युएईमा आममाफी : दुबईमा ‘नेपाल हेल्प डेस्क’, अवैधानिक रहेकालाई सम्पर्कमा आउन दूतावासको आग्रह – Nepal Press

युएईमा आममाफी : दुबईमा ‘नेपाल हेल्प डेस्क’, अवैधानिक रहेकालाई सम्पर्कमा आउन दूतावासको आग्रह

युएई । अवैधानिक रूपमा युएईमा रहेका आप्रवासी कामदारका लागि युएईले दुई महिना समय तोकेर आममाफी (एमनेष्टी) योजना सुरु गरेको छ ।

गत १ सेप्टेम्बर आइतबारदेखि लागू हुने गरी कुनै कारणले गैरकानुनी तवरले बसोबास गरिरहेका आप्रवासी कामदारलाई कानुनी दायरामा ल्याउन समय सीमा तोकी आममाफी घोषणा गरिएको हो ।

यस योजना मार्फत विभिन्न कारणले यूएईमा अलपत्र परेका नेपालीहरूले लाभ लिन सक्नेछन् । तर, फौजदारी मुद्दा लागेका वा भिसासँग सम्बन्धितबाहेक अन्य कुनै पनि मुद्दा लागेकाहरूले भने आममाफी योजनामा सहभागी हुन पाउने छैनन् ।

आममाफी योजनामा सहभागी भई युएई छाड्नेहरूले भविष्यमा पुनः यूएई फर्किन पाउने यूएईको अध्यागमन प्राधिकरणका कार्यवाहक महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैलीले गत साता पत्रकार सम्मेलनमा बताएका थिए ।

अवैध नेपालीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

नेपालीहरूलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधाबीले अनुरोध गरेको छ । युएई सरकारले आइतबारदेखि सुरु गरेको आममाफी प्रक्रियामा स्वदेश फर्किन वा पुनः युएईमा वैधानिक बनेर बस्न चाहने नेपालीलाई समयमै सम्पर्कमा आएर अवसरको फाइदा उठाउन दूतावासले आग्रह गरेको हो । आममाफी प्रक्रियामा सहभागी हुने सम्बन्धमा दूतावासले सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

युएईले यहाँ रहेका खास गरी कामदार प्रदान गर्दै आएका देशहरूका राजदूतहरू मार्फत समेत अवैधानिक रूपमा बस्दै आएका सम्पूर्ण आफ्ना नागरिकलाई आममाफी प्रक्रियामा सहभागी गराउन अनुरोध गरेको छ । सोही अनुसार नेपाली दूतावास आबुधावीले एक प्रेस विज्ञप्तिमार्फत भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका , अध्यागमन नियम उल्लङ्घन गरी धेरै रकम जरिवानामा परेकाहरूलाई आममाफी प्रक्रियामा सहभागी भई युएई छोड्न वा वैधानिक भएर बस्न अनुरोध गरेको छ ।

राहदानी नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात पुर्‍याएर नेपाल फर्कन पाउनेछन् । त्यसका लागि आफू नजिकको अध्यागमन कार्यालयमा जाने र त्यहाँबाट पाएको यात्रा अनुमति पत्र सहित दूतावासमा आई ट्राभल डकुमेन्ट (एक तर्फी यात्रा अनुमति पत्र) बनाएर १४ दिन भित्र युएई छोडिसक्नु पर्ने दूतावासले जनाएको छ ।

यूएईमा वैधानिक भएर रहनका लागि यहाँको श्रम संसाधन मन्त्रालयले प्रमाणित गरेको ‘जब अफर लेटर’ आवश्यक पर्नेछ । त्यसका लागि पनि २ महिनाको समय सीमा भित्र काम गर्ने सम्बन्धित कम्पनीको प्रायोजनमा कामदार अनुमति भिसा लगाइसक्नु पर्नेछ।

राहदानी नभएका तर भिसा लगाएर वैधानिक भई काम गर्न चाहने नेपालीको हकमा दूतावास मार्फत निवेदन दिएर राहदानी बनाउन सकिने दूतावासले जनाएको छ ।

दूतावासले परराष्ट्र मन्त्रालय तथा राहदानी विभाग सँगको समन्वयमा युएईबाट आवेदन दिएका राहदानी फास्टट्र्याकबाट दूतावासमा आउने गरी काम गर्ने तयारी गरेको युएईका लागी नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिए ।

आममाफी योजना मार्फत आफ्नो देश फिर्ता हुन चाहेका नागरिकले शुल्क वा सजाय तिर्नुपर्ने छैन । यसरी स्वदेश फर्किएकाहरू भविष्यमा पुनः यूएई आउन पाउने छन् । तर यूएईको अदालतमा मुद्दा लागिरहेका नागरिकको हकमा भने यो सुविधा लागु नहुने युएईले जनाएको छ । यो प्रक्रियामा हवाई टिकट भने व्यक्ति आफैँले जुटाउनु पर्नेछ ।

युएई सरकारले यस अघि सन् २००८,२०१३ र २०१८ मा गरी तीन पटक आममाफी अभियान चलाएको थियो । पछिल्लो पटक सन् २०१८ को आममाफी प्रक्रिया मार्फत जम्मा १ हजार ९० जना नेपाली स्वदेश फर्किएका थिए ।

युएईमा कति नेपाली गैरकानुनी रूपमा छन् भन्ने यकिन तथ्याकं नभए पनि यस अभियानपछि युएईले कडाइका साथ पक्राउ पनि गर्न सक्ने भएकाले अवसरको फाइदा उठाउनुपर्ने जानकारको भनाइ छ ।

दुबईमा दूतावासको ‘नेपाल हेल्प डेस्क’

आममाफी प्रक्रियामा सहभागी हुने नेपालीको सेवाका लागि नेपाली दूतावासले दुबईमा नेपाल हेल्प डेस्क राखेको छ । दुबईको केन्द्रीय अध्यागमन कार्यालय सँगको समन्वयमा युएईमा सबैभन्दा धेरै नेपाली रहँदै आएको दुबई र उत्तर पूर्वी राज्यहरूका नेपालीका लागि दुबईको केन्द्रीय अध्यागमन कार्यालय अल अविरमा एउटा स्टल राखेर सेवा सुरु गरेको नेपाली दूतावास आबुधावीका श्रम काउन्सिलर दिनबन्धु सुवेदीले बताए ।

‘यस् आममाफी प्रक्रियामा सहभागी हुन चाहने नेपालीका लागी हामीले दिनुपर्ने सेवा सुविधा समयमै उपलब्ध गराउन चाहन्छौ,’ कोही पनि समस्यामा पर्नुभएको छ भने समयमै सम्पर्कमा आउन काउन्सिलर सुवेदीको अनुरोध छ ।

कानूनी रुपमा यूएईमै बस्न वा नेपाल फर्कन सहायता प्रदान गर्ने उद्देश्यले दुबईमा दूतावासले स्थापना गरेको नेपाल हेल्प डेस्ककाको युएई सरकार तथा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री लगायत उच्च अधिकारीहरूले अवलोकन समेत गरेको दूतावासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर