यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट कर्मचारी, १० जनालाई उत्कृष्ट निजामती पुरस्कार – Nepal Press

यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट कर्मचारी, १० जनालाई उत्कृष्ट निजामती पुरस्कार

काठमाडौं । सरकारले करिब एक लाख संख्यामा रहेका निजामती कर्मचारीबाट यस बर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनौंट हुन सकेन । सरकारले हरेक भदौ २२ गते निजामती सेवा दिवस मनाउँदै आएको र उक्त दिन सर्वोत्कृष्ट तथा उत्कृष्ट कर्मचारी छनौट गरेर सम्मान गर्ने गरेकोमा यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हो ।

दिवसका अवसरमा १ कर्मचारीलाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० कर्मचारीलाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गर्नुपर्नेमा यस वर्ष सर्वोत्कृष्ट कर्मचारी छनौट नभए पछि १० जनालाई उत्कृष्ट निजामती र ३० जना कर्मचारीलाई पुरस्कृत गर्न लागिएको हो । यस वर्ष मात्रै नभएर पछिल्लो एक दशकदेखि नै सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी छनौट गर्न सकेको छैन ।

निजामती सेवा दिवसको अवसरमा निजामती सेवा नियमावलीमा व्यवस्था भएअनुसार सरकारले १ जनालाई २लाख रुपैयाँसहित सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार दिँदै आएको थियो । यस अघि सर्वोत्कृष्ट पुरस्कार पाएका व्यक्ति नै विवादमा परेपछि सरकारलाई पुरस्कार घोषणा गर्न संकट परिरहेको हो ।

यस अघि पूर्व सचिव सूर्यप्रसाद गौतमलाई सर्वोत्कृष्ट पुरस्कार दिइएको थियो । पृरस्कृत हुदाँ उनी नेपाल सरकारको सहसचिव थिए । लोकसेवा आयोगमा विज्ञ हुँदा आफ्नो श्रीमतीलाई उत्तीर्ण गराएको आरोप लागेपछि सर्वोत्कृष्ट पुरस्कारको गरिमा घटेको थियो । त्यसै कारण सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार विवादमा परेकाे थियाे ।

त्यसपछि  २०७३ मा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । त्यसयता हरेक वर्ष निजामती र उत्कृष्ट निजामती सेवा पुरस्कार मात्र दिइएको छ । सर्वोत्कृष्ट सरकारी भने नभेटिएको भन्दै पुरस्कार नै दिइएको छैन ।

यस वर्ष पुरस्कारका लागि विभिन्न मन्त्रालय र देशभरका संघीय कार्यालयबाट पुरस्कारका लागि जम्मा १६२ जनाको नाम सिफारिस भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार १६२ जनामध्येबाट ४० कर्मचारीको नाम सरकारसमक्ष सिफारिस भएको हो ।

मुख्य सचिवको अध्यक्षतामा रहने पुरस्कार सिफारिस समितिमा सदस्यका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, सरकारले तोकेका अर्का एक सचिव तथा सेवानिवृत्त मध्येबाट सरकारले तोकेका अर्का एक सचिव सदस्य रहने व्यवस्था छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा पुरस्कार प्रदान गर्नका लागि पुरस्कारसम्बन्धी मापदण्ड नै बनाएको छ । निजामती सेवा ऐन नियमवालीमा समेत स्पष्ट मापदण्ड उल्लेख छ । मुख्य सचिवको अध्यक्षतामा रहने पुरस्कार छनोट र सिफारिस समितिले त्यसै मापदण्डका आधारमा पुरस्कार छनोट गरी अन्तिम रूप दिने र मन्त्रिपरिषद्मा पेश गर्ने गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १० जना उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि  र निजामती सेवा पुरस्कारका लागि ३० जनाको नाम छनौट गरेको हो । यो वर्ष पनि सर्वोत्कृष्टको न्युनतम् मापदण्ड पुरा भएका कोही पनि कर्मचरीको नाम मन्त्रालय र निकायबाट सिफारिस नै भएर नआएको छनोट समितिले जनाएकाे छ ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको, पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक पाएको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नभोगेको र पुरस्कारको लागि सिफारिस हुने वर्षमा व्यक्तिगत बेरुजु कायम नदेखिएको हुुनपर्छ ।

नियमित रुपमा सम्पत्ति विवरण पेश गरेको, असाधारण विदाभएको भए त्यसपछि कम्तीमा दुई वर्ष काम गरेको, सम्बन्धित वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन विदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेकोसहित प्रशासनिक बेरुजु नदेखिएको र प्रचलित कानूनबमोजिम बरबुझारथ गरेको हुनुपर्ने मापदण्ड छ ।

 


प्रतिक्रिया

One thought on “यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट कर्मचारी, १० जनालाई उत्कृष्ट निजामती पुरस्कार

  1. नेपालका कुन कर्मचारी अछुटो होला र जुन घुस नखाको होस सबै घुसिहा छ्न अनि सर्बोउत्कृत कर्मचारी कहाँ भेतिन्छ्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर