‘सर्वोच्चको फैसलाले पाशुपत क्षेत्रका पुरातात्विक संरचनालाई असर पर्छ, थप छलफल होस्’
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बागमती नदी किनारका दायाँबायाँ संरचना हटाउन सर्वोच्चले गरेको फैसलाले पाशुपत क्षेत्रका ऐतिहासिक र पुरातात्विक संरचनामा असर पर्ने जनाएको छ ।
केही संरचना हटाइएपनि किनारमा ऐतिहासिक महत्व र अतिआवश्यक संरचना रहेकाले तीबारे थप छलफल गर्नुपर्ने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।
तीजको तयारीबारे आयोजित पत्रकार सम्मेलनपछि अधिकारीले नेपाल प्रेससँग भने, ‘वर्षोंदेखि त्यहाँ ब्रम्हनाल आर्यघाटसम्म छ । दायाँ-बायाँ २० मिटर छोड्न खोज्दा भोलि अर्को समस्या आइलाग्न सक्छ । त्यसकारण हटाउन मिल्ने संरचनामात्र अहिले हटाएका छौं ।’
धार्मिक तथा पुरातात्विक आस्थाको केन्द्र भएकाले सर्वोच्च एवं सरकारले थप निर्णय गर्नसक्नेमा उनले आशावादी जनाए ।
उनले भने, ‘कतिपय संरचना हटाइ पनि सक्यौं । कतिपय प्राविधिक रूपमा मिलाउँदैछौं । अति आवश्यक संरचनाको विषयमा कसरी अघि बढ्ने निर्णय भइसकेको छैन ।’
बागमती नदी संरक्षणसम्बन्धी मुद्दामा सर्वोच्चको आदेशको पूर्णपाठलगत्तै महानगरपालिकाले मेयरस्तरीय निर्णयबाट बागमती र विष्णुमतीमा ४० मिटर र टुकुचाको २० मिटर वरपर निर्माण निषेध भएको सूचना जारी गरेको थियो ।
महानगरले उक्त सूचनाले नदी किनार छेउछाउमा बनेको संरचना भत्काउन नहुने भन्दै विरोध भइरहेको छ ।
फैसलाले ५ लाख मानिस र एक लाख घरघुरी प्रभावित हुने भन्दै राजनीतिक दललगायत सरोकारवालाले पुनरावेदनमा जानुपर्ने आवाज उठाइरहेका छ्न् ।