सत्ताबाहिर पुगेपछि प्रचण्ड अतिवादी अभिव्यक्ति दिँदैछन्, बालेनको विषय प्रधानमन्त्रीसँग जोड्न जरुरी छैन : महासचिव पोखरेल (भिडिओ) – Nepal Press

सत्ताबाहिर पुगेपछि प्रचण्ड अतिवादी अभिव्यक्ति दिँदैछन्, बालेनको विषय प्रधानमन्त्रीसँग जोड्न जरुरी छैन : महासचिव पोखरेल (भिडिओ)

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार बिहान सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रचण्डको असंसदीय राजनीतिले सदनमा किचलो भइरहेको आरोपसमेत लगाए ।

‘प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेताको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलंका र बंगलादेशमा उदाहरण दिन हुन्थेन । त्यो लोकतान्त्रिक हुन सक्दैन ।’

आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको पोखरेलको भनाइ थियो ।

‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ’, उनले भने, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।’

अर्को फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको जिकिर गरे ।

‘कांग्रेसको औपचारिक निर्णय-यो समीकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ । महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय भएको होला ?’, पत्रकारले सोधेको प्रश्नमा पोखरेलले प्रतिप्रश्न गरे ।

२०८४ मा एमालेलाई देशकै बलियो र राष्ट्रिय शक्ति स्थापित भएर छोड्ने उनले दाबी गरे ।

काठमाडौंका मेयर बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको पोखरेलले बताए । बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न जरुरी नभएको उनको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “सत्ताबाहिर पुगेपछि प्रचण्ड अतिवादी अभिव्यक्ति दिँदैछन्, बालेनको विषय प्रधानमन्त्रीसँग जोड्न जरुरी छैन : महासचिव पोखरेल (भिडिओ)

  1. सही र सन्तुलित कुरा । नेता भनेको यस्तो हुनुपर्छ । मैले पनि पहिले देखिनै भन्दै आएको हो कि बालेन हिरो पल्टिन, चर्चामा आउन ओलिसँग जोडिन सक्छ भनेर। यस्ता सानातिनालाई ध्यान दिनु हुदैन । देश बनाउने महान काममा लाग्नुस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर