अनुशासनप्रति कडा हुँदै एमाले बैठकमा ओलीको निर्देशन- राजनीति गर्ने कि मोजमस्ती ? एक रोज्नू (भिडिओ) – Nepal Press

अनुशासनप्रति कडा हुँदै एमाले बैठकमा ओलीको निर्देशन- राजनीति गर्ने कि मोजमस्ती ? एक रोज्नू (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कतिपय नेता कार्यकर्तामा चारित्रिक विचलन देखिएको भन्दै पार्टी छाड्न वा मोजमस्तीमा लाग्न दुईमध्ये एक विकल्प दिएका छन् ।

पोलिटब्यूरो कमिटीको बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अनुशासनहीन, नैतिकहीन र चरित्रहीन गतिविधि बढेको विषय उठेपछि यस्तो विकल्प दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

ओलीको भनाइ उदृृत गर्दै गौतमले भने- एमाले यस्ता विषयमा प्रष्ट छ । अध्यक्षले प्रष्टसँग राजनीति गर्ने कि इन्जोय गर्ने ? एउटा विकल्प रोज्न भन्नुभएको छ । अनुशासनहीन र चरित्रहीन गतिविधिमा कसैलाई छुट छैन ।

गौतमका अनुसार अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी कुनै ढल नभएको बताउँदै चरित्रमा ध्यान दिन नेताहरुलाई निर्देशन दिएका थिए ।

पार्टीमा सैद्धान्तिक र वैचारिक विषयमा कुनै समस्या नरहेपनि व्यवहारमा ध्यान दिनुपर्ने ओलीको आशय थियो ।

उनले पार्टीभित्र चरित्रहीन गतिविधि बढेको बारे भने, ‘यो पार्टी कुनै ढल होइन । कि राजनीति गर्नु कि मोजमस्ती ।’

त्यस्तै, पार्टीले कुनै पनि प्रकारको भ्रष्टाचार नसहने स्पष्ट पारेको छ । भ्रष्टाचार नियन्त्रणमा निरन्तर लागिरहने उनले बताए ।

आफ्नो नीति तथा कार्यक्रमका आधारमा हिजो पनि एक्लै लडेको र भोलि पनि लड्ने निर्णय भएको गौतमले जानकारी गराए ।

त्यस्तै, तत्काल कुनै पनि पार्टीसँग वामपन्थी एकता नहुने ओलीले स्पष्ट पारेका छन् ।

ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने, ‘वामपन्थीका नाममा अहिले कुनैपनि एकता हुने सम्भावना छैन ।’

वस्तुगत मूल्यांकनका आधारमा विभिन्न कार्यहरु अगाडि बढ्दै जाने निर्णय भएको गौतमले बताए ।

त्यस्तै, बैठकले विभिन्न १५ वटा समसामयिक प्रस्तावहरु पारित भएको उनले बताए । जसमा शान्ति प्रक्रियालगायतका विषयमा रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *