मधेशमा सामाजिक सद्भावको सेतु बन्दै ‘तीज र जितिया’
जनकपुरधाम । रस्मिला लागेजु भक्तपुरमा नेवार परिवारमा जन्मिएकी कन्या सिरहाको गोलबजारमा भुजेल अन्तरजातीय विवाह गरेर आइन् । उनी बस्ने गाउँमा महेशी र पहाडी समुदायको मिश्रित बस्ती छ । आज तीजको दिन उनीसँगै ब्रत बस्ने र विधिपूर्वक पूजा गर्ने मधेशी महिलाहरू पनि छन् । वरपरका मधेशी छोरी बुहारी उनीसँगै पूजा गर्न शिवालय गएका छन् ।
संखुवासभाको खाँदवारीमा जन्मिएकी एलिना राई पनि रस्मिलाकी छिमेकी हुन् । उनीसँग तीजको गीतमा नाच्ने सीता यादव र मालती ठाकुर पनि छन् । दर खाने कार्यक्रममा पनि घुलमिल भएरै मीठो मसिनो खाए ।
सिरहा र धनुषाको साँधमा पर्ने कमला नदीको किनार परबाट हेर्दा आज राताम्मे देखिन्छ । तीजका ब्रतालु आमा, दिदी बहिनीहरु रातो पहिरनमा नदी स्नान गर्न त्यहाँ पुगेका छन् । नदी किनारमा जात्रा र नाचगान पनि आयोजन गरिएको छ । तर, भिडमा नजिकै गएर हेर्दा मधेशी र पहाडे महिलाहरूको मुहार सरोबर देखिन्छ ।
तीज नेपाली समाजमा महिलाहरुको लागि महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । महिलाहरुले तीज व्रत गर्दा श्रीमानको आयु लामो हुने जनविश्वास छ ।
विगतमा पहाडे समुदायिका महिलामात्र तीज पर्व मनाउँदै आएकोमा अब तीज पर्व मधेशी समुदायबीच पनि लोकप्रिय हुन थालेको छ । तीज मनाउने मधेशी समुदायका महिलाको संख्या ह्वात्तै बढ्दै छ । कमला नदीमा मात्र नभएर पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेको मिश्रित बस्तीमा मधेशी र पहाडे समुदायकी ब्रतालुहरू एकसाथ पूजापाठ र नाचगान गर्ने दृष्यहरू देख्न सकिन्छ ।
अबको १५ दिनपछि मनाइने जितिया पर्व मधेशी महिलाले मनाउने पर्व हो । दिन फरक भए पनि तीज र जितिया पर्व मनाउने उद्देश्य तथा तौरतरिका उस्तै-उस्तै छ । श्रीमानको दीर्घायूको उद्देश्य, उपवास र शिव पूजन विधि उस्ताउस्तै छन् । जितिया पर्वमा पनि मधेशी महिलाहरुसँगै सैकडौं पहाडे मुलका महिलाहरू मिसिन्छन् । दर खाने र नाच्ने कार्यक्रमहरूमा पनि मधेशी र पहाडे महिलाहरू मिसिएको देखिन्छ ।
नेपाली समाजमा खासगरी मधेशमा ‘जितिया र तीज’ साझा सांस्कृतिक विरासत बन्दै गएको छ । यी दुई पर्वका कारण सामाजिक सद्भाव, मेलमिलाप र सहकार्य पनि बढ्दै गएको छ । मधेशी र पहाडे परिवारहरूबीच आपसी सहयोग र मितेरीपनामा वृद्धि भएको छ ।
तीज र जितियाले सामाजिक अन्तरघुलनलाई बढाएको छ । यो दुवै पर्वमा सबै समुदायको मिश्रित भिडले मधेशमा सामाजिक सद्भावको उच्च अवस्थालाई विम्बित गरेको छ । जीवन जिउने सामूहिक पद्धति एक अर्काको संस्कृतिमा मधेशी र पहाडे समुदाय आवद्ध हुनु शान्तिप्रिय समाज निर्माणको अनुपम उदाहरण हो । अहिलेको साँस्कृतिक अन्तरघुलन क्रमशः रक्त संक्रमणमा बदलिन्छ र कलान्तरमा को मधेशी र को पहाडै छुट्याउनै सकिँदैन ।
मधेशी र पहाडे एउटै साँस्कृतिक धाराका समुदाय हुन् । चाड पर्वमा थोरै विधिगत भिन्नता छ । तर भावना, उदेश्य र पुज्ने ईश्वर एउटै हुन् । एकै ठाउँमा बसेको समुदायले एउटाको अनुकरण अर्कोले गर्नु स्वाभाविक हो । फरक-फरक समुदाय मिलेर बसेको स्थानमा प्रगति पनि छिटो हुन्छ र सांस्कृतिक घुलनबाट नयाँ साँस्कृतिक छटाहरूको विकास पनि हुन्छ । तीज र जितिजा पर्व संयुक्तरूपमा मनाएर सामुदायिक मेलमिलापका लागि नेपाली समाजलाई महिलाहरूले दिएको एउटा उपहार हो ।
तीज र जितिया पहाडे र मधेशी समुदायकी महिलाहरूले संयुक्तरूपमा मनाउनु सकारात्मक पक्ष हो । पर्वले पनि समाजमा मेलमिलापको सन्देश दिन्छ । आज चौठीचाँद पर्व हो । साँझ मधेशीहरूको घर-घरमा पहाडे छिमेकीलाई निम्ता गरी बोलाइन्छ । सुस्वादु खीर, पुरी र अन्य पकवान खुवाइन्छ । हरेक चाड पर्वमा पहाडे र मधेशी मिसिएको देखिन्छ । तिहारमा मधेशीहरू देउसी खेल्छन् । छठ पर्व मनाउने पहाडेको संख्या बढ्दै गएको छ । यसले सामाजिक सद्भाव बढेको स्थानीय बताउँछन् ।
पर्वहरूमा पछिल्लो समय आधुनिकताको नाममा भड्किलोपन र विकृति मौलाएकोमा उत्तिकै चिन्ता सुनिन्छ । सबैले विकृति रोक्न सक्यौं भने तीज र जितियाजस्ता धार्मिक तथा सांस्कृतिक पर्वले नेपाली समाजको एउटा खण्डमा सहिष्णुता पक्कै बढाउने छ ।