ढल्केबर सबस्टेसनको ट्रान्सफर्मर बिग्रिँदा मधेशका अधिकांश ठाउँमा बिजुली बन्द
काठमाडौं । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मर बिग्रिएपछि मधेशका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।
ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट एउटामा समस्या आएको छ । दुईवटा ट्रान्सफर्मरबाट करिब ९० एमभिए भार (लोड) आपूर्ति भइरहेकामा एउटामा समस्या आएपछि ३० एमभीए लोड काटिएको छ ।
यसले गर्दा उक्त सबस्टेसनबाट आपूर्ति भइरहेका धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भीमानलगायतका क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको हो ।
प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले ट्रान्सफर्मर बिग्रिएका कारण प्रभावित भएको विद्युत् आपूर्तिलाई नियमित गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत् ल्याउन लागिएको बताए । सूरसण्ड-जलेश्वर लाइन नचलेको धेरै भएकाले अहिले लाइनको मार्गधिकारमा पर्ने रुखबिरुवा काट्न थालिएको र शुक्रबारसम्म लाइन चालू गरी विद्युत् ल्याउने प्रयास भइरहेको ठाकुरले जनाए ।
प्राधिकरणको ढल्केबर ग्रिड महाशाखाका प्रमुख विनोद लोहनीले ट्रान्सफर्मरमा देखिएको समस्या समस्या समाधानका लागि उत्पादक कम्पनीसँग कुरा भइरहेको बताए ।
उनले भने,‘निरन्तर पानी परिरहेकाले ट्रान्सफर्मर खोल्न समस्या भइरहेको छ, फल्ट पत्ता लागेमा एक दिनभित्रमा मर्मत हुनसक्छ नत्र अर्को ट्रान्सफर्मर ल्याएर जडान गर्नुपर्ने भएमा १० देखि १५ दिनसम्म लाग्न सक्छ ।’