तीज पर्वले यसरी सताउँछ सन्धिखर्कबासीलाई, २२ वर्षपछि पनि बिर्सन सकेका छैनन् रातभर युद्ध लडेर बाँचेकाहरु
रुपन्देही । २२ वर्षअघि तीजको तयारी भइरहेको बेला मध्यरातमा भएको भिषण भिडन्तले अर्घाखाँचीको सन्धिखर्कवासीलाई सधै तर्साउँछ । ०५९ सालको भदौ २३ गते सबै तीजको तयारीमा थिए ।
सबैको घरमा दर तयार थियो भने दर खाएकाहरु सबै नाचगानको तयारीमा थिए । सबैका चेलिबेटीहरु माइतीमा आएका थिए तर सशस्त्र युद्ध सुरु गरेको नेकपा माओवादीले अर्घाखाँचीको सदरमुकाम आक्रमण गरेर सेना, प्रहरीसँग रहेको हातहतियार कब्जामा लिने रणनीतिका साथ पूर्वतयारी गरेर आक्रमणको योजना बनाएका रहेछन् । चाडपर्वको मुखमा आक्रमण गर्दा सरकारी सुरक्षाकर्मीबाट तयारी नहुने भएको निश्कर्षसहित त्यो आक्रमणको योजना बनेको तत्कालीन युद्धमा सहभागी भएका माओवादीका नेताहरुले बताउँदै आएका छन् ।
तत्कालीन माओवादीले गरेको युद्धमा एकै ठाउँमा सरकारी तथा माओवादीतर्फको ठूलो क्षति भएको घटना पनि अर्घाखाँचीकै थियो । सो घटनामा ८३ जना सुरक्षाकर्मी र माओवादीतर्फ ६४ जनाको मृत्यु भएको थियो । माओवादीले आफ्नो क्षति सुरुमा लुकाएपनि पछि त्यसलाई स्वीकार गरेको थियो ।
स्थानीय शाभाखर पन्थी त्यो दिनको घटनाले तीज आउनासाथ सन्धिखर्कवासीमा त्यही दिनको त्रासले सताउने बताउँछन् । सबैतिर तीजको रमझम भएको बेला भएको दोहोरो भिडन्तरले ठूलो जनधनको क्षति गरेको उनको भनाइ छ । ‘हामीलाई तीज भनेपछि त्यहीँ दिन आउँछ, भरखर दर खाएर रमाइलो गर्दैथियौं, एकाएक दोहोरो आक्रमण सुरु भयो, रातभर सबै जागाराम भइयो, ठूलो जनधनको क्षति भएको थियो’, उनले भने ।
त्यो दिन नेपाल प्रहरीको जवान रहेर डिउटीमा रहेका गुल्मीको अर्खलेका मित्रलाल मरासिनी त्यो दिनको त्रासदीलाई सम्झन नसकिने दिनका रुपमा सधै आउने बताउँछन् । आफूसँगै रहेका धेरै सहकर्मीहरुले ज्यान गुमाउँदा धेरै सहकर्मी अंगभंग हुँदा पनि आफू संयोगले बाँच्न सकेको उनले बताउँछन् ।
‘०५९ को तीज मेरो लागि सधै त्रासदिको दिन रह्यो, तीज आउनेबित्तिकै मलाई त्यही दिनकै याद आउँछ, मेरा धेरै सहकर्मीले ज्यान गुमाए, धेरै घाइते भए, म कसरी बचेँ भन्ने आश्चर्य लाग्छ’ उनले भने–‘ तीजको दिन त्यही घटना घुमिरहन्छ, इतिहासकै सबैभन्दा भुल्न नसकिने, पीडादायिक तीज भयो, सबैजना तीजको तयारीमा थिए, हामीहरु खाना खाएर डिउटीमै थियौं, भदौं २३ गते शुक्रबार राति ११ बजे जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सन्धिखर्कमा एकाएक माओवादी आक्रमण भयो ।’
मरासिनी प्रहरी सेवामा प्रवेश गरेको ५ वर्ष मात्रै पुगेको थियो । अहिले त्यो घटना भएको रात आज २२ वर्ष बितेपनि उनलाई त्रासले छाडेको छैन, अहिले पनि उनी प्रहरी सेवामै छन् । त्यो दिनको स्मरण गर्दै मरासिनीले भने–‘ तीजको दर खाने दिन थियोे सबैतिर तीजका गीत घन्केको आवाज सुनिन्थियो वारिपारि डाँडापाखामा तर के गर्ने एकाएक दुस्मनको आक्रमण भयो, धेरै साथीले ज्यान गुमाउनुभयो आफू चाहिँ कब्जामा परियो एकाएक अलिधेरै यातना पनि खानुपरेको थियोे ।’
‘खै के भनम् एक जना सायद मेरो जीवनमा भगवानजस्तै भएर आएछ कि क्या हो कम्रेट भन्न नपाउदै मलाई उनीहरुले छोडिदिए अनि मेरो विवरण सबै सुनाए पछि दया लागेर हो वा चिनेर हो थाहा भएन धेरै साथीहरूको साथबाट अगल्यै लगियो, आश मरिसकेको थियो म अब बाँच्दिन भनेर तर खै कसरी मलाई बजारको एक घरमा लगियो अनि हरेक कुरा मलाई सुनाए अब बोल्ने होइन बोलाएपनि भनेर मुकुन्डोधारीले मलाई त्यही छाडेर बाहिर निस्किए, केही समयपछि अर्को व्यक्तिले मेरो नाम लिए, जुन मुकुन्डो लगाएकी महिलाकै निर्देशन थियो छाड्ने आदेश दिएको तर ती महिला को हुन् अहिलेसम्म चिन्नै सकेको छैन । त्यो छटपटीको कसरी उल्लेख गर्नसक्छु ?’
माओवादीको तर्फबाट त्यो युद्धमा सहभागी भएका ठाकुर बिकले पार्टीको तर्फ ६४ जनाले ज्यान गुमाएपनि ८४ जना सुरक्षाकर्मी मारिएको, थुप्रै हतियार कब्जा गर्न सकिएको र प्रमुख जिल्ला अधिकारीसहित ७४ जनालाई कब्जामा लिएर हंशपुरको रतनमारेमा लगेर सम्झौतामा छाडिएको घटनाले तत्कालीन युद्धको नेतृत्व गरेको पार्टीलाई ठूलो सफलता प्राप्त भएको बताउँछन् ।
‘धेरै सुरक्षाकर्मी मारिएको घटना थियो, हाम्रो तथ्यांकमा ८४ जना सुरक्षाकर्मीको मृत्यु भएको र हाम्रोतर्फ ६४ जनाको मृत्यु भएको थियो, त्यसमा सर्वसाधारण पनि ३ जना परेका थिए’ उनले भने –‘घटना दुःखद थियो तर युद्धरत पक्ष भएकाले त्यो घटना तत्कालीन अवस्थामा पार्टीका लागि विजय थियो ।’
बिक त्यो बेला चौथो बटालियनको रुट कमान्डर थिए अहिले पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहेका छन् । ‘संकटकाल लागेको थियो, पार्टीले त्यो संकटकाललाई महाकाल बनाउने योजना बनाएको थियो, केही ठूला घटनाबाट शक्ति आर्जन गरेर वार्ताको वातावरण बनाउने कुरा थियो, तत्कालीन लुम्बिनीका ३ जिल्लामा आक्रमणको योजना बनेको थियो तर सबैभन्दा सहज अर्घाखाँचीमै हुने पूर्वतयारी गरेर गरिएको थियो’ उनले भने–‘स्थानीयको ठूलो सहयोग भएको हो, हामीप्रति केही त्रास फैलाइएको थियो तर सरकारी बाहेक अरु क्षति कसरी कम गर्ने भन्नेमै हामी केन्द्रीत थियौं, त्यसमै केन्द्रीत भएरै नेतृत्व गरेका थियौं ।’
माओवादीको तत्कालीन विशेष ब्यूरोले यो आक्रमणको नेतृत्व गरेको थियो जसको इन्चार्ज टोपबहादुर रायमाझी थिए उनी कान्छाबहादुर उपनामले चिनिन्थे । सहइन्चार्ज नेत्रविक्रम चन्द विप्लव रहेका थिए । माओवादीले आफ्नो आधार इलाका मानेर यो क्षेत्रलाई विशेष ब्यूरो बनाएको थियो ।