पल शाहको गुनासो- मुद्दा लड्दा करोडौं सकियो, अहिले पनि माइनसमा छु – Nepal Press

पल शाहको गुनासो- मुद्दा लड्दा करोडौं सकियो, अहिले पनि माइनसमा छु

काठमाडौं । अभिनेता पल शाहले एक वर्ष मुद्दा लड्दा आफूलाई आर्थिकरूपमा चर्को क्षति पुगेको गुनासो गरेका छन् । सोही कारणले काठमाडौंमा घर बनाउने सपना अहिलेसम्म अधुरो रहेको उनको भनाइ छ ।

गायिका समीक्षा अधिकारीले पलविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि उनी पक्राउ परेर एक वर्ष जेल जीवन बिताएका थिए । पछि उनले उच्च अदालत पोखराबाट सफाइ पाए । जेलबाट निस्किएपछि पुन पहिलेकै रफ्तारमा काम गरिरहेका छन् ।

आफ्नो चलचित्र रावायणको प्रमोसनका क्रममा युट्यूवमा अन्तर्वार्ता दिँदै हिँडिरहेका पललाई युट्यूवरहरूले थरिथरि प्रश्न सोधिरहेका छन् । एक अन्तर्वार्तामा उनलाई मुद्दा लड्दा भएको खर्चबारे सोधिएको थियो । पलले यो मुद्दा आफ्नो लागि महंगा परेको संकेत गरे ।

उनले भने, ‘कानूनी काममा वकिलहरूलाई पे गर्नुपर्ने हुन्छ । हामीले सर्वोच्चकै ‘ए’ ग्रेडका ४-५ जना वकिल हायर गरेका थियौं । बाँकी लोकल वकिलहरू पनि थिए । प्रत्येक बहसमा वकिललाई काठमाडौंबाट ल्याउनुपर्‍यो । प्लेन टिकट काट्नुपर्‍यो । वान वे टिकटकै ५ हजार पर्छ । राम्रै होटलमा राख्नुपर्‍यो । एकपटकमा १० जना वकिल हुन्छन् । एक वकिलले न्यूनतम एक लाख लिन्छन् । यसरी एक पटकमा १०-१५ लाख सकिन्थ्यो । एक वर्षभित्र ४०-५० पटक बहस भयो होला । त्यसरी धेरै खर्च भयो ।’

उनले जेल जानुअघि आफू काठमाडौंमा घर बनाउने तयारीमा रहेको खुलाए । तर, मुद्दामा करोडौं खर्च भएपछि सेभिङ सकिएको र आफू माइनसमा गएको उनको भनाइ छ ।

शाहले भने, ‘सबै राम्रो भइरहेको थियो । हामी काठमाडौंमा घर बनाउने तर्खरमा थियौं । जग्गा–सग्गा लिएर रेडी भएको थिएँ । तर, त्यो घटना भयो । अनि त भएको सबै सेभिङ सकियो । अकाउन्ट रित्तिएर पनि म माइनसमा गएँ ।’

अब घर बनाउन अझै केही वर्ष लाग्ने उनले बताए ।

‘तपाईंहरूको आशीर्वाद भयो र सबै काम राम्रो हुँदै गयो भने केही बर्षमा हुन्छ । पहिले घाटामा गएको चिजहरू फुलफिल गर्न बाँकी छ । अहिले पनि माइनसमै छु,’ उनले थपे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर