हाउस पार्टीमा युवा युवतीहरूलाई शरीर बन्धक बनाएर यातना दिएको आरोपमा चार जना पक्राउ
काठमाडौं। क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिएको कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मङ्गलवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौं ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका-११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका-२९ घर भएका २२ वर्षीय साजन गुरूङ रहेका छन् ।
उनीहरूले काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनमा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बुढानीलकण्ठ नगरपालिका-१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिएको काठमाडौं प्रहरी परिसरको जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल १ थान, ह्याामर १ थान, इलेक्ट्रिक आइरन १ थान र व्लोवर मेसिन १ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।