नयाँ पुस्ताको राजनीति: अराजकता कि संवेदनशीलता – Nepal Press

नयाँ पुस्ताको राजनीति: अराजकता कि संवेदनशीलता

अमेरिकी लेखक मार्क ट्वेनको बहुप्रसिद्ध एउटा भनाइ छ- ‘ए लाइ क्यान ट्राभल हाफ वे अराउन्ड द वर्ल्ड बिफोर दि ट्रुथ क्यान इभन गेट इट्स बुट अन ।’ अर्थात ‘सत्यले जुत्ता लगाउनुभन्दा पहिले झूट संसारको आधा बाटोमा पुग्नसक्छ ।’

नयाँ पुस्ताको राजनीति पनि यसरी नै निर्देशित गर्न कोसिस भइरहेको छ । हिजो कांग्रेस, एमाले या अन्य दलहरूले बहुदलीय प्रतिस्पर्धा गर्दा ‘डीपफेक’को प्रयोग गरेनन्, वाद र प्रतिवाद, विचार, तथ्य र नीतिका आधारमा गरे । उनीहरूले प्रतिस्पर्धाबाट आफूलाई श्रेष्ठ सावित गर्ने राजनीतिक संस्कारलाई अगाडि बढाए । विमति भएका कतिपय विषयमा अदालतको निर्णयलाई विनाकुनै प्रश्न स्वीकारे । यसरी कांग्रेस-एमालेका अग्रज पुस्ताले लोकतन्त्रलाई संस्थागत गरेका हुन् । उनीहरूले आफूलाई चित्त नबुझेका विषयमा पनि संयमित भएर पाइला नचालिदिएको भए लोकतन्त्रको यो रुप हामीले सायदै देख्न पाउँथ्यौं ।

संवेदनशील ढंगले लोकतन्त्रलाई संस्थागत गर्न नसक्दा पाकिस्तान, बंगलादेश, अफगानिस्तानलगायतका देशको परिस्थिति हामीले बुझेकै छौं । यी अग्रज पुस्ताले लोकतन्त्रको महत्व बुझेरै देशका लागि लोकतन्त्रलाई सर्वोपरि राखेका होलान् । अझ भनौं, उनीहरुले निरंकुशता र वंशीय राजनीतिको नकारात्मक पक्ष र भूराजनीतिक जटिलतालाई राम्रोसँग अनुभव गरेका छन् । सोही अनुभव नयाँ पुस्ताले नगरून् भन्ने उनीहरुको सदीक्षालाई कमसेकम सम्मान त गरौं ।

परिवर्तित पुस्तासँगै राजनीतिक मागहरू पनि परिवर्तन हुँदै जान्छन् । प्रविधिको विकास, सामाजिक सञ्जालको वर्चस्व, कृत्रिम बुद्धिमता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को उदय, जेन जीको नव-आवश्यकता जस्ता विषयले विश्व राजनीतिमा नयाँ बहस मागेको प्रस्ट हुन्छ । जेनेरेशन अल्फाले आफ्ना मागहरू राख्न सुरु गर्न धेरै समय बाँकी नरहेको बेला मिलेनियल्स र जेन जीसँग हाम्रो राजनीतिक कम्प्याटिबिलिटी विकास गरिसक्नु अत्यावश्यक छ । जेन जी र मिलेनियल्स दुबै प्रगतिशील पुस्ता नै हो । सामाजिक न्याय, समलिंगी अधिकार, क्लाइमेट चेन्ज, लैंगिक समानता, समावेशिता र विविधतासहितको राजनीतिलगायतका मुद्दाहरूमा सकारात्मक बहस गर्न चाहने पुस्ता हो ।

परिवर्तित पुस्तासँगै राजनीतिक मागहरू पनि परिवर्तन हुँदै जान्छन् । प्रविधिको विकास, सामाजिक सञ्जालको वर्चस्व, कृत्रिम बुद्धिमता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को उदय, जेन जीको नव-आवश्यकता जस्ता विषयले विश्व राजनीतिमा नयाँ बहस मागेको प्रस्ट हुन्छ ।

यो पुस्ताका राजनीतिक मुद्दालाई सही ढंगले सम्बोधन गर्न सकिएन भने लोकतन्त्रविरोधी शक्तिहरुले यो पुस्तालाई गलत दिशामा डोर्‍याउने खतरा रहिरहन्छ । यहीबाट बहस सुरु हुन्छ- ‘हाम्रो पुस्ताको राजनीति : अराजकता कि संवेदनशीलता ?’

अराजकतामा राजनीतिक अस्तित्वको खोजी

लोकतन्त्र स्थापित भइसकेको अवस्थामा प्रगतिशील लोकतान्त्रिक शक्तिहरुले आफ्ना मुद्दा स्थापित गरेर जनताको मन र मत दुबै जित्नुपर्ने हो । विडम्बना नयाँ राजनीति गर्छु भनेर उदय भएका दल र भविष्यमा दलगत राजनीतिमा आउने महत्वाकांक्षा बोकेका स्वतन्त्र राजनीतिकर्मीहरूमा भने एक किसिमको नकारात्मक राजनीति गर्ने भावना वृद्धि भएको पाइन्छ । लोकतन्त्र नभएको अवस्थामा राज्यविरुद्ध जनता आन्दोलित हुनु स्वाभाविकै हो । २००७ र २०४६ सालमा भएको त्यही नै हो, तर २०४७ को संविधान प्राप्तिपश्चात् भने माओवादीले हतियार उठाउने जुन निर्णय ग¥यो, त्यसले देशलाई वर्षौं पछि ढकेलेकै त हो नि ! तिनै मुद्दालाई लोकतान्त्रिक तवरबाट स्थापित गर्न सकिन्थ्यो, तर केही व्यक्तिलाई चाँडो सत्तामा पुग्न नै लोकतन्त्र भएको अवस्थामा हतियार उठाउनु जायज मान्न सकिन्न ।

बंगलादेशमा नियन्त्रित लोकतन्त्र थियो । आधिकारिक तथ्यांकलाई आधार मान्ने हो भने सन् २०२४ मा भएको आमनिर्वाचनमा त्यहाँ ४० प्रतिशत मतमात्र खसेको थियो । प्रमुख प्रतिपक्षले भने बहिस्कार गरेको चुनावबाट निर्वाचित प्रधानमन्त्रीका विरुद्ध ठूलो जनमानस थियो नै र त्यो देखियो ।

शिक्षालाई सीपसँग जोड्न आवश्यक छ । आजको युगमा पढेर र डिग्री लिएरमात्र पुग्दैन । हातमा सीप हुन अत्यावश्यक छ । सीपविनाको शिक्षाले बेरोजगारी सृजना गर्छ र त्यसले जनआक्रोश । नेपालको शिक्षालाई समयानुकूल बनाउन आजको पुस्ताले राजनीतिक हस्तक्षेप गर्न आवश्यक छ ।

नेपालमा भने पूर्ण लोकतन्त्र रहेको अवस्थामात्र होइन, जनताले आवश्यक पर्दा आफ्नो मत बदलेका पनि छन्, तर जनताको मन जित्न नसक्ने र अघि बढ्ने भन्दा पछि हट्ने कुरा गर्नेहरूलाई जनताले बहिस्कार गर्नु स्वाभाविक हो । त्यसमा जनतामाथि आक्रोश पोख्नुको कुनै अर्थ छैन । तिनै हार व्यहोरेकाहरूको गजबको राय हुन्छ- ‘नेपाली जनताले मेन्यु हेर्‍यो हेर्‍यो, अन्तमा मोमो चाउमिन नै रोज्छ ।’ मेरो उहाँहरुलाई प्रत्युत्तर के छ भने जनताले मीठो रोज्ने हुन् । मोमो र चाउमिनभन्दा मीठो खानेकुरा मेन्युमा राख्नुपर्‍यो । अर्थात् अरुका भन्दा अझ प्रगतिशील विचार राख्नुपर्‍यो, तर खाना मीठो बनाउनुभन्दा अर्काको खाना बिगार्न सहज लाग्ने अराजकताको राजनीति केहीले अहिले गरिरहेका छन् ।

नयाँ पुस्ताको संवेदनशील राजनीति

नेपालमा नयाँ पुस्तासँग राजनीति छुट्टिएको देखिन्छ । यसका लागि स्थापित दलहरूले आफ्नो भागको दोष त लिनैपर्छ । व्यवस्था परिवर्तनपछि विद्यार्थी राजनीति जसरी अगाडि बढ्नुपर्थ्यो, त्यसरी बढ्न नसकेको पक्कै हो । एमाले निकट अनेरास्ववियु र हालका अध्यक्ष समिक बडालले विद्यार्थी महोत्सव जस्ता कार्यक्रममार्फत विद्यार्थी आन्दोलनलाई नयाँ दिशातिर लग्न खोजेको प्रस्ट हुन्छ, तर गर्न अझै बाँकी छ । हिजोको ह्यांगबाट बाहिर निस्किन एकै पटक सजिलो कहाँ हुन्छ र !

नयाँ पुस्ताको राजनीतिले शैक्षिक र स्वास्थ्य पर्यटनको विषयमा आवाज उठाउनेमात्र होइन, योजनाबद्ध तवरले कार्यान्वयन गर्नेतिर सरकारलाई दबाब दिनुपर्छ । शिक्षालाई सीपसँग जोड्न आवश्यक छ । आजको युगमा पढेर र डिग्री लिएरमात्र पुग्दैन । हातमा सीप हुन अत्यावश्यक छ । सीपविनाको शिक्षाले बेरोजगारी सृजना गर्छ र त्यसले जनआक्रोश । नेपालको शिक्षालाई समयानुकूल बनाउन आजको पुस्ताले राजनीतिक हस्तक्षेप गर्न आवश्यक छ । सीप भएका युवाहरू आज नेपालमै बसेर पनि विदेशको काम गरिरहेको उदाहरण प्रशस्तै छन् ।

अराजकतामा राजनीतिक अस्तित्व खोजिरहेकाहरूलाई संवेदनशील र रचनात्मक राजनीतिमार्फत आजको पुस्ताले सच्याउन जरुरी छ । लोकतन्त्र प्राप्तिका लागि गरिने राजनीति र लोकतन्त्रमा गरिने राजनीति नितान्त फरक विषय हुन् ।

लोकतन्त्र र लोकतन्त्रविरोधी शक्तिहरुको लडाइँमा यो पुस्ताले सकारात्मक, संवेदनशील र रचनात्मक राजनीतिमार्फत लोकतन्त्रविरोधी शक्तिलाई परास्त गर्नुपर्छ । लोकतन्त्रविरोधी शक्तिका लागि राज्य शत्रु हुन् । उनीहरू लोकतन्त्रको विरोधमा जान जुनै किसिमको उपाय पनि अपनाउन सक्छन् । उनीहरूले अराजकता नै मच्चाउने हो । उनीहरूबाट संवेदनशील राजनीतिको आशा गर्न सकिन्न । यतिसम्म कि उनीहरूका अभिव्यक्ति लोकतन्त्रका हरेक ससाना कमीकमजोरीलाई उजागर गरेर यस व्यवस्थाविरुद्ध धावा बोल्नेमात्र रहन्छ । लोकतन्त्रभन्दा त एकतन्त्रीय शासन व्यवस्था पो ठीक हो, अनि देशलाई एउटा तानाशाह चाहिएको जस्ता भाष्य निर्माण गरेर जनतालाई अल्मल्याउन खोज्छन् । गोयबल्स थियरीको प्रोपागान्डा, सामाजिक सञ्जालमा आधारित पपुलिजम र नकारात्मकतामा आधारित अराजकताका माध्यमबाट लोकतन्त्रविरोधी नव-फाँसीजमका प्रणेताहरू नयाँ पुस्तालाई आफूतिर आकर्षण गर्न भरपूर प्रयास गर्छन् ।

अराजकतामा राजनीतिक अस्तित्व खोजिरहेकाहरूलाई संवेदनशील र रचनात्मक राजनीतिमार्फत आजको पुस्ताले सच्याउन जरुरी छ । लोकतन्त्र प्राप्तिका लागि गरिने राजनीति र लोकतन्त्रमा गरिने राजनीति नितान्त फरक विषय हुन् । हाम्रो पुस्ताले यो बुझ्न जरुरी छ कि लोकतन्त्रमा गरिने राजनीतिमा अराजकता, स्टन्ट र घृणा फैलाउनेलाई कुनै स्थान छैन । हामीले उमेरमा युवा भएकै भरमा होइन, आफ्नो परिपक्वता र क्षमताले राजनीतिक हस्तक्षेप गर्नुपर्छ । अन्तमा, नयाँ पुस्तालाई पपुलिस्टहरुले अराजक बनाउने कि लोकतन्त्रवादीहरुले संवेदनशील बनाउने ? यसैको द्वन्द्वबाट नयाँ पुस्ताको राजनीतिक एजेण्डा तय हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *