नेपाल प्रहरीमा स्टाफ कलेज सरहको स्नातकोत्तर सन्चालनका लागि त्रिविसँग सम्झौता, एमपीएस उत्तीर्ण नगरे एसएसपीमै रोकिने – Nepal Press

नेपाल प्रहरीमा स्टाफ कलेज सरहको स्नातकोत्तर सन्चालनका लागि त्रिविसँग सम्झौता, एमपीएस उत्तीर्ण नगरे एसएसपीमै रोकिने

काठमाडौं । नेपाल प्रहरीमा स्टाफ कलेज सरहको मास्टर इन पुलिस साइन्सेस (एमपीएस) सन्चालनका लागि त्रिभुवन विश्वविद्यालयसँग शुक्रबार सम्झौता भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि बोल्दै गर्नुका साथै समझदारीपत्र आदान प्रदान समेत गरे ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा एमपीएस रहने बताए ।

रिसर्च, अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास भई नेपाल प्रहरीको आधुनिकीकरण तथा सांगठनिक सुदृढिकरणका क्षेत्रमा अपेक्षित लक्ष्य प्राप्त हुनेमा विश्वस्त रहेको उनले बताए ।

प्रहरी निरिक्षकबाट भर्ना भएर कम्तिमा ८ वर्ष सेवा गरेका प्रहरी निरिक्षक र डीएसपीले एमपिएस कोर्स गर्न पाउँछन् । ३५ जनाको कोटाका लागि प्रवेश परिक्षा लिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । केही महिनाभित्रै कोर्स सुरु गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय छ ।

यो कोर्स सन्चालन हुन थालेपछि प्रहरीको सरुवा बढुवामा ब्यापक प्रभाव पर्ने छ । बढुवाका लागि शक्ति केन्द्र धाउने प्रचलनको अन्त्य हुने प्रहरी प्रधान कार्यालयको विश्वास छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका अनुसार अब एसपीमा ६० प्रतिशत एमपीएस उत्तिर्णहरु बढुवा हुनेछन् भने ४० प्रतिशतको हकमा कार्य सम्पादनलगायत अन्य व्यवस्थालाई हेरिने छ ।

यस्तै, एसएसपीमा रिक्त दरबन्दीको ८० प्रतिशत एमपीएस उत्तीर्णले अवसर पाउनेछन् भने २० प्रतिशत कार्य सम्पादनलगायत आधारमा हुनेछन् । एसएसपीबाट डीआईजीमा बढुवा हुन भने अनिवार्य एमपीएस उत्तिर्ण हुनुपर्ने व्यवस्था गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एमपीएस प्रवेश परिक्षामा एक जनाले तीनपटक सम्म भाग लिन पाउनेछन् ।

तत्कालका लागि एमपीएस एउटा कोर्सका रुपमा मात्र सन्चालन हुने छ र प्रहरी ऐन तथा नियमावलीमा वृत्ति विकाससँग जोडेर राखेपछि मात्र बढुवाका लागि यसको व्यावहारिक कार्यान्वयन सुरु हुने छ । प्रहरी प्रधान कार्यालयका अनुसार एमपीएस कोर्सलाई वृत्ति विकाससँग जोड्ने गरी नयाँ प्रहरी ऐनमा प्रस्ताव गरिएको छ।

‘एमपीएस कोर्सलाई वृत्ति विकाससँग कसरी जोड्ने भनेर हामीले एक खालको प्रस्ताव गरेका छौं । तर यो ऐन र नियमावलीमा समावेश भएपछि मात्र कार्यान्वयन सुरु हुन्छ’, प्रहरी प्रशिक्षण प्रतिष्ठानका एक अधिकारीले भने ।

सुरुमा २०७० को इन्सपेक्टर भर्ना ब्याचबाट एमपीएस कोर्समा सहभागी हुन मिल्ने गरी व्यवस्था मिलाइएको ती अधिकारीले बताए । संघीय प्रहरी ऐन बन्ने तयारीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर