बदलिएका पल, ‘बहुरुपी’ पूजा र बौरिएकी समीक्षा – Nepal Press

बदलिएका पल, ‘बहुरुपी’ पूजा र बौरिएकी समीक्षा

काठमाडौं । पछिल्ला केही दिनयता पल शाह र पूजा शर्माका अनगिन्ती अन्तर्वार्ता युट्युबमा धाराप्रवाह आइरहेका छन् । तीमध्ये एक साता अगाडिको एउटा पोडकास्ट अहिले चर्चामा छ ।

यो पोडकास्टलाई चर्चामा ल्याइदिएकी हुन् गायिका समीक्षा अधिकारीले । सानो भिडिओ क्लिप शेयर गर्दै उनले पूजाको अभिव्यक्तिमा आपत्ति जनाएपछि धेरैको ध्यान तानियो । पूजाले सामाजिक सञ्जालबाटै फितलो प्रतिवाद गरेकी छन् । पल भने मौन छन् ।

पछिल्लो समयमा पल, पूजा र समीक्षाबीच अनौठो त्रिकाणात्मक केमेस्ट्री चलिरहेको छ । पलविरुद्ध समीक्षाले मुद्दा हालेपछि उनीहरुको बीचमा आएकी हुन् पूजा । पल जेल पर्दा उनी विक्षिप्त बनेर रुँदै-कराउँदै हिँडेकी थिइन्, तर पल जेलबाट निस्किएपछि उनीहरुबीचकै सम्बन्धमा एकाएक दरार आयो । महिनौंसम्म पानी बाराबार नै भएको थियो ।

पल जेलबाट निस्किनुअघि लेखेको भावुक स्टाटससमेत पूजाले आफ्नो टाइमलाइनमा प्राइभेट (समाचार आएपछि फेरि पब्लिक गरेकी) गरिन् । एउटै कार्यक्रममा सँगै अवार्ड थाप्दा पनि पूजा र पलले बोलचाल गरेनन् । पलले आफ्नी बहिनीको विवाहमा निकट कलाकारहरुलाई बोलाउँदा पूजालाई छुटाए ।

जेलबाट निस्किएपछि पलले आफूलार्ई भाउ नदिएको र भेट्न नआएको भन्दै ठुस्किएकी थिइन् पूजा । अनि, पलसँग रिस साँध्न उनी अचानक समीक्षा अधिकारीसँग नजिकिइन् । पूजा र समीक्षाको निकटता धेरैका लागि अस्वाभाविक र आश्चर्यजनक थियो । उनीहरुले सँगै बसेर पलको कुरा काटे । गाला जोडेर केही टिकटक पनि बनाए ।

खासमा समीक्षासँग छद्मभेषमा आएकी थिइन् पूजा । पललाई देखाउन नै उनले समीक्षासँग निकटताको प्रहसन गरेकी थिइन् । कमजोर तत्वज्ञान भएकी समीक्षाले यो बुझ्नसक्ने सम्भावनै थिएन । तत्कालै दिदी-बहिनीको बनावटी सम्बन्ध कायम भयो, तर यो धेरै टिकेन ।

अहिले फेरि पल र पूजाबीच सुलह भइसकेको छ । समीक्षालाई ‘ठेंगा’ देखाउँदै पूजा पलको छत्रछायाँमा पुगिसकिन् । उनीहरुबीच पुरानै रौनक फर्किएको छ । यो देखेर समीक्षाको कन्पारो तातेको छ । उनी सामाजिक सञ्जालबाट बारम्बार पूजालाई प्रहार गरिरहेकी छन् ।

पल र पूजाको ‘पुनर्मिलन’ लगत्तै कडा दनक दिँदै समीक्षाले लेखेकी थिइन्- बहुरुपी औरत । चलचित्र ‘रावायण’ मा पूजा र पलले सहकार्य गर्न लागेको समाचारपछि समीक्षाले लेखेको चर्चित स्टाटस यस्तो थियोः

‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्‍यौ । आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ । बहुरुपी औरत ।’

समीक्षाको यो स्टाटसलाई पूजाले कुनै प्रतिवाद गरिनन् । गर्ने ठाउँ पनि थिएन । किनकि संवेगात्मक रुपमा समीक्षा ‘एक्युरेट’ थिइन् ।

त्यसयता पनि समीक्षाले पूजाको पिछा छोडिनन् । फेसबुकबाटै घोचपेच जारी राखिन् । अन्तिम संस्करण हिजोको स्टाटस हो, जसमा उनले भिडिओ क्लिप नै शेयर गरेर पूजामाथि खनिएकी छन् ।

समीक्षाको स्टाटस यस्तो थियोः

अदालत नै पोडकास्टहरु हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भए पनि हुन्थ्यो नि !

सत्य के हो रु कि उसलाई थाहा छ, कि मलाई थाहा छ, कि त भगवानलाई थाहा छ ।

के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ ।
त्यसयता सबै नर्मल नै चलिरहेका बेला आफैं छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?

यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र रु सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो ‘तिमी मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनें, मानें । अहिले पनि मानेकी छु। मान्छु तर यसरी पीडा नदिनुस् प्लीज।

समीक्षाले शेयर गरेको भिडिओ मज्जाको टीभी नामक युट्युब च्यानलको हो, जसमा प्रस्तोताले पूजा र पलसँग अन्तरंग कुराकानी गरेकी थिइन् । एक घन्टा २५ मिनेट लामो अन्तर्वार्तामा अधिकांश समय पूजाले पलको अतिरञ्जित प्रशंसामा बिताएकी छन् । प्रशंसा यतिसम्म कि कति ठाउँमा पलले नै असहज मानेको महसुस गर्न सकिन्छ । समीक्षालाई यसले भाउन्न हुने नै भयो ।

समीक्षाले शेयर गरेको क्लिपमा पूजाले बलात्कार मुद्दालाई लिएर पलको डिफेन्समा बोलेकी छन् । मुद्दाको प्रसंग चाहिँ पलले सुरु गरेका थिए । कार्यक्रम प्रस्तोताले ‘एक्लोपनको आभास’ टपिक दिएर पललाई आफ्नो अनुभूति शेयर गर्न भनेकी थिइन् । जवाफमा पलले त्यही घटना सम्झिए । आफूलाई मुद्दा लाग्दा चलचित्र क्षेत्रका कुनै पनि संघ-संस्थाबाट साथ नपाएको र आफू एक्लिएको महसुस भएको सुनाए ।

उनी भन्छन्, ‘जब मेरो यो इन्सिडेन्ट भएको थियो, त्यो बेला चाहिँ एक्लो फिल भएको थियो मलाई, कुनै ठाउँबाट सपोर्ट नहुँदाखेरि । मेरो घर भनेकै फिल्म र म्युजिक भिडिओ उद्योग नै हो । यत्रो चलचित्र विकास बोर्ड छ, निर्देशक संघ, कलाकार संघ, निर्माता संघहरु छन्- कसैबाट पनि सहयोग साथ पाइएन । प्राविधिक संघबाट पुष्कर लामाबाहेक कोही पनि मलाई भेट्न आउनुभएन । ९९ पर्सेन्टले मुख बन्द गरेर बस्नुभयो । बेकार यो फिल्डमा लागिएछ भने जस्तो महसुस भएको थियो । त्यसबेला बरु मिडियाकर्मीहरुले साथ दिनुभयो । केही मिडियाकर्मी (युट्युबर) त मेरो लागि जेल नै पर्नुभएछ ।’

पलले यो पनि थपे, ‘पदमा भएका मान्छेहरुले चाहिँ केसम्म गर्नुपर्थ्यो भने त्यो मान्छे ठीक छ भनेर सीधै नभने पनि हाम्रो पल शाहलाई न्याय दिनुपर्‍यो, सही-गलत पत्ता लगाएर छिटोभन्दा छिटो रिहा गर्नुपर्‍यो वा काम सकाइदिनु पर्‍यो भन्न सकिन्थ्यो, तर कसैले भनिदिनु भएन । उहाँहरु सबै जना डराउनुभयो ।’

सम्भवतः पहिलो पटक हुनसक्छ पल शाहले यसरी खुलेर गुनासो गरेको, तर उनले यसरी गुनासो गर्नुको कुनै अर्थ किन छैन भने पल र समीक्षाबीच सम्बन्ध के थियो भन्नेमा अधिकांश चलचित्रकर्मीहरु प्रस्ट थिए । समीक्षा त्यसबेला उमेरले नाबालिग रहेकोमा कुनै विवाद थिएन । पलले त शत प्रतिशत आभारी समीक्षाप्रति नै हुनुपर्छ ।

खैर, उनले आफ्नो अनुभूति व्यक्त गर्न पाए, तर पलले यसरी बोल्दै गर्दा पूजा अघि सर्दै उनको डिफेन्स सुरु गरिन्, जुन आवश्यक नै थिएन ।

पूजाको भनाइ यस्तो थियोः

‘यो स्टोरी नै फरक छ । स्टोरी के हो भन्ने नबुझिकन सबैले जज गरे । पलको पक्षमा म जाँदा एक जना एक्ट्रेसले त्यो न्यूज शेयर गरेर मलाई नराम्रोसँग लेख्नुभयो । अहिले पनि कति केस आउँदा पललाई दाँजिरहेका हुन्छन् । म सक हुन्छु क्या ! मैले पललाई सपोर्ट गर्दा एक्ट्रेसको एउटा टीम बनाएको रहेछ, त्यसबाट मलाई आउट गरे । मलाई हाँसो उठ्यो, तर पनि केही छैन । भगवान छ । सत्यको जीत हुन्छ । मलाई केही फरक पर्दैन । आज कानूनले नै बोलिसकेपछि सकियो नि होइन । कसैले बोलिराख्न जरुरत छैन । अरु केसमा पललाई मिसाउँदा चैं मलाई अति रिस उठ्छ । स्टोरी नै फरक छ क्या ।’

पूजाले पल शाहको ‘क्यारेक्टर’ को ठेक्का नै लिए जसरी बचाउ गरिन्, जसले समीक्षालाई बिझायो । जापानबाटै उनले स्टाटस ठोकिन् । यसपालि पूजा पनि मौन बसिनन्, किनकि उनको फिल्म रावायण रिलिजको संघारमा छ । सायद यो विषयले फिल्मको बिजनेसलाई क्षति पुग्न सक्ने चिन्ताले उनलाई जवाफ दिन बाध्य पारेको हो । त्यसो त त्यो प्रकरणलाई फेरि उछाल्दा फिल्मलाई फाइदा पुग्नसक्ने सम्भावनालाई दृष्टिगत गरेकी पनि हुन सक्छिन्, जसरी पल जेल गएका कारणले ‘म यस्तो गीत गाउँछु २’ हेर्न दर्शक उर्लेका थिए । आफ्नो विषय बाहिर ल्याएर पूजाले फिल्म चलाउन खोजेको समीक्षाको आरोपमा पक्कै दम छ ।

पूजाले फेसबुकबाट जवाफ फर्काइन्, तर सबैले कमेन्ट गर्न नमिल्ने बनाएर । उनी त्रसित थिइन्, किनकि समीक्षाले लेखेको स्टाटसमा पूजालाई नेगेटिभ कमेन्ट्स धेरै आएका थिए । आफ्नो जवाफी स्टाटसमा पूजाले ‘मुभी आउनु अगाडि शत्रुहरु त लाग्छन् नै…’ भनेर विषयान्तर गर्न खोजिकीमात्र छैनन्, समीक्षालाई शत्रुको स्तरमा पुर्‍याइदिएकी छन् ।

पलबारे पूजाले बोलेको कुरा प्राविधिक रुपमा बेठीक होइन, किनकि पललाई कानून (अदालत) ले पूर्ण रुपमा सफाइ दिएकै छ । यद्यपि उनको मुद्दा फेरि ब्युँतिनसक्ने सम्भावनाको अन्त्य भइसकेको छैन । पललाई उच्च अदालत पाेखराले गत वर्ष फागुनमा सफाइ दिएको थियो । उच्च अदालतको फैसलालाई दोहोर्‍याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिइसकेको छ ।

कतिपयले पल शाह र क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई एउटै तराजुमा राखेर पनि हेर्ने गर्छन्, तर यी दुई मुद्दा आधारभूत रुपमै किन फरक छन् भने पलको केसमा जाहेरीकर्ता कानूनतः नाबालिग हुन् । सन्दीपको केसमा जाहेरीकर्ता उमेर पुगेकी युवती हुन् । नाबालिग र बालिगमा लाग्ने कानून आकाश-पाताल फरक हुन्छ । यसका अतिरिक्त पलले जाहेरीकर्तासँग सम्बन्ध राखेको आफैंले स्वीकारोक्ति गरेको बलियो प्रमाण (अडियो रेकर्ड) थियो । सन्दीपको केसमा केही पनि प्रमाण भेटिएको थिएन । जाहेरीकर्ताले बयान फेरेकाले पलले सफाइ पाएका हुन् भने जाहेरीकर्ताको दाबीलाई प्रमाणले समर्थन नगरेकाले सन्दीपले सफाइ पाएका हुन् । उमेरको हिसाबमा पनि पल शाह वयस्क व्यक्ति हुन्, सन्दीप अल्लारे युवक ।

खैर, एक वर्ष जेलमा बिताएर निस्केपश्चात भने पल शाहमा परिवर्तनहरु देखिएका छन् । निकटस्थहरुका अनुसार पहिले र अहिलेको पलमा धेरै फरक छ । उनी पहिले जस्तो इन्डस्ट्रीमा कोही न्यूकमर युवती आउनासाथ छाँद मारिहाल्दैनन् । पहिला गहिरो हिमचिममा रहेका युवतीहरुसँग उनी अहिले टाढिएका छन् । करिअर र काममा नै बढी फोकस्ड छन् । पलले आफ्नो ‘स्ट्रेटिजी’ फरेका हुन् वा साँच्चै आफूलाई फेरेका हुन्, त्यो उनैलाई थाहा होला, तर साँच्चै फेरिएका हुन् भने त्यो उनका फ्यानका निम्ति सन्तोषको विषय हो ।

जेल यात्रापछिको समयलाई पलले आफ्नो जीवनको दोस्रो इनिङ मान्दा हुन्छ । पहिलो इनिङमा भएका त्रुटि-कमजोरीहरुलाई सच्याएर अघि बढेमा दोस्रो इनिङ पक्कै सुखद हुनसक्छ । जेलबाट निस्किएपश्चात उनलाई आम दर्शकले साथ र समर्थन दिएका छन् । यो उनको अहोभाग्य हो । पहिलेको प्लेव्वाइ छवि बदलेर ‘गुड ब्वाइ’ बन्ने हो भने विस्तारै बौद्धिक जमातले पनि स्वीकार्न सक्छन् ।

त्यसो त समीक्षालाई पनि समयले दोस्रो मौका दिएको छ । पल शाहलाई मुद्दा हालेपछि उनले सामाजिक सञ्जालमा अत्यधिक दुत्कार र लाञ्छना भोग्नुपर्‍यो । फेसबुक खोल्नासाथ ‘आरआईपी’ खेप्नुपर्ने त्रासदीपूर्ण कालखण्डबाट उनी बाहिर निस्किएकी छन् । तिखा प्रहारहरु सामना गर्दा-गर्दा उनको छाती बज्र भइसकेको छ । उनको करिअरले फेरि पनि उडान लिएको छ । समीक्षा आफैंले सोचिविचारी पललाई उन्मुक्ति दिएकी हुन् । दोषी ठहर नभए पनि पलले एक वर्षको जेल सजाय भुक्तान गरिसके । सायद अब यो कालो अतितलाई बिर्सेरै अघि बढ्दा दुवैको कल्याण छ ।

-चिरञ्जीवी पाैडेल


प्रतिक्रिया

3 thoughts on “बदलिएका पल, ‘बहुरुपी’ पूजा र बौरिएकी समीक्षा

  1. समपक्षाजस्ति साेझाी ,सरल र माछापुच्छ्रे जसणतै कुमारिलाई पलवाट गलत काम भयाे नै ।तर समिक्षाले ठूलाे महानता देखाउदै मुद्दा फिर्ता लिइन ।अब अर्काी नाैटङ्कि चटके र खु,ाफाति महिला विवादमा आउनु अनुचित छ ।पूजाकाे चरणतिकला सव घामझै छर्लङणग छ ।

  2. पूजा जसणती नाैटङ् ,चटकवादरला ,हल्का फुल्का व्यवहार गर्ने पात्रकाे रुपमा लिन सकिन्छ ।उनी पल र िमिक्षाकाे वारेमा पनि सन्तुलित देखिएन,हाल पनि त्यस्तै प्रवृत्ति देखियाे ।समीक्षा पाेखराकि उदिषमान तारालाई निमाेठने क्रममा जे पनिवाेलि रहेकि छिन।यस्तै हाे भने अब दर्शक,श्राेता पूजा विरुद्द वहिस्कार सम्म पनि जन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर