सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा सचिव र सांसदको बाझाबाझ (भिडिओ) – Nepal Press

सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा सचिव र सांसदको बाझाबाझ (भिडिओ)

कांग्रेस सांसद महराले सचिवलाई भनिन्- तपाईंलाई निकाल्ने अधिकार छ, बाहिर जानुस्

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटी र नेपाली कांग्रेस सांसद रक्षा महराबीच छलफलमै बाझाबाझ भएको छ ।

सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आफूहरूको माग सम्बोधन नभएको भन्दै बुधबार जानकारी गराउन प्रदेशका ९ वटै जिल्लाबाट आएका कर्मचारीहरूकै अगाडि दुबैबीच नोकझोक भएको हो ।

सांसद महराले आफूहरूले राम्रो कानून बनाउन खोज्दा पनि कर्मचारीहरूले विभिन्न विषय देखाएर अल्झाउने गरेको गुनासो गरेकी थिइन् ।

उनले कर्मचारीहरूले संघीय कानूनसँग बाझिनेगरी हुन्छ भन्दै आफूहरूलाई उपयुक्त कानून निर्माण गर्न नदिने गरेको बताइन् । उनले करार कर्मचारीलाई पनि स्थायीसरह सुविधा दिनेगरी कानून बनाउनुपर्ने बताउँदै गर्दा सांसद महरासँगै रहेका सचिव बोगटीले ‘पढेर आउनु पर्‍यो नि’ भनेपछि बाझाबाझ सुरु भएको हो ।

‘तपाईंको र मेरो क्वालिफिकेसनलाई अगाडि टेबलमा राखौं, के सोच्नुभएको छ । के हामीले पढेको हुँदैनौं’, सांसद महराले आक्रोशित हुँदै भनिन्, ‘तपाईंले बोल्ने कुरै होइन ।’

सचिव बोगटीले त्यसपछि शालीन प्रतिवाद गरेका थिए । सांसद महराले सचिवतर्फ चोर औंला ठड्याउँदै निकाल्न सक्ने अधिकार भएको चेतावनी दिइन् ।

उनले भनिन्, ‘मैले तपाईंलाई औंलामात्रै ठड्याउने होइन, निकाल्ने अधिकार पनि छ ।’

‘निकाल्नुहोस् न त’, सचिव प्रतिवाद गर्छन् ।

‘वाहियात कुरा गर्ने तपाईं जानुहोस्’, महरा तात्छिन् ।

यसैबीच माहोल शान्त पार्न अन्य सहभागीहरूले भने, ‘हामी स्थानीय तहका सबै कर्मचारीलाई एकै ठाउँमा राख्नुहोस्, हामी कुरा गर्छौं ।’

‘हो यही यही कर्मचारी… । यस्तै कर्मचारीहरूले’, महरा थप भन्छिन् ।

उता सचिव ‘कानूनमा भएअनुसारको हो’ भन्दै बोलिरहन्छन् ।

‘सांसदले कानून लेख्ने हो कि उहाँहरूले लेख्ने हो ? यो हुँदैन, त्यो हुँदैन भन्ने, किन हुँदैन ?’, महराले प्रश्न गरिन्, ‘हामीले आवाज उठाएका छौं, तपाईंहरूलाई न्याय दिने कुरामा हामी प्रतिबद्ध छौं ।’

सहभागीहरूले ताली ठोक्छन् । आफूहरूको माग सम्बोधन होला भनेर प्रदेशका विभिन्न जिल्लाहरूबाट आएका कर्मचारीहरू सांसद र सचिवको वादविवाद देखेर रमाइलो पनि मानिरहेका थिए ।


प्रतिक्रिया

One thought on “सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा सचिव र सांसदको बाझाबाझ (भिडिओ)

  1. करार कर्मचारीलाइ पनि स्थायी सरह सुविधा ? दलका भरौटे, अनपढहरू करारमा भर्ना हुने अनि मरी मरी पढेर लोकसेवा पास गरेका सरह सुविधा ? यसो भन्ने दलाल हुन् । करारसँग पैसा खाएर बोल्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर