माओवादीको जिकिर- प्रधानमन्त्रीले जनयुद्धलाई हिंसा भन्नु संविधान र १२ बुँदे समझदारीविपरीत – Nepal Press

माओवादीको जिकिर- प्रधानमन्त्रीले जनयुद्धलाई हिंसा भन्नु संविधान र १२ बुँदे समझदारीविपरीत

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधानविपरीत भएको बताएका छन् ।

पार्टी अनुशासन, निर्वाचन र लेखा आयोगको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले बृहत् शान्ति सम्झौताविपरीत बोलेको बताए ।

उनले भने, ‘उहाँ देशको प्रधानमन्त्री हो । एउटा पार्टीको अध्यक्ष पनि हो । त्यो कुरा बोल्नु सरासर संविधानविपरीत छ, सहमतिविपरीत छ । संविधानमा सशस्त्र संघर्ष भनिएको छ । बृहत् शान्ति सम्झौतामा पनि सशस्त्र संघर्ष भनिएको छ । उहाँले १२ बुँदे समझदारीको विरुद्धमा बोल्नुभएको छ । बृहत् शान्ति सम्झौताको पनि विरुद्धमा बोल्नुभएको छ ।’

नेकपा हुँदा ओलीले जनयुद्धलाई स्वीकारेको भए पनि अहिले आफैं सहमत भएको कुरामा फेरि बदनियतपूर्ण र अनैतिक ढंगले टिप्पणी गरेको उपाध्यक्ष सापकोटो भनाइ छ ।

उनले थपे, ‘संविधान र हिजोको सहमतिविपरीत छ । हाम्रो पार्टीका सांसदहरुले सदनमा प्रतिरोध गरिराख्नु भएको छ । जनयुद्धविना गणतन्त्र असम्भव थियो । त्यहीले उहाँ तीन पटक प्रधानमन्त्री हुनुभएको छ । उहाँहरु पछाडि फर्किन चाहनुहुन्छ । यो संविधान उल्ट्याउन चाहनुभएको छ । पहिला पनि दुई पटक संसद विघटन गर्नुभएको थियो, हामीले असफल बनाएर संसद र लोकतन्त्रको रक्षा गरेका हौं ।’


प्रतिक्रिया

One thought on “माओवादीको जिकिर- प्रधानमन्त्रीले जनयुद्धलाई हिंसा भन्नु संविधान र १२ बुँदे समझदारीविपरीत

  1. रूखमा शिक्षकलाई झुण्डाएर काटी काटी मार्ने, बसमा बम पडकाउने जनयुद्व हो ? वाहियात ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर