दुबईको अस्पतालमा शिशुको जन्म दिई नेपाली महिला सम्पर्कविहीन – Nepal Press

दुबईको अस्पतालमा शिशुको जन्म दिई नेपाली महिला सम्पर्कविहीन

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा शिशुलाई जन्म दिएर नेपाली महिला अस्पतालबाट फरार भएकी छन् ।

लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी ललितपुरकी २८ वर्षीया रेनुका पहारीले जन्म दिएको छोरीलाई अस्पतालमै छोडेर भागेको अस्पताल स्रोतलाई उद्धृत गर्दै नेपाली दूतावास आबुधावीले जनाएको छ ।

रेनुका एम्बुलेन्समार्फत १६ अगस्तमा अस्पताल आएकी र इमरजे न्सीमा भर्ना भई सोही दिन छोरीलाई जन्म दिएर ३ दिनपछि अस्पतालबाट फरार भएको सूचना प्राप्त भएको दूतावासका एक उच्च अधिकारीले नेपालप्रेससँग बताए ।

रेनुकालाई अस्पताल आफैंले पनि सम्पर्क गरेको तर सम्पर्कमा नआएको र छोरीलाई अस्पातलले हेरिरहेको नेपाली दूतावासले जनाएको छ । अस्पतालले स्थानीय प्रशासनको सहयोगमा रेनुकालाई पक्राउ गर्न वा थप कानूनी प्रक्रिया गर्नेबारे नेपाली दूतावासलाई सुझाएको छ ।

यसरी परदेशमा बच्चाको जन्म दिएर छोडिहिंड्नु कुनै बाध्यता भए नेपाली दूतावासमा सक्दो छिटो सम्पर्कमा आएमा सहजीकरण गर्ने दूतावासले जनाएको छ । फरार सुत्केरी महिलालाई आर्थिक वा अन्य केही समस्या भए अस्पतालसँग समन्वय गरी लागेको रकम मिनाहा गर्न पनि दूतावास तयार भएको भन्दै त्यसका लागि महिलालाई दूतावास वा अस्पतालको सम्पर्कमा आउन नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावास कानूनी रुपमा आफ्नो नागरिकको संरक्षण गर्न सदैव तयार रहेको, तर नागरिकले पनि कुनै समस्या भए अनिवार्य दूतावासलाई जानकारी गराउन सबैमा अनुरोध गरेको छ । पछि यस्तो प्रवृत्तिले आमालाई थप कानूनी समस्या आउने दूतावासको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर