कांग्रेस र एमालेबीचको सहमति कार्यान्वयनमा शङ्का नगर्न गृहमन्त्रीको आग्रह – Nepal Press

कांग्रेस र एमालेबीचको सहमति कार्यान्वयनमा शङ्का नगर्न गृहमन्त्रीको आग्रह

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले नेपाली का‌ंग्रेस र एमालेबीच भएकाे सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् । गृहजिल्ला कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले संसदका दुई ठूला दलबीच सहमति भएर नयाँ समीकरण बनेको उनले बताए ।

उनले गठबन्धन चुनावसम्म नै जानेमा ढुक्क हुन् पनि आग्रह गरे । “दुई दलबीच सातबुँदे सहमति भएर सरकार निर्माण भएको छ”, उनले भने, “यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस् ।”

यस्तै गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।

“यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सुक्ष्म ढङ्गले अनुसन्धान हुन्छ”, उनले भने । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । घटना भएको छ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।

यस्तै मन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिएका छन् ।

“कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।”

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको उनले बताए । “दुई/तीन महिनाभित्रै सुक्खा बन्दरगाह निर्माणका लागि भारतले बोलपत्र आह्वान गर्छ”, गृहमन्त्री लेखकले भने, “चाँडै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर