आमा-छोरा हत्यामा २४ घण्टा बित्दासम्म परेन जाहेरी, अनुसन्धानमा जुट्यो उदयपुर प्रहरी – Nepal Press

आमा-छोरा हत्यामा २४ घण्टा बित्दासम्म परेन जाहेरी, अनुसन्धानमा जुट्यो उदयपुर प्रहरी

गाईघाट (उदयपुर । कटारी नगरपालिका-१० स्थित सोरुङ छबीसेमा आमा-छोरा हत्या घटनाको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा जाहेरी दिइएको छैन । प्रहरीले अनुसन्धन सुरू गरेको जनाएको छ ।

बिहीबार बिहान ४० वर्षीय निर्मला थापा र ६ वर्षीय छोरा आरुस थापा सुतेकै ठाउँमा हत्या गरिएको अवस्थामा भेटिएका थिए । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कटारीको टोली घटनास्थल पुगेको थिए ।

सर्जमिन मुचुल्कापछि दुवैजनाको शव पोस्टमार्टमका लागि कटारी अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय इन्स्पेक्टर उमेश महतोले बताए ।

बिहीबार बेलुकीसम्म पीडितको तर्फबाट कसैले जाहेरी नदिएको महतोले बताए । हत्या गरिएका निर्मला थापाको श्रीमान् अशोक थापा दुई वर्षअघि दोस्रो विवाह गरी भारततिर गएका थिए ।

श्रीमानले दोस्रो विवाह गरेपछि निर्मला एक छोरासँग गाउँको वडा कार्यालयनजिकै पसल चलाएर बस्थिन् । बिहीबार बिहान आमा-छोरा नै बेडमा घोप्टो अवस्थामा मृत भेटिएको र टाउकामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय दीपक राउतले बुधबार साँझ ८ बजेसम्म मूलघरको देवरहरूसँग निर्मलाको फोनमा कुरा भएको बताए ।

‘साना साना देवरहरू थिए उनीहरूलाई बिहान आउँछौ भनेका थिए रे । बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ’, राउतले सुनाए ।

घटनास्थलमा अनुसन्धानका लागि विज्ञ प्रहरी टोली खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन चापागाईँले बताए ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर