ढोरपाटनमा शिकार खेल्न टेन्डर खुला – Nepal Press

ढोरपाटनमा शिकार खेल्न टेन्डर खुला

बागलुङ । यस वर्षको पहिलो शिकार यामका लागि ढोरपाटन शिकार आरक्षले टेन्डर खुलाएको छ । आगामी असोजदेखि हुने शिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार खेल्न चाहने शिकारीका लागि टेन्डर खुलाएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिजनका लागि १२ नाउर, आठ झारल र ११ वटा बँदेल शिकार गर्न टेन्डर खुलाइएको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

टेन्डरको म्याद १५ दिनको हुने र सबै प्रक्रिया पूरा भएपछि अर्को महिनादेखि शिकार सुरु हुने उनको भनाइ छ ।

धेरै महँगो र साहसिक हुने हुँदा धेरैजसो विदेशी शिकारी ढोरपाटन शिकार आरक्षको विभिन्न ब्लकमा आएर शिकार खेल्ने उनी बताउँछन् । टेन्डर प्राप्त गर्ने संस्थाले नेपाली तथा विदेशी शिकारी ढोरपाटन लैजाने प्रमुख कँडेलको भनाइ छ ।

ढोरपाटनमा प्रत्येक वर्ष पहिलो सिजन असोज-मङ्सिर र दोस्रो सिजन फागुन-वैशाखमा शिकार याम सुरु हुने उनले बताए । उनका अनुसार गत वर्ष शिकार आरक्षणबाट चार करोड ४८ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

बागलुङ, पूर्वी रुकुम र म्याग्दी गरी तीन जिल्ला फैलिएको शिकार आरक्षणलाई शिकार खेल्न सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरिएको छ । यस आरक्षणमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । नाउर, झारल, थार र हिमाली भालु पनि पाइन्छन् ।

यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चरा पाइने शिकार आरक्षण कार्यालयले जनाएको छ । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *