काठमाडौंका सडकमा एउटै नम्बरका पाँचवटा मोटरसाइकल, २ वटा बुलेट – Nepal Press

काठमाडौंका सडकमा एउटै नम्बरका पाँचवटा मोटरसाइकल, २ वटा बुलेट

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एउटै नम्बरका पाँचवटा मोटरसाइकल फेला पारेको छ । त्यसमध्ये दुईवटा बुलेट मोटरसाइकल छन् । चोरी गरेका मोटरसाइकलहरु नम्बर फेरेर चलाउने गरेको ट्राफिक कार्यालयले जनाएको छ। प्रहरीले २ जनालाई पक्राउ पनि गरेको छ ।

काठमाडौं उपत्यकामा हुने सवारी चोरीपैठारीका घटनाहरुलाई नियन्त्रण गर्न र चोरीएका सवारी साधनहरुलाई खोजतलास गर्दै त्यस्ता चोरीमा संलग्न व्यक्तिहरु माथी बिशेष निग्रानी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयको छुट्टै टोली खटिदै आएको छ ।

काठमाडौँ महानगरपालिका– ३१ स्थित मध्य बानेश्वरबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसिको बुलेट मोटरसाइकल चलाइरहेका अछाम जिल्ला चौरपाटी गाउँपालिका–२ घर भई कोटेश्वर बस्ने बर्ष २८ को हिमाल खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोहि नम्बरको अर्को पनि मोटरसाईकल फेला पर्यो । मध्यबानेश्वरर बस्दै आएका अछाम चौरपाटी गाउँपालिका –२ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई से ७ प ८५६२ नम्बरको ३५० सिसिको खैरो रंगको बुलेट मोटरसाईकल पक्राउ परेका थिए ।

वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेको उक्त मोटरसाइकल काठमाडौँ स्थित रानीबारीबाट गत श्रावण २८ गते हराएको भनि रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकल समेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि गाडा निलो रंगको १५० सिसिको एफ–जेड–एस मोटरसाइकल छाउनीबाट फेला परेको थियो ।

अनुसन्धानको क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुंगाका उत्तम कुमार पराजुलीको रहेको खुल्न आएको थियो । उक्त मोटरसाईकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो ।

थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाईकल सहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरी भन्सार छलेको आशंकामा बुलेट मोटरसाइकल सहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको काठमाडौ उपत्यका ट्राफिक प्रवक्ता विश्वराज खड्काले जानकारी दिए ।

थप अनुसन्धान गर्दै जाँदा करिब एकमहिना अगाडी से ७ प ८५६२ नम्बर प्लेट भएको कालो रंगको यामाहा कम्पनीको १५५ सिसिको एमटी१५ बेबारिसे अबस्थामा फेलापारि प्रहरी बृत्त सिंहदरवारको नियन्त्रणमा रहेको तथ्य खुलेको थियो ।

अनुसन्धानका क्रममा बास्तबिक नम्बर बा–प्र–०२–०२२ प ५०७८ भएको उक्त मोटरसाइकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएको खुलेको थियो ।

थप सूचनाको आधारमा नियन्त्रणमा लिएको वास्तविक नम्बर से ७ प ८५६२ भएको गाडा निलो रंगको १५० सिसिको एफ–जेड–एस भने भन्सार कार्यालय पठाइएकोमा उक्त मोटरसाइकल खत्रीको रहेको तथ्य समेत खुलेको थियो । उक्त मोटरसाईकलको बास्तबिक ब्लुबुकलाई प्रयोग गरि अन्य मोटरसाईकल समेत प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर