वरिष्ठ कलाकारको गुनासो- मरेर जाने त गइहाले, बाँच्नेहरूको योगदानको पनि मूल्य छैन – Nepal Press

वरिष्ठ कलाकारको गुनासो- मरेर जाने त गइहाले, बाँच्नेहरूको योगदानको पनि मूल्य छैन

केही महिनाअघि एउटा मिडियामा ‘काठमाडौंमा उपचार गर्न नसक्दा गाउँ फर्किए गुरुदेव कामत’ भन्ने शीर्षकमा मेरा आँखा पुगे । समाचार सरसर्ती हेर्दा थाहा भयो कि दुबै मृगौलाले काम नगरेपछि महँगो उपचार गर्न आर्थिक हैसियतले नथेग्ने भएपछि गायक तथा संगीतकार कामतले उपचार नगरी गाउँ नै र्फकिने निर्णय गरेका रहेछन् । त्यसको केही दिनपछि ‘गायक कामतको निधन’ शीर्षकमा अर्को समाचार आयो ।

कमेन्ट हेरें, कसैले श्रद्धाञ्जली त कसैले उनको तारिफमा शब्दहरुका माला बुनेको देखे । सोचें, जीवन छँदै तिम्रा तारिफ मिश्रित शब्दहरु पैसामा रुपान्तरण हुने भइदिएको भए आज बाँच्ने सम्भावनाको देशको एउटा प्रतिभा अस्ताउने थिएन होला ? मनमनै भनें, ‘कठै गीत-संगीतमा जिन्दगी समर्पित गरेर आखिर तिमीले के पायौं कामत ? एउटा नाम चलेको, देशलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाएर, मर्ने बेलामा पैसाको चरम अभाव खेप्नुपर्ने यो कस्तो विडम्बना ?

कामतको निधनसँगै केही वरिष्ठ कलाकारहरुले मसँगको वार्तालापमा पोखेका दुःखेसोहरु सम्झे । वार्तामा वरिष्ठ गायिका मीरा राणाले कलाकारलाई राज्यले दिने असली सम्मान कस्तो हुन्छ, त्यो अहिलेसम्म अनुभूत गर्न पाएको छैन भन्नुभएको थियो ।

‘मरेर जाने त गइहाले, तर हामी बाँचेकालाई पनि मरिसकेको जस्तो व्यवहार छ । कहाँ छन्, कुन हालतमा छन् भनेर कहिल्यै खोजी हुन्न’, उहाँले भन्नुभएको थियो, ‘पूरै जिन्दगी गीतसंगीतमा बिताइयो । अब मर्ने बेलामा औषधोपचारमा कलाकारको हैसियतले केही छुट वा निःशुल्क भइदिए, त्यही ठूलो सम्मान हुने थियो ।’

यस्तै गुनासो अर्की वरिष्ठ गायिका ज्ञानु राणाको पनि छ ।

राणाले भन्नुभयो, ‘कति कलाकारहरुको दर्दनाक मृत्यु भएको छ, लाश उठाउन पनि हामीले सांस्कृतिक कार्यक्रम गरेर पैसा उठाएर दाहसंस्कार गरेका छौं । बाँचुञ्जेल खोजिँदैन, जब मृत्यु हुन्छ तब उहाँ यस्तोउस्तो गाउनुहुन्थ्यो भन्यो, त्यही एक दिन रेडियो, टीभीमा गीतहरु बजायोे । १३ दिनमा माला लगायो अनि बिर्सियो । त्यति हो कलाकारको, बाचुञ्जेल के खाए, कसरी जिन्दगी बिताए, बिरामी छन् कि भन्ने खै सोचाइ ?’

वरिष्ठ गायिका एवं रचनाकार पद्मावती सिंहले पनि यस्तै दुःखेसो पोख्नुभएको थियो । सिंहले भन्नुभयो, ‘राजनीतिले कलालाई हेर्न कहाँ फुर्सद छ र ? आफू-आफैं झगडा गर्दै ठिक्क छ ।’

यतिमात्रै हैन राज्यले कलाकारहरुलाई उपेक्षा गरेकोप्रति गायक लाक्पा शेर्पाको पनि मन दुःखेको छ । शेर्पाले कलाकारलाई संरक्षण नगर्ने भए कलाकारलाई राष्ट्रका गहना भन्नुको केही अर्थ नभएको बताउनुभयो ।

शेर्पाले थप्नुभयो, ‘जीवनको उत्तरार्द्धमा पुग्दा विभिन्न रोगसँग जुधिरहेका कलाकारहरुलाई सम्मानस्वरुप केही सहुलियतमा औषधि वितरण गर्नुको साथै कलाकारलाई सरकारी अस्पतालमा आरक्षण बेडसम्म मात्रैको व्यवस्था भएको भए पनि केही राहत हुन्थ्यो, तर यहाँ कसले गर्ने ?’

यी केही प्रतिनिधिमूलक भनाइमात्रै हुन् । त्यतिमात्रै हैन कला र कलाकारको सम्मानको लागि भनेर खोलिएका दर्जनौं संघसंस्थाले पनि सोचे जस्तो काम गर्न नसकेकोप्रति धेरै कलाकारहरु दुःखी छन् ।

कलाकारको योगदानकाे मूल्यांकन कहिले ?

देश भन्नेबित्तिकै कुनै निश्चित भूभागलाई चिनिन्छ, तर देशको परिभाषा यत्तिमै मात्रै सीमित छैन । भौगौलिक बनावट र मानिसका निश्चित संख्या त केवल अंकगणितीय कुरामात्रै हुन्, तर देशलाई चिनाउने अन्तर्राष्ट्रिय जगतमा भनेका त त्यहाँका साहित्य कला, संस्कृतिले नै हो । कला-संस्कृति, गीत, संगीत देश पहिचानका अभिन्न अंग हुन्, तर किन ती अभिन्न अंगहरु बेसहारा जस्तै बन्दैछन् । देशको कला-संस्कृतिलाई आफ्नो कलाबाट विश्वभर चिनाइरहेकाहरु किन अवहेलनामा परिरहेका छन् ।

प्रसिद्ध गायक, संगीतकार र ब्यान्डहरुले अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउन मद्दत गर्छन् र उनीहरुको संगीतले देशको सांस्कृतिक छवि प्रस्तुत गर्नसक्छ । अन्तर्राष्ट्रिय संगीत महोत्सव र प्रतियोगिताहरुमा भाग लिँदा देशका कलाकारहरुले आफ्नो संगीत प्रस्तुत गरेर आफ्नो देशलाई विश्वसामु चिनाउन सक्छन् । गीत-संगीत भावना, विचार, संस्कृति व्यक्त गर्नसक्ने शक्तिशाली माध्यम हो, जसले कुनै पनि देशलाई विश्वसामु चिनाउन ठूलो योगदान दिन्छ, तर धेरै पटक उनीहरुको योगदानलाई समाजले बिर्सेको जस्तै देखिन्छ । यस्तो अवस्थामा उनीहरुको मन दुख्नु स्वाभाविक नै हो । यसो हुनका केही कारण र प्रभावहरु यस्ता छन् ।

कारणहरु

अवमूल्यन : धेरै वरिष्ठ कलाकारलाई उनीहरुको योगदानको लागि उचित सम्मान र मान्यता दिइँदैन । त्यसैगरी समयसँगै नयाँ कलाकारहरुको उदयले पुराना कलाकारहरुको योगदान छायाँमा पर्न जान्छ ।

आर्थिक समस्या : जीवनभर कला क्षेत्रमा काम गरेपछि पनि धेरै कलाकार आर्थिक कठिनाइबाट गुज्रनुपरेको हुन्छ । विभिन्न जटिल खालका रोगहरु लागेमा आफ्नो श्रीसम्पत्ति सबै बेचे पनि अपुग हुने समय आउँछ । उनीहरुको बुढेसकालमा आवश्यक पर्ने आर्थिक सहयोगको अभाव हुनसक्छ ।

सामाजिक उपेक्षा : सामाजिक, सांस्कृतिक कार्यक्रमहरुमा उनीहरुको उपस्थितिलाई कम महत्व दिइन्छ । धेरै पटक उनीहरुको राय र अनुभवलाई नजरअन्दाज गरिन्छ ।

स्वास्थ्य समस्या : वरिष्ठ कलाकारहरुले स्वास्थ्य समस्याहरुको सामना गर्नुपर्छ र उचित स्वास्थ्य सेवाको अभावमा उनीहरुको जीवन कठिन हुन जान्छ ।

प्रभावहरु

विभिन्न समस्याले गाँज्दै लगेपछि निम्न प्रभावहरु देखिन पुग्छन्ः

मानसिक स्वास्थ्य : उमेर र रोग बढ्दै जाँदा धेरैको मनोबल घट्नुका साथै डिप्रेशन जस्ता मानसिक समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । एक्लोपन र असुरक्षाको भावनाले पनि भित्रभित्रै पिरोलिरहेको हुन्छ ।

सामाजिक प्रभाव : समाजमा प्रेरणादायी पात्रहरुको रुपमा देखिनुपर्ने वरिष्ठ कलाकारहरुले उपेक्षित महसुस गर्दा समाजमा पनि यसको नकारात्मक प्रभाव पार्छ, जसले गर्दा नयाँ पुस्ता पनि उनीहरुको अनुभव र ज्ञानबाट वञ्चित हुन पुग्छन् ।

कलाकारप्रति राज्यकाे दायित्व

आर्थिक सहयोग : कलाकारहको बुढेसकालका लागि उचित पेन्सन र आर्थिक सहायता प्रदान गर्न आवश्यक छ । आर्थिक सहयोगले कलाकारलाई आफ्नो काममा केन्द्रित हुन ऊर्जा दिने भएकाले अनुदान, पुरस्कार, छात्रवृत्ति र सरल लोन आदि कुनै पनि माध्यमबाट सहायता गर्न सकिन्छ ।

स्वास्थ्य सेवा : वरिष्ठ कलाकारहरुको स्वास्थ्य सेवाको लागि विशेष सुविधा र प्राथमिकता दिनुपर्छ । जस्तै औषधोपचारमा केही प्रतिशत छुट आदि ।

सांस्कृतिक संरक्षण : वरिष्ठ कलाकारहरुको अनुभव र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । उनीहरुको योगदानलाई संरक्षण र प्रचार गर्न पुस्तक, वृत्तचित्र प्रकाशन प्रशारण गर्न सकिन्छ ।

प्रचार : कला महोत्सव, अन्तर्राष्ट्रिय प्रदर्शनी र प्रतियोगिताहरुमा वरिष्ठ कलाकारलाई प्राथमिकतासहितको सहभागिताको सुनिश्चिततामा जोड दिन सकिन्छ ।

कानूनी संरक्षण : कलाकारहरुको बौद्धिक सम्पत्तिको संरक्षणका लागि प्रतिलिपि अधिकार, ट्रेडमार्क र अन्य बौद्धिक सम्पत्तिसम्बन्धी कानूनहरु कडाइका साथ कार्यान्वयन गरिनुपर्छ ।

यी माथि उल्लेखित केही समाधानका उपायमात्रै अपनाउन सकिएमा पनि कलाकारहरुको धेरै मागको हल हुने थियो । राज्यको उपस्थितिको पनि महसुस गरिने थियो, जसले गर्दा आफूलाई अप्ठेरो पर्दा, हाम्रोपछि राज्य छ है भन्ने भावले कलाकारहरुको मनोबल र सक्रियता बढ्ने थियो । अनि गायक तथा संगीतकार गुरु कामतमात्रै हैन कुनै पनि कलाकारले आर्थिक समस्याकै कारण बिचल्लीमा पर्नुपर्ने अवस्था आउने थिएन ।

कलाकारलाई फगत शब्दको पुलिन्दा गाँसेर तालीका ठेलीमात्रै उपहार दिनुभन्दा पनि उनीहरुको परिस्थिति र आवश्यकता हेरेर कदम चाल्नेतर्फ ध्यान दिने समय आएको हो कि ? राज्यले केही गरेन भनेर मन दुःखाइरहेका वरिष्ठ कलाकारहरुको मन बुझाउने आखिर कसले ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर