भारतीय एनडीसी प्रतिनिधिमण्डलको पाँच दिने नेपाल भ्रमण समापन – Nepal Press

भारतीय एनडीसी प्रतिनिधिमण्डलको पाँच दिने नेपाल भ्रमण समापन

काठमाडौं । विदेशी मित्रराष्ट्रहरु अष्ट्रेलिया, भुटान, जापान, कजाकिस्तान, ओमान र अमेरिका तथा भारतका निजामती सेवा र रक्षा बलका २१ जना वरिष्ठ अधिकारीहरु सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६४ औं कोर्षको एक प्रतिनिधिमण्डलले नेपालको पाँच दिने भ्रमण गरेको छ ।

उक्त टोलीले भदौ १६ देखि २० सम्म नेपालको भ्रमण गरेको हो ।

रियर एड्मिरल सन्दीप एस सन्धु, एनएम, सिनियर डाइरेक्टिङ्ग स्टाफ (भारतीय नौसेना) ले नेतृत्व गरेको भ्रमण टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र रक्षामन्त्री मानवीर राईसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।

टोलीले नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति रथी अशोकराज सिग्देलसँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेको थियो । टोलीले काठमाडौंस्थित नेपाली सेनाको मुख्यालय र पश्चिम पृतना हे.क्वा.को भ्रमण गरी रक्षा सहकार्य प्रवर्द्धन हेतु विभिन्न पक्षमाथि छलफल गरेको थियो ।

उच्च राष्ट्रिय निर्देशन तथा रणनीतिका व्यापक पक्षहरूबारे वरिष्ठ रक्षा र निजामती सेवा अधिकारीहरूका लागि भारतको राष्ट्रिय रक्षा महाविद्यालय विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरूमध्ये एक हो । विदेशी मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीहरू पनि उक्त कोर्षमा सहभागी छन् ।

हाल नेपाली सेनाका चार जना अधिकृतहरु यस प्रतिष्ठित कोर्षमा सहभागी छन् भने नेपाली सेनाका निवर्तमान प्रधानसेनापति प्रभुराम शर्मासहित नेपाली सेनामा कार्यरत १५ जना अधिकृतहरु यस संस्थाका विशिष्ट पूर्व छात्रसमेत हुन् । राष्ट्रिय रक्षा महाविद्यालय, नयाँ दिल्लीबाट प्रशिक्षित भएका नेपाली सेनाका अधिकारीहरुले आ–आफ्नो विशेषज्ञताका क्षेत्रमा महत्त्वपूर्ण नियुक्तिहरू पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर