बागमती प्रदेशका कामु सचिव कार्की सचिवमा बढुवा
काठमाडौं । सरकारले बागमती प्रदेशका कायममुकायम (कामु) सचिव गोविन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्कीसहित तीन सहसचिवको नाम सिफारिस गरेको थियो ।
जसमा पहिलो नम्बरमा सहसचिव डा.कमलप्रसाद पोखरेल, दोस्रो नम्बरमा गोविन्दबहादुर कार्की र तेस्रो नम्बरमा महादेव पन्थको नाम सिफारिस गरेको बढुवा सिफारिस समितिले गरेको थियो ।
पहिलो नम्बरमा सिफारिस भएका पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हुन् र तेस्रो नम्बरका पन्थ लुम्बिनी प्रदेशको (कामू) प्रमुख सचिव रहेका छन् ।