धर्म, पर्व, संस्कृति र बजारको उद्धेलनमा तीज – Nepal Press

धर्म, पर्व, संस्कृति र बजारको उद्धेलनमा तीज

तीज हिन्दू धर्मको पौराणिक व्रतकथामा आधारित नेपाली महिलाहरूले मनाउँदै आएको पर्व हो । व्रत बस्नु, पूजा आराधना गर्नुसँग पौराणिक सम्बन्ध त छ नै, आजको परिस्थितिमा तीजले स्वतन्त्रता, प्रेम, गीतसंगीत, सामूहिकता, महिला एकता, सौन्दर्यता, शारिरीक र मानसिक स्वास्थ्य, एक आपसको मैत्रेय सम्बन्ध र सांस्कृतिक सम्मिलनको एकैपटक सन्देश प्रवाह गर्ने सामर्थ्य राख्छ ।

यससँगै आजको तीजले उत्पादन र बजारको प्रभावकारी परिचालन गर्दछ । प्रकृति, धर्म र पर्वलाई सामाजिक परिचालन गर्दछ भने समुदायलाई वर्ग, रंग विभेदरहित बनाउँदै एकै आँगनमा उभाउँदछ । तिथिको हिसाबले भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म ४ दिनभरि मनाइने भनिएको तीज कहिलेदेखि कुन बेलादेखि शुभारम्भ भयो भन्ने यकिन गर्ने ठोस् आधारहरू के हो भन्न सकिन्न तर आफूले थाहा पाएदेखिको समाजले तीजलाई अत्यन्तै धार्मिक अनुशासनमा रही मनाउँदै आएको भन्न सकिन्छ ।

दर खाने दिन विवाहित छोरी माइत आउने र खीर, पुरी, तरकारी, अचार, ढकनीलगायत मीठा-मीठा परिकार घरमै पकाई दरको रूपमा सपरिवार भेला भएर खाने, तीजका लागि विशेष श्रृंगारका सामग्रीहरू चुरापोते, टीका र गच्छे अनुसारको नयाँ कपडाहरू छोरीचेलीलाई उपहार दिने र पछि क्रमशः चेलीबेटीहरू बीच उपहार आदानप्रदान गर्ने जस्ता संस्कृति पनि देख्दै आएका थियौं ।

चाहे महिनौं दिनदेखि तीजको नाममा दर खाने, नाच्ने कार्यक्रम होस् या तीजका नाममा निस्कने भड्किलो, अपत्यारिलो गीतसंगीत होस् । बजारको शासन हामीमाथि हावी हुन्जेल समाज अध्ययनको पाटोमा हाम्रो चेत नखुलुन्जेल हाम्रो संस्कृति, चाडपर्व, धर्म, सभ्यतामाथि यसैगरि सताई सताई आइरहन्छ बजारको साम्राज्य ।

दरको भोलिपल्ट बिहान सबेरै नुवाइधुवाइ गरी, गच्छेअनुसारको वस्त्र तथा श्रृङ्गारले सिँगारिंदै धार्मिक विधिअनुसार महादेवको पूजा, आराधना गरी व्रत बस्ने परम्परागत प्रचलन हो । जुन तीजको मुख्य दिन हो । यो आलेखमा तीजको प्रक्रियाभन्दा पनि तीजमाथि सांस्कृतिक र पूँजी बजारको अतिक्रमणको विषय उठाउन खोजिएको हो ।

पूजा आरतीका समयमा धार्मिक रसका भक्ति गीतसंगीत आँगनमा भेला बसेर गाउने, परिवार तथा समाजमा उपलब्ध परम्परागत बाजा, मादल, खैंजडीलगायतका सामग्री बजाउँदै भक्ति संगीतको माहौल जमाउने क्रममा छोरीचेलीहरूले बिस्तारै त्यतिबेलाको समाजमा अत्यन्तै कार्यबोझले आफूले सहन गर्नुपरेको धपेडी, पीडा र वेदनालाई पनि लोकलयमा गाउन शुरू गरेको हुनुपर्दछ ।

गाउने क्रममा माइतघर छाडेर पराया घर आउनुपर्दाको अवस्थालाई छोरीको कर्मप्रति मार्मिकता भाव प्रकट गर्दै, माइतीको सम्झना, माया गाउनु, सासु, नन्द, आमाजू, श्रीमान् लगायतका नाता सम्बन्धहरूलाई तथा व्यवहारिक असन्तुष्टिहरूलाई, अशिक्षा, गरिबी, पुरातन समाजको विभेदपूर्ण अवस्थाहरू लगायतका विषयहरूलाई चेलीहरूले मौलिक शब्द, लयमा घरको आँगन, पटांगिनीमा जम्मा भएर गाउने संस्कृतिले तीजलाई क्रमशः गीतसंगितमा जोडिंदै लगिएको हो भन्न सकिन्छ । त्यतिबेलाको पितृप्रधान समाज र पितृसत्ताको दबदबाबीच महिलाहरूले आफूले भन्न नसकेको, कसैसँग शेयर गर्न नसकेको व्यवहारिक विषयहरूलाई आफूले गीतको माध्यमबाट प्रकट गर्दै आफ्नो भूमिका, काम, कर्तव्य, उपस्थिति र जिम्मेवारीलाई सबैले गम्भीरताका साथ बुझ्नुपर्ने आशयबाट त्यतिबेलाको गीतहरू प्रस्तुत हुने गर्दथ्यो ।

अभिव्यक्तिको एउटा अवसरका रूपमा यसरी महिलाहरूले तीजलाई संगीतवद्ध गर्दै लगेको थियो, जहाँ दमन, शोषण, अन्याय भयो भन्ने विद्रोह भाव थिएन, तर अधिकारका लागि संगठित चेतनाको बीजको रूपमा तीजको सांगितिक एकता एक सूक्ष्म आधार बनेको थियो भन्न सकिन्छ । क्रमशः तीज तीजको गीत र संगितको लयमा नाचगान, बजानमा व्यापकता वढ्दै आम मानिसहरूको ध्यानाकर्षण बन्दै बढ्दै जान थाल्यो । गीत, संगीतले स्वाभाविक रूपमा सबैको ध्यान आकृष्ट गराउँछ, मनलाई रोमाञ्चित बनाउँछ ।

विशेष गरी २०४६ सालको जनआन्दोलन पश्चात बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापना भएसँगै सक्रिय भएका र खुलेका संघ संगठनहरूसँगै संगठित भएका आम नागरिकहरूले तीज मनाउने ढंगहरूमा परिवर्तनसहितको व्यापकतामा वृद्धि हुन थालेको देखिन्छ । विशेष गरी महिला अधिकारवादीहरूले, राजनीतिक दल तथा संघ संगठनहरूले महिला अधिकारका लागि एकत्रित गर्दै शोषण, दमन र विभेदको विरुद्ध चेतनामूलक गीतहरू गाउने, हक, अधिकार प्राप्तिका लागि संघर्ष गर्ने कुरामा सचेत गराउने अभियानका क्रममा तीजलाई उपयोग गर्दै गएको देखिन्छ । संघसंस्था र संगठनको ब्यानर नै राखेर तीज गीत प्रतियोगिता, नृत्य प्रतियोगिताजस्ता कार्यक्रमहरू सञ्चालन गर्ने, तीजको दरको रूपमा सामूहिक खाजा खाने जस्ता तीजको सन्दर्भका कार्यक्रमहरू सर्वत्र हुन थालेपछि तीज मनाउने स्वरूप परिवर्तनले व्यापकता पाउँदै गयो ।

आजका मानिस सामाजिक प्राणीमात्र होइन । विज्ञान, प्रविधियुक्त विशिष्ट सीप, क्षमतामा दख्खल भएको, विश्व बजारलाई चिन्न, बुझ्न र बदल्नसक्ने शक्ति भएको, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक अधिकार भएको सर्वव्यापी प्राणी हो । तसर्थ आजको समाज सचेत संवेदनाको दृष्टिकोणले अत्यन्तै बलियो समाज हो । यस्तो परिस्थितिमा कुनै पनि चाडपर्व, संस्कृति, धर्म, परम्परा, मौलिकताहरू कसैको अधीनस्थ र कसैबाट च्यूतग्रस्त हुनै सक्दैन ।

दर खाने दिन विवाहित छोरी माइत आउने र खीर, पुरी, तरकारी, अचार, ढकनीलगायत मीठा-मीठा परिकार घरमै पकाई दरको रूपमा सपरिवार भेला भएर खाने, तीजका लागि विशेष श्रृंगारका सामग्रीहरू चुरापोते, टीका र गच्छे अनुसारको नयाँ कपडाहरू छोरीचेलीलाई उपहार दिने र पछि क्रमशः चेलीबेटीहरू बीच उपहार आदानप्रदान गर्ने जस्ता संस्कृति पनि देख्दै आएका थियौं ।

नेपालको संविधान र राज्य सञ्चालनका सबै कानूनहरूमाथि नागरिकको समान पहुँच स्थापित छ । त्यसैले आजको समाज सोहीबमोजिम सांस्कृतिक सहिष्णुता सहित सबै विषयमा समान दख्खल राख्ने कोसिस र हक दुवै स्थापित गर्नसक्दछ । यस हिसाबले तीज आज सबैका बीचमा लोकप्रिय हुँदै सबैको साझा पर्व, साझा संस्कृति बनेको छ ।

विश्व प्रभुत्वमा रहेको उपभोक्तावादी संस्कृति, पूँजीवादी अर्थ व्यवस्थाले गर्दा हाम्रो नेपाली समाजको सांस्कृतिक उतारचढाव, बदलिंदो जीवनपद्दति र आचरण व्यवहारले तीज परम्परागत धार्मिक पौराणिकतामा मात्रै बाँधिन सकेन । विविध आयामहरूका बीचमा लोकप्रियतासहित यसको आयतन फैलँदो छ । विश्वका जुनसुकै देशमा होस् नेपाली पुगेको स्थानमा प्रत्येक नेपालीले अत्यन्तै प्रेमका साथ लिएर जाने आफ्नो पहिचान भनेको नेपाली संस्कृति, चाडपर्व र रितिरिवाजहरू नै हुन् । दशैं तिहार, ल्होछार, उधौली, उभौली, भिन्तुना, संक्रान्ति जस्ता पर्वहरूले जस्तै तीजले पनि महत्वपूर्ण पहिचान बनाएको छ र विश्वभरिका नेपालीहरूलाई एउटै मालामा जोडिदिएको छ ।

नेपालको संविधानले बोकेको विशिष्टता बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक नेपाली समाज र समावेशी नेपालको मार्गदर्शक सिद्धान्तअनुसार महत्वपूर्ण पर्व तीजलाई हाम्रो हिजोको पुस्ताले हुर्काएको, बढाएको मौलिक नेपालीपन र नेपालीमनको लोकलय, मौलिक शब्द र शिष्टता सहितको संगितलाई तीज गितको रूपमा पूनःजागरण गर्ने अवस्था सृजना गर्नसक्नुपर्दछ । विश्वलाई जोड्ने नेपाली पर्व र संस्कृतिहरूलाई राष्ट्रिय सांस्कृतिक पर्वको रूपमा स्थापित गर्दै लैजान सक्नुपर्दछ । जसका लागि हाम्रो मौलिक पर्वको मौलिकता र सामयिक महत्वलाई क्षयीकरण हुन नदिनु हाम्रो पहिलो अभिभारा हुन आउँछ ।

हुन त तीजले पूँजी बजारलाई पनि सकृय बनाएको छ । आजको पूँजीवादी अर्थ प्रणालीले हामी जस्तो विकासशील मुलुकलाई अभ्यास गरीगरी उसको बजार हामी सुहाउँदो बनाइदिन्छ र हामीलाई त्यसैमा अभ्यस्त बनाइदिन्छ । सामाजिक स्तरीकरणको संक्रमणकालीन समयमा छौं, उत्पादन र उत्पादकत्वसँग जोडिनुपर्ने हाम्रो सम्बन्धमा सोझै बजारको साम्राज्यले छोपिदिएपछि हामी बजारकै लय र सूरमा रमाइरहेका छौं र तीज होस् या अन्य जुनसुकै पर्व, बजारकै ढाँचामा मनाइरहेका छौं ।

चाहे महिनौं दिनदेखि तीजको नाममा दर खाने, नाच्ने कार्यक्रम होस् या तीजका नाममा निस्कने भड्किलो, अपत्यारिलो गीतसंगीत होस् । बजारको शासन हामीमाथि हावी हुन्जेल समाज अध्ययनको पाटोमा हाम्रो चेत नखुलुन्जेल हाम्रो संस्कृति, चाडपर्व, धर्म, सभ्यतामाथि यसैगरि सताई सताई आइरहन्छ बजारको साम्राज्य । हामीले ढोका बन्द गर्ने ढंग नजान्दासम्म स्वागत ब्यानर आफैं फैलाउँदै आउनेछ विश्वपूँजी बजार, तेस्रो मुलुकका हामी अझै कहाँ मुक्त छौं र साम्राज्यवादबाट ?

आउनुस् तीजलाई विचारधाराले मनाउँ, रचनात्मक, सृजनात्मक क्रियाकलापहरूले मनाउँ, महिलाहरू मात्र होइन सबै नेपालीहरूले सामाजिक, सांस्कृतिक रूपान्तरणतर्फ प्रोत्साहित गर्दै मनाउँ, राष्ट्रिय संस्कृति निर्माणको मानक बनाउने गतिमा लैजाउँ र राष्ट्रिय पूँजी बनाउने लक्ष्यतर्फ उन्मुख गराउँ ।

धन्यवाद !
anitalama@796

(साहित्यकार समेत रहेकी अनिता लामा बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर हुन्)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *