कर्मचारीको अमेरिका भ्रमण रद्दबारे मन्त्रीको जवाफ- नटेरेकाले बाध्य भए – Nepal Press

कर्मचारीको अमेरिका भ्रमण रद्दबारे मन्त्रीको जवाफ- नटेरेकाले बाध्य भए

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण अस्वीकृत भएको विषयमा संसदीय समितिमा मन्त्री र सांसदको सवाल जवाफ भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण राजनीतिक प्रतिसोधमा अस्वीकृत गरेको भन्दै समितिका सदस्य समेत रहेका नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले प्रश्न गरेकी थिइन ।

संघीय निजामती सेवा विधेयकमाथिको बिहीबारदेखि सुरु भएको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद राईले प्रश्न गर्दै भनिन्- मैले एउटा समाचार पढे । एउटा कार्यक्रममा जान आटेको पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई अमेरिका जान लागेको अवस्थामा किन रोकिएको हो ? कर्मचारीमाथि यसरी डण्डा लगाउन मिल्छ राजनीतिक आस्थाको आधारमा ? यदि त्यस्तो हो भने कर्मचारी कसरी काम गर्न सक्छ ? यो विषयमा मन्त्रीसँग जवाफ चाहन्छु । राजनीतिक आस्थाका हिसाबले प्रतिसोध साध्नु राम्रो होइन ।

सांसदको प्रश्नको जवाफ दिँदै सामान्य प्रशासनमन्त्री गुप्ताले ती कर्मचारीले मन्त्रालय र मन्त्रीलाई नटेरेका कारण भ्रमण गर्न बाध्य भएको समितिको बैठकमा जानकारी गराएका छन् ।

उनले जवाफ दिँदै भने- मन्त्री कुनै पार्टी र जिल्ला र क्षेत्रको हुँदैन । देशको हुन्छ । त्यो कुर्सीमा बस्दा न्याय गर्नुपर्छ । सधैँ मन्त्री हुँदैन । केहि समयमा लागि हुने हो । पूर्वाग्रही ढंगले निर्णय गरेको छैन । मेयर एक्लै एकातिर तर बाकी सबै दलका जनप्रतिनिधि एक ठाउँमा हुनुहुन्छ ।

उपमहानगरपालिकाका परिषद् पनि भएको छैन । मैले भिडियो पनि पाएको छु । महिला हुनुहुन्छ । तर, पालिकाकै कार्यालयमा तथानाम बोल्नुभएको छ । मन्त्रालयमाथि मुद्दा पनि हाल्नुभएको छ । ४ देखि ५ सम्म लगातार मन्त्रालयमा बोलाउँदा पनि आउनु भएन । काठमाडौं आएर पनि मन्त्रालयलाई टेर्नुभएन । सामान्य प्रशासन मन्त्रालय कर्मचारीको अभिभावक मन्त्रालय हो ।

मन्त्रालयमा आएर आफ्नो कुरा राख्नुभएन । लिखित र मौखिक जानकारी गरायौ तर पनि आउनुभएन । मन्त्रालयले उहाँको मुद्दा पनि खेप्ने र नटेर्ने कर्मचारीलाई अमेरिका भ्रमणमा पनि पठाउने हुँदैन भन्ने निष्कर्षमा पुगेर भ्रमण रद्द गरेको हो । आजसम्म हामी अमेरिका भ्रमणमा गएका छैनौ उहाँलाई किन रोक्ने जान दिऊ भनेर नै ४ देखि ५ दिन फाइल रोकेको हो । केहि नलागेपछि रघ गरियो ।

मन्त्रीले जवाफ दिए लगत्तै माओवादी सांसद राईले मन्त्री गुप्तालाई आगामी दिनमा यस्ता निर्णय नगर्न चेतावनी समेत दिइन । उनले भनिन्, अन्तिममा पनि भन्छु उहाँ प्रमुख प्रशासकीय अधिकृतलाई मैले चिन्दैन र कोही कसैले भनेको पनि होइन । सञ्चारमाध्यमबाटै जानकारी पाएको हो । यो एकदमै पूर्वाग्रही निर्णय हो । जे घटना भएको छ त्यो बेठिक भएको छ । आफू निकट दलको कार्यकर्ताको दबाबमा यो निर्णय भएको छ । यो लोकतन्त्र होइन । यसरी चल्दैन । उहाँमाथि अन्याय हुनुहुँदैन । अब यो दोहोरिनुहुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर