सत्ताबाट लखेटिएको माओवादीलाई सडक आन्दोलनको भोक कि प्रचण्डको झोक ? – Nepal Press

सत्ताबाट लखेटिएको माओवादीलाई सडक आन्दोलनको भोक कि प्रचण्डको झोक ?

काठमाडौं । ९ वर्ष सरकारमा बसेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रतिपक्षमा हुत्तिएका छन् । कांग्रेस-एमाले मिलेपछि सत्ताबाट बाहिरिएका प्रचण्ड अहिले पार्टीभित्रै पनि मोर्चाबन्दीमा फसेका छन् ।

पार्टीभित्र औपचारिकरूपमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको लिखित प्रस्ताव अघि सारेपछि प्रचण्ड अप्ठ्यारोमा छन् । अहिले केन्द्रीय कमिटीको बैठकलाई पेस गर्ने दस्तावेज तयार गर्नको लागि प्रदेशस्तरिय परामर्श समितिको बैठकमा हिँडिरहेका छन् ।

उनले उपमहासचिव शर्माले अघि सारेको प्रस्तावलाई पनि दस्तावेजमा समेट्ने बचन दिएपछि तत्काललाई पार्टीभित्र युद्धविराम भएको छ । शर्माको प्रस्तावमा अर्का उपमहासचिव वर्षमान पुनले अघोषित रूपमा सघाएका छन् । त्यसअघि नै हरिबोल गजुरेलले शर्माझै प्रस्ताव अघि सारिसकेका थिए ।

जनार्दनलाई विश्वासमा लिनकै लागि प्रचण्डले एउटै सर्कुलर उनको विषयलाई मात्रै बोल्ड गरेर फेरि पठाउने तहमा ओर्लिसकेका छन् । त्यसो त आफू अप्ठ्यारोमा हुँदा प्रचण्डले सडक आन्दोलन र मोर्चाबन्दीको कुरा गर्नु नौलो होइन ।

प्रधानमन्त्रीको कुर्सीमा हुँदा पनि सडक आन्दोलनको कुरा गर्ने प्रचण्ड अहिले पनि भाषणैपिच्छे आन्दोलनको कुरा छुटाउँदैनन् । अहिले सरकारबाट बाहिरिएपछि जुनसुकै बेलामा सडक आन्दोलन हुनसक्ने भएकाले नेता कार्यकर्तालाई तयार भएर बस्न निर्देशन दिएका छन् ।

हालै प्रचण्ड र महासचिव देव गुरुङले पठाएको सर्कुलरमा भनिएको छ, ‘सदनमा खबरदारीका बाबजुद पनि प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार झन्झन् अगाडि बढेमा कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने आवश्यकतालाई पनि ध्यानमा राख्नुपर्ने देखिन्छ ।’

त्यसो त हिजो बसेको एमाले पोलिटब्युरो बैठकमा ब्रिफिङ गर्दै प्रधानमन्त्री केपी ओलीले प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा लागिरहेको बताएका थिए । तर, उनले त्यो सफल हुन नदिने भन्दै एक्कासी सरकारबाट बाहिरिनुपर्दाको पीडा पोख्दै हिँडेको जिकिर गरेका थिए ।

माओवादीले दुई दलबीचको सात बुँदे सहमति पश्चगामी र प्रतिगामी कदम रहेको भन्दै प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षण, जनताका दैनिक समस्याहरू आदि विषयलाई लिएर सदनमा प्रतिपक्षमा रहेर सशक्त ढंगले भूमिका निर्वाह गर्ने बताउँदै आइरहेको छ ।

भ्रष्टाचार नियन्त्रण, लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने प्रयास भइरहेको भन्दै त्यसका विरुद्ध सदन र सडक संघर्षलाई चर्काउने तयारी भइरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनले भने, ‘भ्रष्टाचारका फाइल बन्द भइराखेका छन । लोकतन्त्रको पक्षमा पनि दुई दलीय यो सरकार त्यति इमान्दार देखिएन । अब यो जनजीविकाको सवालमा पनि अब त्यति इमान्दार र गम्भीर देखिएन । त्यसकारण यी तीनवटै पक्षमा जनताका असन्तुष्टिहरू बढ्दैछन् । सरकारप्रति त मैले भनिरहनु पर्दैन विभिन्न कार्यक्रमहरूमा प्रधानमन्त्री तथा सत्ता साझेदारहरूको नेताका विरुद्ध जनमत उर्लिन थालेको छ ।’

जनताको अधिकार खोस्ने चेष्टा भइरहेको भन्दै त्यसविरुद्ध जमेर प्रतिवाद गर्ने बताए । उनले थपे, ‘सदनमा पनि प्रतिवाद गर्छौं । र, सडकमा पनि हामी प्रतिवाद गर्छौं । अहिले त्यसको तयारी हामीले गरिरहेका छौं ।’

सचिव गणेश साहले पार्टी कार्यकर्ताहरूलाई पूर्णरूपमा परिचालन गर्नको लागि सडक आन्दोलनको कुरा गरेको बताए ।

उनले भने, ‘अहिलेसम्म कार्यकर्ताहरु के कति छन् भन्ने यकिन छैन । जनपरिचालन गर्दा सरकारलाई दबाब सिर्जना गर्ने उद्देश्यले भनेका हुन् । सडक आन्दोलनको पहिलाको जस्तो प्रभावकारिता त हुँदैन । सडक आन्दोलन त अहिले पनि विभिन्न माग राखेर सबैले गरिरहेकै हुन्छन् । लोकतन्त्रमा सडक आन्दोलनमा महत्व कम भएकै छ ।’

सरकारविरुद्ध सडक आन्दोलन हुँदा पार्टीका कार्यकर्ताको पहिचान हुने उनले बताए ।

उनले थपे, ‘सडकमा आएपछि खाटी कार्यकर्ता हुन्छन् । नभए गाउँमा एउटा पार्टीको, सडकमा पुग्दा अर्को पार्टीका हुने पनि धेरै हुन्छन् । कार्यकर्ता पहिचान पनि हुन्छन् । जनप्रर्दशनपछि सरकारमाथि पनि दबाब बढ्छ भन्ने उद्देश्य हो ।’

तर, तत्काल सडक आन्दोलनको सम्भावना देख्दैनन् साह ।

उनी भन्छन्, ‘अहिले त हामी पार्टीको बैठकमा व्यस्त छौं । पार्टीलाई नयाँ ढंगबाट अगाडि लैजानुपर्छ । अध्यक्षले कार्यकर्तालाई जुनसुकै बेलामा पर्नसक्छ भनेर मानसिकरूपमा तयार राख्नको लागि भन्नुभएको बुझिन्छ ।’

राजनीतिक विश्लेषक चन्द्रकिशोरले पार्टीभित्र निष्प्रभावी बन्दै गएपछि प्रचण्डले सडक आन्दोलनको कुरा गरेको बताए ।

उनले भने, ‘प्रचण्डजी अहिले आफ्नै दलभित्र र बाहिरको राजनीतिमा पनि निष्प्रभावी देखिनुभएको छ । आफ्नो सान्दर्भिकता जोगाइराख्नको उहाँले बाहिर पनि अराजताको राजनीतिको बारेमा व्याख्या गर्नुहुन्छ, भित्र पनि म नै केन्द्र हो, म नै शक्ति हो भनेर स्थापित गर्न खोज्दै हुनुहुन्छ । त्यसका लागि दलभित्रको राजनीतिक र आफ्नो सान्दर्भिकता जोगाइराख्नको लागि सडकको बाटो देखाउँदै हुनुहुन्छ ।’

दलभित्रै सान्दर्भिकता समाप्त भए फेरि सत्तामा फर्किन सकिँदैन भन्नेमा प्रचण्ड सचेत देखिएको उनले सुनाए ।

उनले थपे, ‘राष्ट्रिय राजनीतिमा पनि उहाँले आफ्नो सान्दर्भिकता जोगाइराख्नु भएन भने दलभित्र पनि जोगिनुहुन्न । यो एकअर्कासँग जोडिएको छ। त्यसैले अहिले उहाँले म सरकारमा जान्छु भन्न त मिलेन । तर, सडकमा जान्छु त भन्न मिल्यो नि !’

सरकारलाई दबाब बढाउन र भ्रष्टाचारविरुद्ध सडक चर्काउने कुरा गरेपनि जनताले कतिको पत्याउँछन् भन्नेमा निर्भर हुने उनको बुझाइ छ ।

उनले भने, ‘उहाँले त भ्रष्टाचारविरुद्ध भन्नुहुन्छ । जनताले कतिको पत्याउँछन् भन्नेमा भर पर्छ । त्यसले कतिको राजनीतिक पराकम्पन ल्याउँछ त्यो कुरा देख्नुपर्छ । तर, यस्ता गतिविधिले लोकतान्त्रिक उपलब्धिलाई आघात पुर्‍याउँछ, केही तत्वहरू यसकै मौका हेरेर बसेका देखिन्छन् ।’

माओवादीका सचिव दिनानाथ शर्माले पार्टीले भ्रष्टाचारीहरूको सरकार बनेकाले सुशासनको पक्षमा दबाब दिनको लागि आन्दोलन गर्ने बताए ।

उनले भने, ‘अहिले भ्रष्टाचारीहरू सरकारमा छन्, हामीले मुख्यगरी सुशासनको मुद्दालाई अघि सारेर सडकमा जान्छौ भनेका हौं । अध्यक्षले पनि त्यही अनुसारको बोल्नुभएको हो । सुशासन समृद्धि सामाजिक न्याय, संविधानलाई बिथोल्ने कुराहरू पनि आइरहेका छन् । त्यही विषय पनि हुन्छन् ।’

उनले पनि अहिले तत्काल पार्टी सडक आन्दोलनमा नजाने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर