा आउनुभन्दा अगाडि तथा आइसकेपछि बिक्री वितरणमा रोक लगाउने कार्य सम्बन्धित निकायको हो, तर अहिलेको समयमा समस्या कहाँनेर देखिन्छ भने नराम्रा विषयवस्तुलाई बढी ध्यान दिइएको तथा चर्चामा ल्याइएको पाइन्छ । केही व्यक्तिहरूले राम्रा गीत संगीतहरु पनि पस्केका छन्, तर विडम्बना तिनीहरूले खासै चर्चा, परिचर्चा पाइरहेका हुँदैनन् । नकारात्मक सन्देश प्रदान गर्ने जुनसुकै विषयवस्तु तथा व्यक्तिलाई निरुत्साहित गर्ने र सन्देशमूलक गीतसंगीतलाई प्रोत्साहन गर्नुपर्छ । यो सम्बन्धित निकाय तथा सामान्य नागरिकको पनि दायित्व हो ।
धेरै वर्ष अगाडि गाइएका तीजका गीतहरु अहिलेसम्म पनि तीजका कार्यक्रमहरुमा बजाइन्छन् र ती गीतहरूलाई सदाबहार गीतका रूपमा लिइन्छ । पुरानो जमाना, अहिले जस्तो प्रविधिको विकास नभएको समय तथा सीमित स्रोतसाधनमा बनेका गीतहरुले मायाप्रेम तथा दिदीबहिनीहरुका दुःख-सुख, सम्बन्ध तथा जीवनका भोगाइ, अनुभवहरुलाई सशक्त ढङ्गले गीतमा व्यक्त गरेको पाइन्छ, तर पहिला जस्तो थियो अहिले पनि ठ्याक्कै त्यस्तै हुनुपर्छ भनेर भन्न चाहिँ मिल्दैन । जसरी समय, हाम्रो राजनैतिक तथा भौगोलिक अवस्था परिवर्तन भइरहेको छ, त्यसरी नै गीतसंगीत तथा चाडबाड मनाउने तरिकामा पनि परिवर्तन भइरहेको छ । परिवर्तन अपरिहार्य छ । फेरि मैले यो भन्न खोजेको होइन, विकृति र विसङ्गतिलाई आत्मसात गर्नुपर्छ । परिवर्तनको नाममा जे पायो, त्यही गर्ने छुट छैन । राज्य तथा सम्बद्ध निकायले नकारात्मक चालचलन तथा गतिविधिहरुको निराकरण अवश्य पनि गर्नुपर्छ ।
महिलाहरु जम्मा भएर, नाचगान गरेर दर खाएको विषयलाई पनि गलत ढङ्गले हेरेको पाइन्छ । महिलाहरू जम्मा भएर आफूलाई मन परेको पहिरन पहिरिएर, सजिएर नाच्नु, गाउनु तथा खुसी हुनुलाई धेरै नकारात्मक ढङ्गले बुझ्नु आवश्यक देखिँदैन । आफ्ना आफन्तजन र साथीभाइसँग भेटघाट गर्ने, जम्मा हुने र खुसी साटासाट गर्ने हो भने त्यसको विरोध गर्नुको कुनै तुक छैन, तर सबै ठाउँमा एउटै भने देखिँदैन । कतैतिर रमाइलो र भेटघाटभन्दा पनि देखासिखी र अनावश्यक तडकभडक गरेको पनि पाइन्छ । कतिपय महिलाले स्वतन्त्रता र सशक्तीकरणको नाममा भद्दा तरिकाले तीज मनाएको पाइन्छ । दर खाने बहानामा अपाच्य तरिकाले क्रियाकलाप देखाएको, फजुल खर्च गरेको पनि पाइन्छ, तर कसैले गर्यो भन्दैमा सबैलाई एउटै टोकरीभित्र राखेर तुलना गर्न तथा व्याख्या गर्न त्यति उचित देखिँदैन ।
महिलाहरु जम्मा भएर, नाचगान गरेर दर खाएको विषयलाई पनि गलत ढङ्गले हेरेको पाइन्छ । महिलाहरू जम्मा भएर आफूलाई मन परेको पहिरन पहिरिएर, सजिएर नाच्नु, गाउनु तथा खुसी हुनुलाई धेरै नकारात्मक ढङ्गले बुझ्नु आवश्यक देखिँदैन । आफ्ना आफन्तजन र साथीभाइसँग भेटघाट गर्ने, जम्मा हुने र खुसी साटासाट गर्ने हो भने त्यसको विरोध गर्नुको कुनै तुक छैन
प्राचीनकालका तथा पुराना कथाहरू पढ्दा र पहिलाका पुस्ताहरुले व्यक्त गरेका अनुभवहरू सुन्दा महिलाहरूलाई निकै गाह्रो थियो । उनीहरूको भावनालाई कमै मानिसहरूले सुनिदिन्थे । सासूको खटन र बुहारी हुनुको नाममा महिलाहरू दबिएका थिए । सामाजिक संरचना तथा मानिसहरूको महिलाप्रतिको बुझाइले कतिपय समाजमा महिलाहरूका आवाजहरुलाई दबाइएका थिए । महिलाहरूको मानसिक स्वास्थ्यलाई बेवास्ता गरिएको पाइन्छ । धेरै हदसम्म तीजलाई लिएर महिलाहरूलाई अप्ठेरो अवस्था पनि परेको थियो । महिलाहरूको मानसिक तथा शारीरिक अवस्था जस्तोसुकै होस्, उनीहरुले पानी पनि नखाइकन निर्जला व्रत बस्नुपर्थ्यो । पानीसमेत नखाइकन व्रत बस्नु पर्दा कतिपय अवस्थामा महिलाहरुको रक्तचाप कम हुने तथा शरीरले धान्न नसकेका कारण ढल्थे । यति हुँदाहुँदै पनि उनीहरु व्रत बस्न छोड्दैनथे । यस्तो कुरा सुन्दा भने मनै जिरिङ्ग हुन्छ, तर आजभोलि त्यस्तो गर्नैपर्ने अवस्था छैन । आफ्नो स्वास्थ्य अवस्था र परिस्थितिअनुसार व्रत बस्ने तथा नबस्ने रोजाइ छ । कतिपय महिला व्रत बस्छन् र कतिपय बस्दैनन् पनि । तसर्थ पहिलाकै व्यवस्था ठीक थियो, मनाउने चलन ठीक थियो भन्नु सान्दर्भिक पक्कै देखिँदैन । किनकि विगतका दिनहरुमा महिलाहरू कष्टपूर्ण तवरले सकी नसकी व्रत बस्थे । आज धेरै स्वतन्त्रता छ ।
विस्तारैविस्तारै देशको राजनीतिक व्यवस्था तथा अन्य कुरामा आएको परिवर्तनसँगै महिलाहरू पनि अगाडि बढ्न थाले । महिलाहरूले पनि स्वतन्त्रताको आभास लिन थाले । महिलाहरूको पनि निर्णायक तहमा केही हदसम्म भूमिका बढ्दै गयो । आजभोलिको समयमा आएर हेर्दा महिलाहरू अगाडि बढिरहेका छन् । यो सब कारणले गर्दाखेरि पनि तीज मनाउने परिपाटीमा परिवर्तन अवश्य आएको हो । तसर्थ धेरै नकारात्मक टीकाटिप्पणी गर्न आवश्यक छैन ।
पहिला विवाहित महिलाले मात्र व्रत बस्नुपर्छ भन्ने मान्यता प्रचलित थियो । आजभोलि अविवाहित महिलाहरु पनि हाँसीखुशी व्रत बस्ने गर्छन् । कतिपयले विज्ञानसँग जोडेर पनि व्याख्या गर्छन् । एक दिन खाली पेट राख्नु स्वास्थ्यको लागि एकदमै राम्रो हुन्छ भनेर भन्ने गरेको पाइन्छ । स्कुल, कलेज, विश्वविद्यालयमा अध्ययन गर्ने युवतीहरुले पनि रातो-हरियो लुगामा सजिएर खुशी साथ ब्रत राखेर तीज मनाएको पाइन्छ । अनि अर्को कुरा भने अहिलेको समयमा कतिपय पुरुषहरू पनि व्रत बसेर तीज मनाउनमा महिलाहरूलाई साथ दिएको पाइन्छ । यो सब समयअनुसारको परिवर्तन हो ।
पहिले माइती पक्षले मात्र आफ्ना दिदीबहिनी तथा छोरीचेलीलाई दर खुवाउने प्रचलन थियो, तर आजभोलि जोकोहीले जताततै दर कार्यक्रम राखेको पाइन्छ । कार्यालयमा पुरुष कर्मचारीहरुले महिला कर्मचारीहरुको लागि तीजको दर कार्यक्रम आयोजना गरेर खानपानको व्यवस्था गरेको पाइन्छ । छरछिमेकमा पनि एक-अर्काले दरको कार्यक्रम राखेर, जम्मा भएर रमाइलो गरेको पाइन्छ । हुँदाहुँदा नेपाल बाहिर विभिन्न देशमा बस्ने नेपालीहरुले पनि तीज मनाइएको देखिन्छ । नेपालबाट गायकगायिका तथा ख्यातिप्राप्त व्यक्तिहरू विदेशमा गएर तीज कार्यक्रम गरेको देखिन्छ । यो परिवर्तन हो । यसलाई पनि बढी तडकभडक भयो भनेर विश्लेषण गरेको पनि देखिन्छ । मानिसहरु रमाउनु तथा खुसी हुनु राम्रो कुरा हो । यो गलत हैन ।
सासूको खटन र बुहारी हुनुको नाममा महिलाहरू दबिएका थिए । सामाजिक संरचना तथा मानिसहरूको महिलाप्रतिको बुझाइले कतिपय समाजमा महिलाहरूका आवाजहरुलाई दबाइएका थिए । महिलाहरूको मानसिक स्वास्थ्यलाई बेवास्ता गरिएको पाइन्छ । धेरै हदसम्म तीजलाई लिएर महिलाहरूलाई अप्ठेरो अवस्था पनि परेको थियो ।
केही हप्ता अगाडि एउटा भिडिओमा एक जना अभियन्ताले तीजमा निकै व्यापारीहरूले व्यापार गरे भनेर विरोध गरेको पाइयो, तर मैले नबुझेको कुरा यसमा के खराबी छ ? व्यापार गर्नु भनेको आर्थिक विकास हुनु होइन र ? कतिपय पसलहरुमा तीजको लागि विशेष अवसर भनेर लुगाहरु बनाउने तथा बेच्ने गरेको पाइन्छ । सारी, कुर्ता-सुरुवाल तथा अन्य सामग्रीहरु बिक्री वितरण हुनु भनेको राम्रो कुरा हो । हरेक विषयमा हामीले अनावश्यक टिप्पणी गर्नुपर्छ भन्ने जरुरी छैन । मान्छेलाई अप्ठेरो नपरोस्, गाह्रो नहोस्, तर राम्रो भइरहेको छ भने त्यसलाई हौसला बढाउनुपर्छ, विरोध गर्नुभन्दा । अधिकांश कपडा व्यवसायीहरुको लागि त तीज एउटा ठूलो उत्सव हुने गर्छ, तर सबैले देखासिखी गर्नुपर्छ भन्ने छैन । आफ्नो हैसियतअनुसार, क्षमताअनुसार, आयआर्जनअनुसार मानिसहरूले सामनहरु किन्ने तथा उपभोग गर्ने हो ।
तीजलाई दिदीबहिनीहरू एकापसमा जम्मा हुने, भेटघाट गर्ने आफ्ना दुःखसुख साटासाट गर्ने, माया व्यक्त गर्ने चाडको रुपमा मनाउन सकिन्छ । टाढाटाढाबाट पनि दिदीबहिनीहरू एकापसमा जम्मा हुने, भेटघाट गर्ने एउटा राम्रो मौका हो तीज । महिलाहरूले आफूलाई ऊर्जाशील बनाएर माया गर्न सक्छन्, तर यसलाई सशक्तीकरण नै हो भनेर ठोकुवा गर्न चाहिं उचित ठानिँदैन । तीज मनाउनु नमनाउनु र तीजमा व्रत बस्नु नबस्नु त्यो भने हरेक महिलाको नितान्त व्यक्तिगत रोजाइ हो । व्रत बस्नुपर्छ, बस्नु पर्दैन भने त्यस्तो कुनै कडा नियम छैन । आफ्नो स्वास्थ्य अवस्था हेरेर महिलाहरू स्वतन्त्र रुपले तीज पर्वलाई मनाउन सक्छन् ।
समयको परिवर्तनसँगै हरेक कुरा परिवर्तन हुन्छ र परिवर्तनलाई आत्मसात गर्नुपर्छ । सय वर्ष अगाडि जे थियो, ५० वर्षमा निकै परिवर्तन आयो । आजभन्दा ५० वर्ष अगाडि जे थियो, आज त्यो छैन र अहिलेको समयमा जे भइरहेको छ, त्यो आजभन्दा केही वर्ष पछाडि नहुन सक्छ । तसर्थ हरेक कुरा परिवर्तनशील हुन्छ । नराम्रा गतिविधि चाहे ती गीत संगीतमा हुन्, फिल्मी क्षेत्रमा हुन् तथा जुनसुकै क्षेत्रमा हुन्, तिनको विरोध गर्नुपर्छ सकारात्मक तवरले ।
तीजलाई विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ । कुनै पनि कुरा ध्रुवसत्य हो भन्न सकिँदैन र भन्न मिल्दैन पनि । पहिलाको समयको सब चिज राम्रो र अहिले केही पनि नराम्रो भन्नु सान्दर्भिक होइन । पहिलाको समयमा राम्रा चिजहरू थिए, नराम्रा चिजहरु पनि थिए । अहिलेको परिवर्तनशील समयमा राम्रा परिपाटीहरु पनि छन्, नराम्रा प्रवृत्तिहरु पनि आइरहेका छन् । नराम्रा प्रवृत्तिहरू तथा विकृति तथा विसंगतिहरुलाई अनुगमन गर्ने, मूल्याङ्कन गर्ने र त्यसको समाधान गर्ने निकायहरु पनि पक्कै छन् । तसर्थ नराम्रा क्रियाकलापहरु, नक्कली सन्देश प्रवाह गर्ने विषयवस्तुहरू तथा भड्किला र अरुलाई उक्साउने अप्ठ्यारो पार्ने गीत संगीत तथा अन्य कुराहरूको अन्त्य हुनुपर्छ । केही प्रतिशत नराम्रा विषयवस्तुलाई लिएर सिंगै समाजलाई एउटै टोकरीभित्र राख्न मिल्दैन । संयमित भएर, आफ्नो अवस्थाअनुसार चाडपर्वहरु मनाउँदा राम्रो हुन्छ ।