बिराज भट्टका छोरा समीरको पहिलो अन्तरवार्ता- सामाजिक सञ्जाल चलाउन सिक्दैछु – Nepal Press

बिराज भट्टका छोरा समीरको पहिलो अन्तरवार्ता- सामाजिक सञ्जाल चलाउन सिक्दैछु

काठमाडौं । समीर भट्टले डेब्यु गरेको नेपाली चलचित्र ‘१२ गाउँ’ दशैंताका रिलिज हुँदैछ । फिल्मको टिजरले लोकप्रियता कमाएपछि समीर पनि चर्चाको शिखरमा पुगे । उनका बारेमा चलचित्रलाई माया गर्नेले खोज्न थाले । तर उनलाई कतै पनि भेटिएन ।

उसो त समीरले अहिलेसम्म कुनै पनि सामाजिक सञ्जालमार्फत वा कुनै सार्वजनिक समारोहमा आफूलाई सरिक गराएका थिएनन् । वा गराए पनि पब्लिकको नजरबाट टाढै रहन सफल रहे । कलाकारिताको विरासत बोकेका उनले जीवनको करिब २५ वसन्तभन्दा बढीसम्म यसरी बाहिरी दुनियाँबाट टाढा रहनु नै निकै ठूलो चुनौती हो ।

उनी कुनै बेलाका चर्चित अभिनेता विराज भट्टका छोरा हुन् । तर पनि समीरको हालसम्म फोटोसमेत सार्वजनिक भएको थिएन । फिल्मको सुटिङकै दौरान सार्वजनिक भएको एउटा तस्बिर भाइरल बन्यो । त्यतिमात्र होइन, उनको पहिलो अन्तरवार्ता ‘भीएफवाई टक्स’मार्फत सार्वजनिक भएको छ ।

जसमा समीरले आफू अहिलेसम्म के कारणले सामाजिक सञ्जालबाट टाढा रहेकोलगायतका प्रसंगबारे बोलेका छन् । करिब ३५ मिनेटको कुराकानीमा समीरले आफ्नो गुरु आफ्नै बुबा भएको बताउँदै पहिलो ट्रेनिङको प्रेरणा पनि उनी नै भएको उल्लेख गरे ।

करिब १० वर्षकै उमेरमा मुम्बई गएका समीरले उतै मार्सल आर्ट, डान्स तथा अभिनयका कक्षाहरु लिए । उनले दैनिक ४–५ घण्टासम्म अभ्यास गरेको बताउँछन् । त्यस क्रममा आफूले आफैंलाई अनुशासनमा राखेको उनी सुनाउँछन् । ‘संघर्ष र अनुशासनबिना केही पनि हुँदैन भन्ने मैले मेरो बुबाबाट सिकेको छु’, कुराकानीमा समीरले भनेका छन् ।

उनले आफ्नो प्रेरणाको स्रोत आफ्नो बुबा भएको बताए । उनले भने, ‘अहिले म जे जे गर्न प्रयास गरिरहेको छु । त्यसको क्रेडिट मेरो बुबालाई जान्छ, मेरो प्रेरणा नै मेरो बुबा हुनुहुन्छ ।’

संवादमा प्रस्तोता दशरथ सुनारले सामाजिक सञ्जाल प्रयोगबारे समीरलाई सोधेका छन् । यसअघि उनले आफू अनुशासनमा रहेर निरन्तर ट्रेनिङ लिएको र त्यसक्रममा बाहिरी दुनियाँसँग जोडिँदा फोकस नहुने कारणले सञ्जालबाट टाढा रहेको बताए । तर उनले भर्खरै सामाजिक सञ्जाल चलाउन सुरु गरेको र सिक्दै गरेको जनाए । ‘सामाजिक सञ्जाल भर्खरै सुरु गरेको छु, म यो पनि सिक्दैछु’, उनले भने ।

‘१२ गाउँ’ लगत्तै चलचित्र बलिदानमा उनले काम गर्नेछन् । आफूले सिकेका ज्ञानलाई नेपाली चलचित्र उद्योगमै प्रयोग गर्ने समीर बताउँछन् । कला क्षेत्रमा आफ्नो तर्फबाट योगदान गर्न आफू तत्पर भएर आएको उनले सुनाए ।

उनको पहिलो अन्तरवार्तामा देखिएको उनको प्रस्तुतिलाई धेरैले प्रशंसा गरेका छन् भने लवजलाई बुबा विराज भट्टसँग तुलना गरेका छन् । शालीन किसिमको शैली, भाषाको शुद्ध उच्चारण जस्ता विषयले चर्चा बटुलिरहेको छ । यो सादापनले मानिसहरुको मन जितेको भनेर कमेन्टमा देख्न सकिन्छ । त्यस्तै, नेपाली चलचित्र उद्योगमा नयाँ एक्सन स्टारको उदय भएको भनेर टिजर र अन्तरवार्ता हेरिसकेकाले दाबी गरिरहेका छन् ।

खैर समीरले आफूलाई प्रमाणित गर्न भने बाँकी नै छ । उनको पहिलो चलचित्र र मेहनतको गतिशीलताले मात्रै बाँकी जीवनमा उनको छुट्टै परिचय स्थापित गर्न सक्छ ।

अन्तरवार्तालाई हालसम्म डेढ लाखभन्दा बढीले हेरेका छन् भने करिब ३ हजार कमेन्ट आएको छ ।

हेर्नुस् पूरा अन्तरवार्ता:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर