गृहमन्त्री लेखकसँग विश्व बैंकका पदाधिकारीको भेट – Nepal Press

गृहमन्त्री लेखकसँग विश्व बैंकका पदाधिकारीको भेट

काठमाडौं । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले आज गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रीको कार्यकक्षमा भएको भेटमा विश्व बैंकले नेपालका विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको थियो ।

गृहमन्त्री लेखकले विसं २०७२ को भूकम्पपछिको पुनःनिर्माणमा विश्व बैंकको ऋण तथा प्राविधिक सहयोगले पुनःनिर्माणमा सहयोग पुगेको बताएका थिए । विश्व बैंकले नेपाललाई ऋण दिँदा पूरा गर्नुपर्ने विभिन्न कार्यमध्ये पूर्वकार्य गर्नु बाँकी रहेको विषयमा सिस्लेनले चासो राखेका थिए ।

‘ऋणको अन्तिम किस्ता लिनुपूर्व गर्नुपर्ने पूर्वकार्य बाँकी छ । विपद् संवेदनशील सामाजिक सुरक्षा तथा अनुदान वितरण मापदण्ड पास गरिसकेपछि ऋणको अन्तिम किस्ता दिने गरिन्छ । विपद् व्यवस्थापनका क्षेत्रमा नेपाललाई चाहिने वित्तीय सहयोग गर्न तयार छौँ’, उनले भने ।

गृहमन्त्री लेखकले आफ्नोतर्फबाट गर्नुपर्ने काममा कुनै ढिलाइ नहुने उल्लेख गर्दै विश्व बैंकले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए ।

‘जलवायु परिवर्तन हामीले सिर्जना गरेको होइन । त्यसबाट भएको क्षति, नोक्सानी, पुनःनिर्माणका लागि हामीले ऋण मात्र बोकेर कसरी विपद् व्यवस्थान गर्न सक्छौँ ? त्यसैले अनुदानका परियोजनाहरु बढाउनु पर्यो’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर