कन्ट्री रेटिङको लागि फिचका टोली नेपाल आउने – Nepal Press

कन्ट्री रेटिङको लागि फिचका टोली नेपाल आउने

एउटै खालको उत्तर दिन अर्थमन्त्रालय मातहतका निकायका अधिकारीलाई तालिम दिन सुरु

काटमाडौ । नेपालको साख मुल्यांकनको (कन्ट्री रेटिङ) लागि अर्थमन्त्रालय तथा मातहतका निकायलाई व्यापक तयारी गराइएको छ ।

नेपालको साख मूल्यांकन (कन्ट्री रेटिङ)का लागि यही भदौको अन्त्यतिर अमेरिकी क्रेडिट रेटिङ कम्पनी फिच रेटिङका प्रतिनिधिहरु नेपाल आउने तयारी गरेका छन् ।

नेपालले लामो समयदेखि कन्ट्री रेटिङ गरिनेछ भन्ने विषयलाई वार्षिक बजेटमा प्राथमिकताका साथ सम्बोधन गर्दै आएको छ । तर प्रक्रिया अघि बढाउन सकेको थिएन । यसपटक भने प्रक्रिया अघि बढाउन लागेको हो ।

अमेरिकी क्रेडिट रेटिङ कम्पनी फिच रेटिङले नेपालको क्रेडिट रेटिङ गर्न सुरु गर्नेछ । फिचका प्रतिनिधि नेपाल आएको ३ महिनाको अवधिमा क्रेडिट रेटिङ प्रतिवेदन बुझाउने बताइएको छ ।

कन्ट्री रेटिङका लागि फिचले आफ्नै फरम्याटमा विभिन्न खालका प्रश्नहरु गर्नेछ । सो प्रश्नको उत्तर सबै निकायबाट एकै खालको आए रेटिङ राम्रो हुने विश्वास नेपालले लिएको छ । अर्थमन्त्रालयका अधिकारीहरु त्यसैको तयारीका लागि अहिले अर्थमन्त्रालयका कर्मचारी, नेपाल राष्ट्र बैंकका कर्मचारी, नेपाल धितोपत्र बोर्ड, बिमा प्राधिकरण तथा राष्ट्रिय यमेजना आयोगका कर्मचारीहरुलाई तालिम दिइरहेको बताउँछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन मन्त्रालयका कर्मचारी समेतलाई नेपालको विषयमा कसरी उत्तर दिने भन्ने अभ्यास अर्थमन्त्रालयमा भइरहेको अर्थकै अधिकारीहरुले जनाएका छन् ।

कुनै मुलुकको ऋण योग्यता तथा लगानीको वातावरणको स्वतन्त्र मूल्यांकनका लागि सार्वभौम क्रेडिट रेटिङ गरिन्छ । क्रेडिट रेटिङ एजेन्सीहरुले विभिन्न मापदण्डका आधारमा यस्तो मूल्यांकन गर्ने गरेका छन् । विश्वमा देशको क्रेडिड रेटिङ गर्ने तीन ठूला कम्पनीमध्येको एउटा फिच रेटिङ्स पनि हो ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा मुलुकको क्रेडिट रेटिङ गराउने विषयलाई स्थान दिएका थिए । उनैले त्यसबेला नेपालको कन्ट्री रेटिङ गराउने प्रक्रिया पनि सुरु गरेका थिए । त्यसबेला नै ठूला ती रेटिङ एजेन्सीबीच प्रतिस्पर्धा गराएर फिचलाई छानिएको थियो ।

कुनै देशको अनुरोधमा क्रेडिट रेटिङ एजेन्सीले उक्त मुलुकको आर्थिक तथा राजनीतिक वातावरणको स्वतन्त्र मूल्यांकन गर्छ र त्यसलाई रेटिङ प्रदान गर्छ । यस्तै विदेशी लगानीकर्ताहरुले कुनै मुलुकमा लगानी गर्दा कतिको सुरक्षित छ भनेर मूल्यांकन गर्न त्यो मुलुकको कन्ट्री रेटिङलाई हेरिदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *