दशैंसम्म चोभारको पुष्प तथा फलफूल थोक बजारको निर्माण गरिसक्न कृषिमन्त्री अधिकारीको निर्देशन (भिडिओ) – Nepal Press

दशैंसम्म चोभारको पुष्प तथा फलफूल थोक बजारको निर्माण गरिसक्न कृषिमन्त्री अधिकारीको निर्देशन (भिडिओ)

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारको पुष्प तथा फलफूलको थोक बजारको निर्माण दशैँसम्म पूरा गर्न निर्देशन दिएका छन् ।

शुक्रवार काठमाडौंको चोभार स्थित निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको निरीक्षण गर्न पुग्नुभएका मन्त्री अधिकारीले यस्तो निर्देशन दिएका हुन् । उनले बजार निर्माण कम्पनीले निर्माण गर्न बाँकी काम तत्काल पूरा गर्न निर्देशन दिए ।

मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र निर्माण कम्पनीले निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने बताए । उनले सम्झौता अनुसार काम नसकिए कानून अनुसार कारबाही हुने संकेत गरे । उनले विगतमा के भयो भन्दा पनि अब दशैँ भन्दा अघि भवन सरकारलाई हस्तान्तरण हुनुपर्ने बताए ।

उनले विगतमा के भयो भन्दा पनि अब बाँकी काम तत्काल हुनु पर्नेमा जोड दिए । उनले पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै कृषि मन्त्रालयले त्यसका लागि आवश्यक सहजिकरण गर्नका तयार रहेको बताए ।

उनले भने, ‘मन्त्रालयको तर्फबाट हेर्छौं । चाँडो भन्दा चाँडो भवन हस्तान्तरण हुुनुपर्छ । अब ढिला हुँदैन भन्ने विश्वासमा जाऔं । विगतमा के भयो नगरौं । आगामी दिन दशैँसम्म भवन उद्घाटन गर्नुपर्छ । हामी कोही हल्लाको पछाडि नलागौं । कृषि मन्त्रालयको जमिन हो । मन्त्रालयले आफ्नो मन्त्रालय अन्तरर्गत केका लागि विगतमा ठेक्का लगाएको थियो । त्यही अनुसार काम हुन्छ ।’

चोभारमा पुष्प तथा फलफूलको थोक बजार बनाउन २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी करिव ३५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । तर भवनको काम अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।

अहिलेसम्म ११ औँ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी रहेको छ । तर भवनको काम निर्माण सम्पन्न गर्न अझै १३ प्रतिशत बाँकी रहेको छ । समयमा काम पुरा नहुँदा त्यसको लागत बढेर ४० करोड बढी पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर