इन्टरकास्ट लभ, मेसेन्जरबाट खुल्यो गर्भवती रहेकाे रहस्य- ७ महिनापछि भेटियाे शव – Nepal Press

इन्टरकास्ट लभ, मेसेन्जरबाट खुल्यो गर्भवती रहेकाे रहस्य- ७ महिनापछि भेटियाे शव

पोखरा । म्याग्दीको बेनी नगरपालिका-९ तोरीपानीकी मीना परियारको शव अहिले म्याग्दी अस्पतालमा छ । गत साउन २७ भेटिएको शव पोस्टमार्टमका लागि पोखरा ल्याइएको थियो । पोस्टमार्टमपछि उनको शव म्याग्दी अस्पतालमै राखिएको छ । पोस्टमार्टममार्फत मीनाको हत्या भएको पुष्टि भएपछि दोषीलाई कारबाहीको माग गर्दै परिवारले दाहसंस्कार गर्न मानिराखेका छैनन् ।

तोरीपानीकी १९ वर्षीय मीना गत पुस १६ गतेबाट हराएकी थिइन् । सोही दिन राति घरबाटै निस्किएकी उनको शव ७ महिनापछि फेला पर्‍यो । पुस १६ गते आमासँगै सुतेको र राति ब्युँझिँदा मीना हराएकी भाउजू कमला बर्देवाले बताइन् ।

‘१६ गते खाना खाएर सँगै सुत्नुभएको थियो । आमाले राति १ बजे ब्युँझिदा मीनालाई देख्नुभएन । झ्याल खुलेको थियो । कतै जानुभयो की भन्ने लाग्यो,’ उनले भनिन् ।

सुरूमा परिवारलाई त लाग्यो मीनाले बिहे गरिन् । ५/६ दिनपछि परिवारले मीनालाई खोज्नतिर लाग्यो । नजिकका साथी तथा आफन्तसँग पनि सोधपुछ भयो । कतै फेला परिनन् । अन्तत उनीहरूले मीना हराएको भन्दै पुस २१ गते प्रहरीमा उजुरी दिए ।

प्रहरीले मीनाको कल डिटेल निकाल्यो । कल डिटेलमा परिवारबाहेक अन्यसँग कुरा गरेको देखिएन । त्यसपछि परिवारले उनले प्रयोग गर्दै आएको मेसेन्जर खोल्ने योजना बनायो । उनको नम्बर निकाली मेसेन्जर खुलाएपछि भने थप रहस्य खुल्यो । छिमेकी राम खत्रीसँगको सम्बन्धमात्र हैन, उनको पेटमा ६ महिनाको बच्चा पनि रहेको देखियो । जुन मेसेज ७ महिनापछि पोस्टमार्टम गर्दा पुष्टि भयो ।

‘कल डिटेलबाट घरपरिवारको मात्र नम्बर देखियो । त्यसपछि मेसेन्जर खोल्नतिर लाग्यौँ । फोन नम्बरले खुल्ने थाहा पाएपछि मेसेन्जर खोलेर हेर्दाखेरि छिमेकी राम खत्रीसँग सम्बन्ध रहेछ भन्ने थाहा भयो । नानीको पेटमा ६ महिनाको बच्चासमेत रहेछ’, भाउजूले बताइन् ।

मीनाको मेसेन्जरमा रामले ‘बसेर कुरा गर्नु छ आइज’ भनेपछि बेपत्ता भएको देखिएको कमलाले सुनाइन् ।

‘मेसेन्जरमा यी दुईबीच गर्भ बसेको थाहा पाएपछि बर्बाद भयो, तेरो-मेरो जात मिल्दैन, भारततिर भाग्नुपर्छ भनेर एकदमै दबाब दिएको मेसेजहरू छ,’ उनले भनिन् ।

मेसेन्जर खुलेपछि भने घटनाले मोड लियो । त्यसपछि परिवारले मीनालाई बेपत्ता पारेको भन्दै माघ २१ मा राम खत्रीविरुद्ध जाहेरी दिए । जाहेरी दिएको दुई दिनपछि माघ २३ गते रामलाई प्रहरीले पक्राउ गर्‍यो । मीनाकी भाउजू कमलाका अनुसार रामले बयानका क्रममा त्यहाँ भएका मेसेज र गर्भ आफ्नो रहेको स्वीकारेका थिए । तर, बेपत्ता पारेको विषयमा भने अस्वीकार गरे । उनी पुर्पक्षका लागि थुनामा भएका बेला गत साउन २७ गते मीनाको शव भेटियो ।

मीनाको शव बेनी नगरपालिका-९ गिठिनी कालीमुल जङ्गलमा गाडेको अवस्थामा भेटिएको थियो । म्याग्दी प्रहरीकाअनुसार पोस्टमार्टम रिपोर्टले शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र पेटमा भ्रूणसमेत रहेको पुष्टि गर्‍यो । परिवारले साउन ३० गते रामसहित ५ जनाविरुद्ध ‘कर्तव्य ज्यान मुद्दा’ को जाहेरी दिए ।

हालसम्म जाहेरी परेका ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर राजन रायमाझीले जानकारी दिए ।

‘पोस्टमार्टम रिपोर्टले हत्या भएको देखिन्छ । हामीले जाहेरी परेका सबैलाई पक्राउ गरिसकेका छौँ । अनुसन्धान अन्तिम चरणमा छ,’ उनले नेपाल प्रेससँग भने ।

म्याग्दी प्रहरी प्रमुख डीएसपी भरत श्रेष्ठले केही दिनमा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई मिसिल बुझाउने जानकारी दिए ।

उनले भने, ‘फरेन्सी टेस्टका लागि काठमाडौं पठाएका छौँ । अन्य अनुसन्धान पनि भइराखेको छ । केही दिनमा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा बुझाउँछौँ ।’

अहिले पनि पीडित पक्षमा धर्नामा छन् । उनीहरू दोषीलाई हदैसम्मको कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दैनिक धर्ना बसिरहेका छन् ।

‘अहिलेसम्म पनि ढिलासुस्ती भइराखेको छ । जबसम्म दोषी सार्वजनिक हुँदैन । तबसम्म शव पनि उठाउँदैनौँ । धर्ना पनि छोड्दैनौँ,’ मीनाकी भाउजू कमलाले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर