प्रअ नियुक्ति कार्यान्वयन नगर्न एमालेले बुझायो नगर प्रमुखलाई ज्ञापन पत्र – Nepal Press

प्रअ नियुक्ति कार्यान्वयन नगर्न एमालेले बुझायो नगर प्रमुखलाई ज्ञापन पत्र

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट विद्यालयको प्रधानाध्यापक छनोट गरेको विषय थप पेचिलो भएको छ ।

नगरपालिकाले अनावश्यक हस्तक्षेप गरेको, शिक्षा नियमावली विपरीत काम गरेको र राजनीतिक पूर्वाग्रही भएको भन्दै नेकपा एमाले घोडाघोडी कमिटीले नगर प्रमुख खडक रावतलाई ज्ञापन पत्र बुझाएको छ ।

८ बुँदे ज्ञापन पत्र बुझाउँदै नगर अध्यक्ष हेम सापकोटाले माग सम्बोधन नभएर कडा आन्दोलन गर्न बाध्य हुने बताएका थिए ।

शिक्षा नियमावली २०५९को नियम ९३ ले विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई प्रदान गरेको छ । तर, घोडाघोडी नगरपालिकाले उक्त नियमावली विपरीत आफै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेको भन्दै तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न एमाले नगर कमिटीले माग गरेको छ ।

विवादका बिच नगर प्रवक्ता समेत रहेका नगर शिक्षा समितिका सदस्य, वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले १७ जना कांग्रेस निकट शिक्षकहरूलाई प्रअ बनाएको भन्दै अभिव्यक्ति दिएका थिए ।

एमाले नगर इन्चार्ज तथा जिल्ला कमिटी सदस्य वक्तबहादुर शाहीले नगर प्रवक्ताले दिएको अभिव्यक्तिको पनि छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

एमालेले बुझाएको ८ बुँदे ज्ञापन पत्रका शैक्षिक सत्रको बीचमा प्रअ नियुक्ति गर्ने ,शिक्षक सरुवा र काज सरुवा गर्ने काम स्थगित गर्न माग गरिएको छ ।

त्यस्तै, सर्वोच्च अदालत र उच्च अदालतमा विचाराधीन अवस्थामा रहेको प्रअ, व्यवस्थापन समिति विवादको न्यायिक निरूपण र फैसला नआउने बेलासम्म सबै प्रक्रिया यथावत् राख्न, प्रचलित संघीय शिक्षा ऐन र नियमसँग बँझिएको नगर शिक्षा ऐन र नियमावलीको विषयमा न्यायिक निरूपण हुने गरी समाधानको उपाय खोज्न माग गरिएको छ ।

नगर प्रवक्ता, शिक्षा समितिका सदस्य एवम् वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले सार्वजनिक दिएको अभिव्यक्ति माथि छानबिन गरी दोषीलाई नियम अनुसार कारबाही गर्नका लागि छानबिन समिति गठन गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।

नगरपालिकाले सामुदायिक विद्यालयहरूको पूर्वाधार निर्माण गुणस्तर सुधार तालिम र अन्य आवश्यकताको लागि पर्याप्त बजेट विनियोजन गर्न, शिक्षक कर्मचारी विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूका अधिकारहरूमाथि अनावश्यक हस्तक्षेप बन्द गर्न र प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार अभिभावकीय भूमिका निर्वाह माग गरिएको छ ।

तीन दिनभित्र माग सम्बोधन नगरिए थप आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति बुझ्दै नगरप्रमुख रावतले माग सम्बोधन गराउन छलफल गर्ने बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर