‘एमालेबाट एकताको प्रस्ताव आए वार्ताको टेबलमा बस्न माधव नेपाल तयार हुनुहुन्छ’ – Nepal Press
नेपाल टक

‘एमालेबाट एकताको प्रस्ताव आए वार्ताको टेबलमा बस्न माधव नेपाल तयार हुनुहुन्छ’

नेकपा एसका सचिव सोम पाण्डे भन्छन्- महाधिवेशनमा चीट बाँडेको विषयमा पार्टीभित्र छानबिन हुँदैछ

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा हालै भएको पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनपछि असन्तुष्टि बढ्दो छ । निर्वाचनले पार्टीभित्र सुषुप्त अवस्थामा रहेको गुटबन्दीलाई एकै पटक छताछुल्ल बनाइदिएको छ ।

१७ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि भएको निर्वाचनमा अध्यक्ष नेपाल र महासचिव भुसाल पक्षधरले आ-आफ्नो टीमको नाम लिस्ट बाँडेका थिए । निर्वाचित पदाधिकारीमा महासचिव भुसालको लिस्टबाट ७ जना विजयी भए । निर्वाचनमा अध्यक्ष नेपाल र महासचिव भुसाल खेमाबीच खुलेआम गुटगत प्रतिस्पर्धा भएको थियो । महासचिव भुसाललाई सम्मानित नेता झलनाथ खनालको पनि साथ रह्यो ।

यो विषयले अहिले नेकपा एसभित्र जिल्ला तहमा पनि विवाद पुगेको छ । यो निर्वाचनपछि पार्टीभित्र देखिएको असन्तुष्टि र त्यसबारे छानबिनको अवस्था, पार्टीको आगामी कार्ययोजना, समाजवादी मोर्चाको लक्ष्यलगायतको विषयमा केन्द्रित रहेर नेकपा एसका सचिव सोमप्रसाद पाण्डेसँग नेपाल प्रेसले गरेको कुराकानीः

– महाधिशेनको दुई महिनापछि पार्टीले नेतृत्व चयन गर्‍यो । त्यसले पार्टीमा असन्तुष्टि चर्काएको हो ?

बाहिर चर्चा भए जस्तो त्यस्तो ठूलो असन्तुष्टि भएको होइन । केही केही साथीहरुले आवाज उठाउनुभएको छ। केही संख्यामा देखिए पनि ठूलो संख्यामा पार्टीभित्र असन्तुष्टि देखिन्न ।

– यो निर्वाचनले त पार्टीभित्र अध्यक्ष र महासचिवको स्पष्ट गुट नै देखियो नि !

त्यस्तो छैन, सुरूमा अध्यक्ष नै चयन गर्नुअघि केही लागेका थिए, तर बाहिर आएको जस्तो गुटबन्दी छैन ।

– तर, आफू अनुकूलको टीम ल्याउन अध्यक्ष र महासचिवको निर्देशनमा बेग्लाबेग्लै चीट बाँडिएको भन्ने नेताहरूको आरोप छ नि ?

यो एकदम गलत कुरा हो । चीट एउटामात्रै होइन साथीहरूले आफूलाई भोट माग्न बेग्लाबेग्लै दिनुभएको रहेछ । त्यहाँ सात वटा चीट भएको देखियो, तर त्यस्तो कुनै माधव नेपाल, घनश्याम भुसाल, झलनाथ खनाल, राजेन्द्र पाण्डेलगायत कसैले पनि गराएका होइनन् ।

– रामकुमारीदेखि जीवनराम श्रेष्ठहरूले अध्यक्षकै निर्देशनमा चिट दिएर हामीलाई हराइयो भन्ने बाहिरै बोलिरहनु भएको छ त ?

उहाँहरू आफैंले चीट दिनुभएको छ । उहाँहरूको पनि नाम छ । कुन कसको छ, कुनमा कसको छ ? जस्तो म पनि सचिवको उम्मेदवार थिएँ, तर, मेरो नाम चीटमा छैन । मैले लोकप्रिय भोट ल्याएर जितेँ । केहीमा मात्रै देखिन्छ ।

त्यो साथीहरूले आफूखुसी आफू जित्न बाँडेको हो । त्यसमा माधव नेपाल, घनश्याम भुसालले कुनै तयारी गरेर बनाएको होइन । त्यो बाहिर आएपछि हामीले पनि माधव नेपाललाई सोधेका थियौं । त्यसैले त्यसमा शीर्ष नेताहरूको संलग्नता देखिँदैन । उहाँहरुको निर्देशनमा भएको भए टीमको एउटै चीट हुन्थ्यो, तर त्यहाँ बेग्लाबेग्लै छ ।

– यो विषयमा अध्यक्षले छानबिन गर्छु भन्नुभएको थियो । त्यो प्रक्रिया सुरू भयो ?

अनुशासन आयोगले छानबिनको प्रक्रिया अगाडि बढाएको छ । ज-जसले बाँडे, त्यसले आफू उम्मेदवार भएको पदमा आफ्नो नाम पहिलो नम्बरमा राखेको जस्तो हामीले प्रारम्भिक रूपमा बुझेका छौं । हामीले त्यही शंका गरेका छौं, तर त्यसलाई आधिकारिक रूपमा कुनै प्रभाव पार्दैन ।

केन्द्रीय सदस्यहरूलाई बाँडेको चीटले केही प्रभाव पार्दैन । सबैले आफूले भोट हाल्नेलाई पहिले नै तय गरिसकेका हुन्छन् । प्रश्न उठेपछि खोजीको विषय बन्छ, तर शीर्ष नेताहरूको संलग्नता देखिँदैन । माग आएपछि खोजी गर्न अनुशासन आयोगले काम गरिरहेको छ ।

– तर खल्तीबाट आएका केन्द्रीय सदस्यहरू आफू अनुकूल टीम नेतृत्वमा ल्याउन प्रयोग भए भन्ने आरोप छ नि ?

त्यो सम्भव हुँदैन । कसैले पनि आफू अनुकूल बनाउने भनेर प्रक्रिया अगाडि बढाएको होइन । यो विषयमा माधव नेपाल पनि असन्तुष्ट हुनुहुन्छ, कसले र किन बनायो भनेर ? उहाँले हामीहरूसँग पनि कडा रूपमा नै कुरा गर्नुभएको थियो । मसँग अस्तिमात्रै कुरा गर्दा पनि कसले गर्‍यो यो, खोजीको विषय बन्नुपर्छ भन्नुभएको छ ।

यो आफू अनुकूल नेतृत्व ल्याउन चीट बाँडिएको होइन, हामी त्यसमा प्रस्ट छौं । अब केन्द्रीय सदस्य पनि पार्टीभित्र मापदण्ड बनाएर सर्वसम्मत रूपमा ल्याएकोलाई कसैको अनुकूल भन्ने हुँदैन ।

– महाधिवेशनपछि असन्तुष्ट नेताहरू एमालेमा फर्किन संवादमा रहेको बताइन्छ । पार्टीमा केही सूचना आएको छ ?

यो महाधिवेशनपछि मात्रै होइन, केही केही साथीहरूको चाहना पहिले पनि अभिव्यक्त हुन्थ्यो । जानेहरू कसैले कसैलाई रोक्न सक्दैन, तर यो महाधिवेशनमा पदाधिकारी छनोट प्रक्रियाकै असन्तुष्टिको कारणले चाहिँ एमाले फर्किने हुनुहुन्छ जस्तो लाग्दैन । पहिलादेखि नै एमालेसँग नजिक भएकाहरूको मनसाय हुनसक्छ, तर कोही पनि अहिले जानुहुन्छ जस्तो लाग्दैन ।

– नेकपा एसका केही सांसदसहित नेताहरूलाई पार्टीमा फर्काउन एमालेका नेताहरू सक्रिय रहेको बताइन्छ नि !

एमालेका नेताहरू अहिले त्यसरी सक्रिय भए जस्तो लाग्दैन । त्यसो त एमाले र बाहिरका साथीहरूलाई संगठित बनाउन त हामी पनि लागेका छौं । उहाँहरू पनि लाग्नु त स्वाभाविक नै हो, तर यो महाधिवेशनपछि एमालेको कुनै त्यस्तो शक्ति बनेर नेकपा एसका नेताहरूलाई फिर्ता ल्याउँछौं भनेर लागेको लाग्दैन ।

– अहिले भीम रावल र वामदेव गौमतलाई पनि पार्टीमा भित्र्याउने प्रयास भइरहेको छ ?

उहाँहरूलाई पनि पार्टीमा प्रवेश गराउन अलिअलि छलफल भएको छ, तर घनीभूत रूपमा कुनै विषयवस्तु राखेर छलफल भएको छैन ।

– उहाँहरूले खास माग चाहिँ के राख्नुभएको छ ?

त्यस्तो मूर्त रूपमा त केही आएको छैन । वामदेव गौतमले चाहिँ केही पदीय जिम्मेवारी पनि पाए हुन्थ्यो भन्नुभएको थियो । त्यो त अब सम्भावना छैन । अरु थप छलफल भएको छैन । हामी वाम एकताको निम्ति छलफल चलाइरहेका छौं । माधव नेपालले वाम एकताको लागि विप्लव, नारायणमान बिजुक्छे, मोहनविक्रम सिंह, मोहन वैद्य, सीपी मैनालीसँग पनि पछिल्लो समय छलफल गर्नुभएको छ । त्यसैले प्रारम्भिक छलफल भएको छ, तर ल्याउने गरी कुनै छलफल भएको छैन ।

– वामदेव गौतमले आफू आउन तयार रहेको बताउँदै आइराख्नुभएको छ । तपाईंहरूले ल्याउन नचाहेको हो ?

हामीले नचाहेको पनि छैन । बाहिर जसरी आएका छन्, त्यसरी प्रस्ताव पनि आएको छैन । म पनि पार्टी एकता र नेताहरूसँग संवाद गर्नेमध्येको एक हुँ । पार्टी र कम्युनिष्ट आन्दोलन बचाउनुपर्छ भनेर लागिरहेको छु ।

एमालेमै हुँदा पनि पार्टी नफुटोस् भनेर धेरै कोसिस गरेको हुँ त्यसबेला पनि । अहिले पनि वामदेव गौतम र भीम रावलजीसँग अनौपचारिक कुरा भएको छ । औपचारिक भएको छैन ।

– भीम रावललाई भित्र्याउन तपाईंहरू उहाँले रोजेको जिम्मेवारी दिन तयार हुनुभएको हो ?

उहाँलाई ठाउँ दिन हामीलाई कुनै हिचकिचाहत छैन । कुनै समस्या छैन । उहाँले कस्तो खालको जिम्मेवारी लिने भन्ने उहाँको पनि प्रस्ताव आउनुपर्‍यो ।

– तपाईंहरू वाम एकताको पक्षमा हुनुहुन्छ केही समयअघि माओवादीसँगको एकता भइहाल्छ भन्ने ढंगले चर्चा चलेको थियो । त्यो अहिले के हुँदैछ ?

माओवादीसँग एकताको विषयमा कुनै तार्किक निष्कर्षमा पुग्नेगरी छलफल भएको होइन । अस्ति घनश्याम भुसालले पनि त्यसबारेमा भन्नुभयो, हावा नलागी पात हल्लिनँ भनेर, तर यो विषयमा हावा नलागी पात हल्लियो भनेर उदाहरण दिनुभएको थियो ।

त्यसैले एजेण्डा र प्रस्तावसहित कुनै छलफल भएको होइन । नेताहरूबीच वाम एकता गर्नुपर्छ, अब बेग्लाबेग्लै बसेर हुँदैन भन्ने ढंगबाट कुरा भएको हो, तर औपचारिक रूपमा माओवादीसँग एकता गर्ने विषयमा कुनै छलफल भएको छैन ।

– समाजवादी मोर्चा आगामी निर्वाचनसम्म पुग्दा एउटै पार्टी वा एउटै चुनाव चिन्ह लिएर जाने सम्भावना छ ?

राजनीतिमा असम्भव भन्ने कुरा त हुँदैन । आजको स्थितिबाट त्यो सम्भावना देखिएको छैन । नयाँ खालको सम्भावना भयो भने त जे पनि हुनसक्छ ।

विगतमा पनि केपी ओली र प्रचण्डबीच मुखामुख पनि गर्दैनथे, तर एकाएक २०७४ असोज १७ गते कार्यगत एकता भयो । २०७५ जेठ ३ गते पार्टी एकता नै भयो । त्यसकारणले सम्भावना हुन्न भन्न सक्दनौं, तर तत्काल त्यो परिस्थिति बनेको छैन ।

– चुनाव आउन त धेरै समय बाँकी छ, तर कांग्रेस एमालेले आगामी निर्वाचन एक्लै लड्छौं भनिरहेका छन् । त्यसो हुँदा तपाईंहरू के गर्नुहुन्छ ?

हामीले यो मोर्चा २०८४ को निर्वाचनलाई हेरेर बनाएको होइन । नेपालको वाम आन्दोलनलाई सशक्त बनाउँदै उचाइमा पुर्‍याउन चाहन्छौं । अहिले माधव नेपालले वाम एकताको प्रयास गरिराख्नु भएको छ । भएसम्म एकता नै गरौं कुनै एउटा निश्चित पार्टीसँग नभई सबै वामपन्थीलाई सँगै लिएर अगाडि बढ्नुपर्छ भन्ने उहाँको प्रस्ताव हो ।

त्यहीअनुसार अहिले छलफल पनि गरिराख्नु भएको छ, तर यो मोर्चालाई विचार मिल्ने त्यसमा सहभागी हुनसक्ने खालको, हिजो वामपन्थी पृष्ठभूमिका उपेन्द्र यादव, हिजो परिवर्तनका लागि बन्दुक उठाएर हिँडेका विप्लव, सीपी मैनाली, मोहनविक्रम सिंहसँग कुरा भइरहेकाे छ हाम्रो । उहाँहरूलाई मोर्चामा ल्याउने कुरा भइरहेको छ । उपेन्द्र हिजोको वामपन्थी नै हो, त्यसकारण एकाकार भएर जाऔं भनेर बनाइएको हो । यो मोर्चा कसैप्रति विरोधको भावना र प्रतिशोध गर्न बनाइएको होइन ।

यो मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यसलाई सदृढ गर्दै संविधानको रक्षा र पूर्ण रूपमा कार्यान्वयन गर्न बनाएका हौं । यो कुनै कसैसँग प्रतिशोधको भावनाले प्रतिस्पर्धा गर्न होइन, मुलुकको हितको निम्ति बनाएका हौं । अब चुनाव आउन अझै तीन वर्ष तीन महिना बाँकी छ । त्यति बेलासम्मको परिस्थिति के विकास हुन्छ, त्यहीअनुसार अगाडि बढ्छ । अहिले यसलाई चुनाव र पार्टी एकतासँग जोड्न उपयुक्त हुँदैन । पछि जे पनि हुनसक्छ ।

– वामपन्थी एकताको कुरा गर्नुहुन्छ अनि सबैभन्दा ठूलो पार्टी एमालेलाई बाहिर राखेर कसरी सम्भव देख्नुहुन्छ ?

हामी त्यसमा क्लियर छौं, खुला छौं । माधव नेपालले भन्नुभएको हामी कुनै पनि वामपन्थी पार्टीसँग एकताको छलफल र कार्यगत एकताको बहस चलाउन तयार छौं । एमाले त अहिलेसम्म त्यो प्रस्ताव गर्ने पक्षमा तयार भएको देखिँदैन, तर नेकपा एसले मुलुकको हित, अग्रगमन र समृद्धिको बाटो लिएर सुशासन कायम गर्दै समाजवादमा पुग्ने लक्ष्यका साथ प्रस्ताव गरेका छौं । त्याे संविधानको प्रस्तावनामा पनि उल्लेख छ ।

अहिले हाम्रो १० औं महाधिवेशनले पनि त्यही कुरा पास गरेको छ । नेपालको माटो सुहाउँदो नेपाली विशेषताको समाजवाद भनेर अहिलेसम्म कुनै पार्टीले पारित गरेको छैन ।

हाम्रो पार्टीले प्रमुख कार्यक्रम नै नेपाली विशेषताको समाजवाद भनेका छौं । त्यसका लागि हामीले आवश्यक पूर्वाधार विकासमा लाग्नुपर्छ भनेर त्यो प्रस्ताव पारित गरेका छौं । त्यो प्रस्ताव हामी एक्लैले लागू गर्न सक्दैनौं । त्यसैले सबैसँग सहकार्य र सहयात्रा आवश्यक छ । त्यसैले हामीले एमालेसँग वार्ता नै नगर्ने, छलफल नै नगर्ने कुनै खालको सम्बन्ध नै नराख्ने भन्ने पनि छैन । उहाँहरू ठूलो दल भएकाले पहिला प्रस्ताव आउनुपर्‍यो । अहिलेसम्म एमालेबाट त्यस्तो कुनै प्रस्ताव आएको पनि छैन, तर हामी प्रस्ताव आएको खण्डमा छलफल गर्न तयार छौं ।

– तपाईंहरूले चाहिँ यो प्रस्ताव लग्नुहुन्न ?

अहिले वातावरण नदेखेकाले हामी प्रस्ताव लैजाने पक्षमा छैनौं । ठूलो पार्टी भएकाले उताबाट प्रस्ताव आओस् भन्ने हो ।

– भनेपछि एमालेबाट पार्टी एकतासहितको प्रस्ताव आए छलफलमा बस्न तयार हुनुहुन्छ ?

उताबाट प्रस्ताव आयो भने हामी छलफल गर्न तयार छौं, तर हामी सत्ताको निम्तिमात्रै त जाँदैनौं । मुलुकको समृद्धि, अग्रगमन, सुशासनसहित नेपाली विशेषको समाजवादलाई अगाडि बढाउने कुरामा हामी सबैसँग सहकार्य गर्छौं । आवश्यक परे एकता पनि गर्नसक्छौं ।


प्रतिक्रिया

2 thoughts on “‘एमालेबाट एकताको प्रस्ताव आए वार्ताको टेबलमा बस्न माधव नेपाल तयार हुनुहुन्छ’

  1. हिजो त्यति ठुलो पार्टी तहसनहस पारेको इतिहास साछी छ २०५४मा ३५ जना केन्द्रीय सदस्य वामदेवलाई माग्दा दिन सकिदैन भने पछि पार्टी फुटेको हो अहिले पनि २०७७मा नेकपा भएको बखत एकताबद्ध भएको पार्टीलाई फुटाउन पुष्पकमल नारायणकाजी वामदेव लाई उच्चाल्ने काम देखिएको छ (माओवादीका नेताहरूलाई )माधवकुमार नेपाललाई मान संमान नपुगरे फुटेको हो फरक मतलाई संमान साथ स्पेस दिईन्छ तर निर्णय गर्ने कुरा बशुमतमा हुन्छ उहाँ १५ वर्ष नेकपा एमालेको महासचिव तर उहाँले पद नपाउना साथ अरू बहुमत सदस्य कसरी गैह्र कम्युनिस्ट भए उहाँले एमाले कम्युनिस्ट पार्टी होइन भन्नुभएको छ तर comfortable government को विषयमा उहाँ ले के भन्नुहुन्छ त्यो विचारणीय विषय हो एकताका सुशिलचन्द्र अमात्य शिक्षक संगठनको नेतृत्वमा विद्रोही हुदा उहाँको अभिव्यक्ति पनि खोजौ त्यसकारण माधवकुमार नेपाले नेतृत्व गर्दा कति कमरेडहरूको जीवनभर को कम्युनिस्ट पार्टी भित्रको लगानी खरानी भएको छ उहाँले पेलेको कारण बर्बाद भएको छ कम्युनिस्ट एकता राम्रो विषय हो एकपटक हिजो दुख पाएका लगानी गरेकोे विषय छलफल होस् जतिखेर जे जाग्यो त्यो नेतृत्वले गर्ने कारण समस्या त देखियो नि सबै विषयमा राम्रो सगं छलफल गरेरमात्र अगाडि बढेको राम्रो फेरि माधवकुमार नेपाल लामो कम्युनिस्ट आन्दोलनमा रहनुभएको व्यक्ति तर साघुरो मन भएको भन्छन् उहाँ फराकिलो हुनसक्नु पर्छ एकता एकपक्षीय हुदैन उहाले मन दुखाएका कार्याकर्तालाई कसरी सम्बोधन गर्नु हुन्छ हेरौं एकता आत्माआलोचना सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर