नरेश भट्टका वकिलको मागअनुसार मुद्दा ‘स्पिडी ट्रायल’ मा, ममताको शव खोजेको खोज्यै प्रहरी – Nepal Press

नरेश भट्टका वकिलको मागअनुसार मुद्दा ‘स्पिडी ट्रायल’ मा, ममताको शव खोजेको खोज्यै प्रहरी

ममताका आमा र दाइ पहिलोपटक अदालत गए, इजलासमा के के भयो ?

काठमाडौं । अमेरिकामा हराएकी नेपाली चेली ममता भट्टको मुद्दामा हिजो भएको सुनुवाइले ग्रान्ड जुरी खारेज गरेको छ । अभियुक्त नरेश भट्टका वकिलहरूको मागअनुसार ग्राण्ड जुरी खारेज गरेर मुद्दालाई ‘स्पिडी ट्रायल’ मा लगिएको हो ।

प्रिन्स विलियम काउन्टी अदालतमा भएको सुनुवाइमा पहिलोपटक ममताकी आमा र भाइ पनि उपस्थित भएका थिए । उनीहरूकै आँखाअगाडि प्रहरीले ज्वाइँ नरेशलाई हत्कडी लगाएर इजलासमा ल्याए । तर, ‘इन्टरप्रिटर’ को अभावका कारण सुनुवाइमा विलम्ब भयो । बाक्लो संख्यामा रहेका नेपालीहरूले हल्लाखल्ला गरेपछि सेक्यूरिटीले चेतावनी दिनु परेको थियो ।

न्यायाधीशले सुनुवाइ प्रक्रिया सुरू गरेपछि इन्टरप्रिटरको खोजी भयो । नरेश भट्टका वकिलहरूले इन्टरप्रिटर नभेटिएको बताए । सरकारी वकिलले भर्जिनियाको अदालती प्रणालीमा नै २-३ जनामात्रै इन्टरप्रिटर भएकाले पाउन गाह्रो हुने भन्दै बहस सुचारु गर्न आग्रह गरे । तर, नरेशका वकिलले मानेनन् । जसोतसो एक घन्टापछि एकजना इन्टरप्रिटर झिकाएर बल्ल सुनवाइ आरम्भ भएको थियो ।

हिजोको ‘मोसन हियरिङ’ खासमा नरेशकै वकिलहरूको माग अनुसार राखिएको हो । यसअघिको सुनुवाइमा अदालतले मुद्दा ग्राण्ड जुरीमा पठाउने निर्णय लिएका थिए । उक्त निर्णय खारेजीको माग गर्दै नरेशका वकिलले स्पिडी ट्रायलमा लैजान न्यायाधीशलाई दबाब दिए । स्पिडी ट्रायलमा लैजाँदा मुद्दाको अभियोजन ५ महिनाभित्र गरिसक्नुपर्ने हुन्छ । अन्यथा मुद्दा लाग्दैन ।

अहिले नरेशविरुद्ध शव लुकाएकोमात्रै अभियोग लगाइएको छ । हत्या अभियोग छैन । आफैंले हत्या गरेको ठोस प्रमाण नभेटिएकाले प्रहरी हत्यारा भन्न नसकेको हो । मुद्दालाई जति छिटो प्रक्रियामा लग्यो, प्रहरी उति दबाबमा पर्ने नरेशका वकिलहरूको बुझाइ छ । यदि प्रहरीले हत्याको प्रमाण नभेटेमा शव लुकाएको मुद्दाम‍ात्र लाग्ने र सामान्य सजाय हुन सक्ने भएकाले उनीहरूले स्पिडी ट्रायलका लागि दबाब दिएका हुन् । उनीहरूको अहिलेसम्म ममताको शव नै नभेटिएको हुँदा अभियोग पुष्टि हुने आधारभूत प्रमाणसमेत प्रहरीसँग नभएको तर्क गरेका थिए ।

यसअघिको मोसन हियरिङमा जस्तै हिजो पनि न्यायाधीशले नरेशका वकिलको माग स्वीकार गरे । जसअनुसार मुद्दा ग्राण्ड जुरीको साटो स्पिडी ट्रायलमा जाने भएको छ । तर, ट्रायल कहिले सुरू हुने भन्ने निधो भएको छैन । नरेशका वकिलहरू छिटो छिनोफानो गर्न चाहन्छन् । सरकारी वकिलहरू समय लिन चाहन्छन् । नरेशका वकिलले डिसेम्बरमा र सरकारी वकिलले जनवरी अन्तिम वा फेब्रुअरीमा ट्रयल राख्न माग गरेका थिए । न्यायाधीशले कुनै निर्णय दिन नसकेको न्यूज डब्लुयुएसएले जनाएको छ । समाचारमा जनाइएअनुसार सम्भवत: फेरि अर्को मोसन हियरिङ हुन सक्छ ।

शवको खोजी जारी

मनासस प्रहरीले ममता भट्टको शव खोजी जारी राखेको छ । मनासस पार्क र प्रिन्स विलियम काउन्टी पुलिसले हिजो पनि तीन घन्टासम्म ममताको घर नजिक खोजतलास गरेको थियो । तर, कुनै पनि प्रमाण नभेटिएको प्रहरीले जनाएको छ ।

मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले नरेश भट्टको घर पछाडि ब्लुम्स पार्क र काठ ओछ्याइएको ठाउँमा सर्च गरिएको बताए । डब्लुयूएसएकी संवाददाता केटी लुसोसँग कुरा गर्दै त्यहाँ केही पनि प्रमाण नभेटिएको उनले जानकारी दिए । नेपाली समूदायबाट पाएको सूचना र जानकारीका आधारमा खोजतलास भइरहेको लुगोको भनाइ छ ।

गत शुक्रबार पनि प्रहरीले नरेश भट्टको घर वरपर सघन खोजतलास गरेको थिए । त्यसबेला केही प्रमाणहरु भेटिएको र त्यसको अध्ययनका लागि फरेन्सीक ल्याबमा पठाइएको जानकारी लुगोले दिएका छन् । भेटिएको प्रमाण के हो भन्ने उनले बताउन चाहेनन् ।

ममता अझै पनि जिवित भेटिन सक्ने सम्भावना देख्नुहुन्छ ? भन्ने संवाददताको प्रश्नमा उनले जवाफ दिए, ‘मलाई लाग्दैन कि उनी जिवित छिन् । त्यस्तो कुनै पनि संकेत छैन ।’

आगामी दिनमा पनि शवको खाजतलास जारी राखिने लुगोले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर