शशांकलाई साथ लिएर कांग्रेसमा विरासत फर्काउने दाउमा शेखर, परिवारको कति भर ? – Nepal Press

शशांकलाई साथ लिएर कांग्रेसमा विरासत फर्काउने दाउमा शेखर, परिवारको कति भर ?

विधानअनुसार नै १५ औं महाधिवेशन गराउन देउवालाई दबाब

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत फागुनमा भएको महासमिति बैठकमै १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने दबाबसहितको प्रस्ताव अघि सारेका थिए । तर, आइतबार टुंगिएको केन्द्रीय समितिको बैठकले कार्यतालिका तोक्ने इतर पक्षको प्रयास असफल भयो ।

सभापति शेरबहादुर देउवालले तोकिएको समयमा महाधिवेशन गर्ने निर्णय गराए, इतर पक्षको मागे झैं मिति तोकेनन् । देउवाले अघिल्लो कार्यकाल झैं महाधिवेशन विधान अनुसार नगरेर लम्ब्याउनसक्ने आशंका इतर पक्षको छ ।

१४ औं महाधिवेशनमा देउवासँग पराजित भएका शेखर कोइरालाले आगामी महाधिवेशनको तयारी थालिसकेका छन् ।

देउवासामु शेखरले भनेका थिए, ‘कांग्रेसको १५ औं महाधिवेशन लम्बाउने कुनै प्रपञ्च नगरौं । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाऔं । १४औं महाधिवेशनदेखि थाती रहेका क्रियाशील सदस्यतालगायतका समस्या तत्काल समाधान गरी २०८२ मंसिरमा १५औं महाधिवेशन गर्ने सुनिश्चित गर्नुपर्छ ।’

पछिल्लो समय देउवासँग मिलेको आरोपलाई खण्डन गर्दै आफू निकटका नेताहरुले महाधिवेशनको तयारी गर्नको लागि भनिसकेका छन् । हालैमात्रै केन्द्रीय समिति बैठक चलिरहेको बेलामा २२ महिनापछि कोइरालाले आफू निकटका नेताहरुसँग बेग्लै छलफल गरेका थिए ।

शेखरले १५ औं महाधिवेशनबाट कोइराला परिवारको गुमेको विरासत फर्काउने दाउमा छन्। त्यही रणनीति अनुसार आफ्नो परिवारभित्रको साथ खोजिरहेका छन् ।

त्यसो त १४ औं महाधिवेशनमा तीनतिर भएका शेखर, सुजाता र शशांक गत असोजमा बीपी साहित्य महोत्सवमा ‘परिवारले बुझेका बीपी’ छलफलमा एकैठाउँमा उभिएका थिए । उनीहरूको सन्देश थियो, ‘१५ औं महाधिवेशनमा एक हुन्छौं ।’

१४ औं महाधिवेशनमा शशांक र सुजाताले साथ दिएको भए जित्ने निष्कर्षसहित शेखर अहिलेदेखि नै छलफलमा छन् । त्यसबेला दाजु शेखर सभापतिमा उठेपनि शशांक केन्द्रीय सदस्यमात्रै उठेर कतै खुलेनन् । सुजाता प्रकाशमान सिंहको टीमबाट उपसभापतिमा उठेकी थिइन् । तर, प्रकाशमानले निर्णायक समयमा देउवालाई सघाए । भलै, शशांकले देउवालाई नै सघाएको बताइन्छ ।

शेखर र सुजाता एउटै मञ्चमा भएको त्यसबेला शशांकाले गत असोजमै भनेका थिए, ‘हामी एक छौं, एक भएर जाने कुरा शेखर दा र सुजाताले पनि भन्नुपर्‍यो । हामी तीनैजना एकै ठाउँमा बस्ने हो। एउटा परिवारको सदस्य मिलाउन सक्दैनौं भने देश र पार्टी मिलाउने कसरी ?’

तर, अहिले शेखर र सुजाता एकठाउँमा आइसकेका छन् । कोइराला परिवार एकजुट भए गुमेको विरासत फर्काउन सक्ने लक्ष्यका साथ पहल भइरहेको शेखरनिकट एक नेताले बताए ।

ती नेताले भने, ‘महाधिवेशनको समय आउन त अझै बाँकी छ । तर, अहिले शेखर दाइ र सुजाता दिदी एकैठाउँमा भइसक्नुभएको छ । अब शशांक दाइसँग पनि कुराकानी भइरहेका छन् ।’

यद्यपि, शशांक भने १४ औं महाधिवेशनमा आफूले अप्रत्यक्षरूपमा सघाएको गुन देउवाले तिरेर आफूलाई उत्तराधिकारी बनाउनसक्नेमा आशावादी छन् । देउवा आफू नेतृत्वबाट हटेपनि श्रीमती आरजु राणालाई पार्टी नेतृत्वमा पुर्‍याउन चाहन्छन् । त्यही अनुसारको १५औं महाधिवेशनबाट ल्याउने प्रयासमा छन् ।

देउवाले अहिले आरजुलाई पराराष्ट्रमन्त्री बनाएका छन् । त्यहीअनुसार देउवाले उत्तराधिकारीको खोजी गरिरहेका छन् । महाधिवेशनको समय आउन अझै बाँकी रहेकाले अहिलेसम्म देउवाले कसैलाई बचन दिइनसकेको बताइन्छ ।

तर, शेखर भने सुशील कोइरालाको निधनपछि ०७२ मा देउवाले तोडेको कोइरालाको विरासत फेरि फर्काउने दौडमा छन् । पार्टीको विधान अनुसार अब देउवा पार्टी सभापति हुन पाउँदैनन् । त्यसैले उनले पार्टी नेतृत्व हस्तान्तरणका लागि उपयुक्त पात्र खोजिरहेका छन् ।

देउवाको पक्षमा करिब दुईतिहाइ केन्द्रीय सदस्य भएकाले देउवाले अघि सारेको व्यक्ति नै १५औं महाधिवेशनबाट नयाँ नेतृत्वमा आउने पक्का छ ।

देउवाले नियमित विधानअनुसार महाधिवेशन गराए ०८२ मंसिरमा हुन्छ । एमालेसँग भएको सहमति अनुसार ०८३ असार दोस्रो सातासम्म प्रधानमन्त्री हुने निश्चित छ । त्यसैले देउवाले आफू प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्नको लागि ०८३ सम्म धकेल्न सक्छन् ।

यो अवस्थामा देउवाले आफू अनुकूल टीम बनाउको लागि शशांकजस्तै पूर्णबहादुर खड्का, कृष्ण सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंहलगायत नेताहरू आकांक्षी छन् । इतर पक्षबाट शेखरमात्रै नभइ महामन्त्री थापाले पनि तीव्र तयारी गरिरहेका छन् । तर, आगामी महाधिवेशनमा नेतृत्व लिन इतर पक्ष एकजुट भएर अघि बढ्ने एक नेताले बताए ।

शेखर निकट ती नेताले भने, ‘गगनजीले इतर पक्षको बैठकमा अबको संसदीय दलको नेता शेखर दाइ हो भन्ने घोषणा गर्नुभएको थियो । त्यसैले अबको सभापति पनि उहाँ नै हो भन्ने बुझेका छौं । शेखर दाइलाई अहिले सहयोग गरेर १६ औं महाधिवेशनको उहाँले तयारी गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो ।’

कोइराला परिवारको विरासत फर्काउन साउन ४ गते डा. शेखरको सम्पर्क कार्यालयमा पुगेर सुजाताले भनेका थिइन्, ‘अब कोइराला परिवार एक ढिक्का हुन्छ । डा. शेखरले लिएको लिडरसिपलाई मेरो समर्थन छ । यही ठाउँमा शशांकलाई पनि ल्याउँछौं र ल्याउनुपर्छ ।’

शेखर र शशांकसँग आफ्नो कुनै विवाद नभएको उनले प्रष्ट्याइन् ।

‘हामी एकजुट हुनै पर्छ । हाम्रो बुबा र हजुरबुबाहरूले देख्नुभएको सपनालाई पूरा गर्नैपर्छ । त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ । हामीले मुलुकलाई निकास दिनुपर्छ’, सुजाताको भनाइ थियो ।

कोइराला परिवार एक हुने प्रयास भइरहेको बेलामा शशांक कोइरालाले आगामी महाधिवेशनमा आफ्नो पार्टी सभापतिमा उम्मेदवारी रहने बताए ।

बुधबार चितवन पुगेर उनले भने, ‘आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन । सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।’

शशांकको अहिले निश्चित नभएपनि अन्य कोइराला परिवार शेखरलाई सभापति बनाउने पक्षमा उभिसकेको अर्का एक नेताले बताए ।

ती नेताले थपे, ‘दाइहरूले अब शेखर दाइ नै हो भनिसक्नुभएको छ । शशांकाको उमेर पनि छ । शेखर दाइले अघिल्लो पटक पनि प्रयास गर्नुभएको हो । त्यसबेला प्रकाशमानजीले धोका नदिएको भए जित्ने निश्चित थियो । गगनजीले पनि साथ दिने पक्कापक्की भएकाले अहिले उहाँको माहोल राम्रो छ । शशांक दाइबारे अहिले नै भन्नसक्ने अवस्था छैन । अब अरु सबै परिवार एकैठाउँमा भइसक्नुभयो ।’

तर, केन्द्रीय सदस्य गोविन्द पोखरेलले महाधिवेशन आउन समय अझै बाँकी रहेकाले छलफल भइरहेको बताए ।

उनले भने, ‘शेखर दाइले अघिल्लो पटक पनि प्रतिस्पर्धा गर्नुभएको हो । आगामी महाधिवेशनमा पनि नेतृत्वको स्वत: दाबेदार हुनुहन्छ । छलफल हुँदैछ महाधिवेशन समयमा हुन्छ हुँदैन भन्ने हो ।’

तर, प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीले विधानअनुसार महाधिवेशन गर्ने निर्णय गरिसकेको बताए । तर, नेतृत्वको विषयमा अहिले नै छलफल गर्ने बेला नभएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर